सुर्खेत : विद्युत प्रशारण लाइन दुई जिल्लामा पुर्याउन जाजरकोटको नलगाड नगरपालिका–१२ चौखामा सब-स्टेशन निर्माण भएको छ। नेपाल विद्युत प्राधिकरणले झण्डै १० करोड रुपैयाँको लागतमा उक्त सब-स्टेशन निर्माण गरेको हो।
नेपाल विद्युत प्राधिकरणसँग वाइबा इन्फ्राटेक प्रालिले उक्त सब-स्टेशन निर्माण गर्न सम्झौता गरेको थियो। १ महिनाभित्र उक्त सब-स्टेशन चार्जिङ गर्ने लक्ष्य रहेको वाइबा इन्फ्राटेक प्रालिका वरिष्ठ सर्वेक्षक करुण शाहीले जानकारी दिए।
जाजरकोटको कुदुबाट आएको प्रशारण लाइन चौखासम्म निर्माण नभएका कारण रुकुम पश्चिमको बाफिकोट सब-स्टेशनबाट आएको विद्युतबाट चार्जिङ गर्ने लक्ष्य रहेको छ।
जाजरकोट खण्डको लामो समयदेखि प्रशारण लाइनको काम नहुँदा सब-स्टेशनसम्म विद्युत ल्याउन रुकुम पश्चिमको बाफिकोटस्थित सब-स्टेशनबाट आएको विद्युत प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ।
यो सब-स्टेशन निर्माणसँगै जाजरकोट खण्डमा पनि प्रशारण लाइन निर्माण गर्न दबाब बढेको छ। ताक्सुगाड जलविद्युत आयोजनाको विद्युत उत्पादन गृहको छेउमै यो सब-स्टेशन निर्माण भएको हो।
यही सब-स्टेशनबाट जगदुल्ला जलविद्युत १०६ मेगावाट आयोजना निर्माण स्थलमा विद्युत लिने लक्ष्य राखिएको छ। डोल्पाको त्रिपुराकोटमा निर्माण हुन लागेको सब-स्टेशनमा समेत यही चौखाबाट विद्युत जडान गरिनेछ।
तल्लो डोल्पाका साथै पूर्वी जाजरकोटको अधिकांश ठाउँमा विद्युतीकरण गर्नका लागि यो सब-स्टेशनले काम गर्ने नेपाल विद्युत प्राधिकरण प्रदेश कार्यालयले जानकारी दिएको छ।
पुल नबन्दा विद्युतीकरणमा समस्या
भेरी करिडोरको जाजरकोट–डोल्पा सडकखण्डमा पुल निर्माण नहुँदा विद्युतका ठूला आयोजना निर्माणमा समस्या हुने भएको छ। नलगाड नगरपालिकामा मात्र ५ वटा ठूला पुल निर्माण बाँकी रहेको छ।
सडक निर्माण भइरहे पनि पुल निर्माणमा विलम्ब हुँदा समस्या भएको हो। पुल निर्माणका लागि लागेका ठेक्काको काम समयमा नहुँदा हैरानी भोग्नु परेको छ।
विद्युतीकरण गर्न सामान लिनुपर्ने भए पनि ठूला खोला तथा नदीमा पुल निर्माण नहुँदा काममा बाधा पुगेको हो। सबैभन्दा बढी वर्षायाममा यस क्षेत्रका स्थानीयले समस्या भोग्नु परेको छ।
यति विल्डर्स प्रालिले गरिरहेको सडकको कामले गति लिए पनि अन्य क्याराभानले लिएको पुलको काम अलपत्र पर्दै आएको छ।
वडावन, समाइलाका काम ५ प्रतिशतमात्र
कर्णाली प्रदेश कार्यालयबाट भएको ठेक्काको काम पूरा भए पनि केन्द्रबाट गरिएका ठेक्काको काम विजोग अवस्थामा रहेको छ। चौखाको सब-स्टेशन प्रदेशबाट ठेक्का गरिएको थियो।
अन्य समाइला र वडावनमा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयबाट गरिएको ठेक्काको काम ५ प्रतिशत पनि भएको छैन। उक्त ठेक्काको काम २४ महिनाभित्र निर्माण गर्ने लक्ष्य रहे पनि वर्ष दिन बित्दासमेत कामको प्रगति भारी निराशाजनक रहेको छ।
सो ठेक्का टुन्डी निर्माण सेवाले दिएको छ। प्रशारण लाइन र सब-स्टेशनको निर्माण गर्ने जिम्मेवारी लिएको टुन्डीले अहिलेसम्म सब-स्टेशन निर्माण स्थलमा ढुंगा, माटो हटाउनेबाहेक अन्य केही नगरेको नेपाल विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ।
यन कुदुबाट चौखासम्म प्रशारण लाइन निर्माण गर्ने जिम्मेवारी लिएको ला निर्माण सेवा चरिकोट दोलखाले काम नगर्दा चौखा सब-स्टेशनमा विद्युत जडान हुन सकेको छैन। ६ वर्षभन्दा बढी समय बित्दा पनि काम नगर्दा समस्यामाथि समस्या थपिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।