|

ढाका : बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्राध्यापक मोहम्मद युनुसले पूर्वप्रधानमन्त्री शेख हसीनालाई दानव भनेर सम्बोधन गरेका छन्।

साथै उनले विद्यार्थी नेताहरूको खुलेरै प्रशंसा गरेका छन्। उनले विद्यार्थीको नेतृत्वमा महान् क्रान्ति भएको र त्यसले सत्ता नै बदलेको भन्दै खुसी प्रकट गरे।

उनले शेख हसीनामाथि टिप्पणी गर्दै भने‚ ‘विद्यार्थीहरूकै साहस र बलिदानीले दानव (हसीना)ले देश छोडेर भाग्नुपर्‍यो।’

युनुसले प्रदर्शनका क्रममा ज्यान गुमाएका विद्यार्थीलाई श्रद्धाञ्जलि दिए। साथै विद्यार्थी मारिएका घटनाको छानबिन गर्ने आश्वासन पनि दिए।

यतिखेर बंगलादेशको जनजीवन सामान्य छैन। युनुसको सरकारका सामु विभिन्न चुनौती छन्। उनले भने‚ ‘देशमा पूरै प्रणाली ध्वस्त भएको छ। नयाँ सरकार बनेको छ‚ हामीले नयाँ शुरुआत गर्नेछौँ। नयाँ निर्णय लिँदा कसैले मन पराउँछन् भने कसैले पराउँदैनन्।'

देशभर प्रदर्शन र अराजकता बढ्दै गएपछि हसीनाले पद छोडेर भारत पलायन भएकी थिइन्। गत बिहीवार युनुसले अन्तरिम सरकारको प्रमुखको शपथ लिएका थिए। उनको सरकारमा १६ जना मन्त्री छन्। ती सबैलाई सल्लाहकार भनिन्छ।

उक्त सरकारमा विद्यार्थी नेताहरू नाहिद इस्लाम र आसिफ महमुद पनि सहभागी छन्। सत्तापलट भएपछि सेना‚ राष्ट्रपति र बेगम खालिदा जियाको दल बीएनपीले सत्तामा जाने चासो देखाएका थिए। विद्यार्थी नेताहरूले युनुस बाहेक अरूको सरकार स्वीकार्य छैन भनेर प्रदर्शन नरोक्ने चेतावनी दिएका थिए। त्यसपछि सबै पक्ष युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न तयार भएका थिए।

त्यसपछि मात्रै युनुस बिहीवार दिउँसो युरोपबाट ढाका फर्किएका थिए। विमानस्थलमा सेनापति‚ विद्यार्थी नेताहरू र मानवअधिकारवादी कार्यकर्तासँग छलफल गरेपछि त्यही राति  अन्तरिम सरकार प्रमुखको शपथ लिएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.