|

सुदूरपश्चिम : प्रदेश सरकारले ल्याएको ‘सुदूरपश्चिम प्रदेश सामयिक राजस्व सङ्कलनसम्बन्धी अध्यादेश २०८१’ स्वीकृत भएको छ।

प्रदेशसभाको आजको बैठकमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेशसभा नियमावलीबमोजिम उक्त अध्यादेश पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए।

प्रदेशसभाबाट बजेट पारित हुननसक्दा आर्थिक वर्ष २०८१/८२ को सुरुदेखि रोकिएको सरकारको राजस्व सङ्कलन कार्य अध्यादेश जारी भएसँगै सञ्चालन भइसकेको छ।

बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले ‘सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई दफावार छलफलका लागि विधायन तथा प्रदेश मामिला समितिमा पठाइयोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई स्वीकृत गरेको छ।

विधायन तथा प्रदेश मामिला समितिका सभापतिका दिवानसिंह विष्टले समितिमा दफावार छलफल भई तयार भएको ‘प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदन प्रस्तुत गरे।

मुख्यमन्त्री कमलबहादुर शाहले यही साउन ३० गते अपराह्न बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२०) बमोजिम नियुक्त मुख्यमन्त्री शाहले सोही धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन्। 

नेपाली कांग्रेस संसदीय दलका नेता एवं मुख्यमन्त्री शाह कांग्रेससहित नेकपा (एमाले) र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा यही साउन २० गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.