|

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने गरेको बताएका छन्।

ललितपुरमा बुधबार आयोजित सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी अधिकृतस्तरीय सेवाप्रवेश तालिम—२०८१ समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले यदाकदा सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने प्रवृत्ति देखिएको भन्दै सबैप्रति समान व्यवहार गर्न आग्रह गरे। उनले पोशाकका आधारमा व्यवहार नगरी सेवाग्राहीका समस्याहरु बुझेर यथोचित ढंगले सम्बोधन गर्न निर्देशन दिए।

उनले आफूलाई असल राष्ट्रसेवक प्रमाणित गर्नका लागि सेवाग्राहीमैत्री व्यवहार गर्नुपर्ने बताए। उनले सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्ने र सहज ढंगबाट सेवा प्राप्त गर्ने अनुकूल परिस्थिति निर्माण गर्ने काममा ध्यान दिन आग्रह गरे।

उनले हाकिमको आदेशभन्दा पनि कानूनसँग, राष्ट्रको हित, नागरिकको हितसँग बाझिएका बाहेकमा डराउनुपर्ने स्थिति नरहेको बताए।

उनले भने, ‘राष्ट्रसेवकहरु सेवाग्राहीप्रति मैत्रीपूर्ण व्यवहार गर्न चुक्ने यदाकदा त्यस खालका प्रवृत्तिहरु पनि देखा पर्ने गर्दछन्। सेवाग्राही टाइसुट लगाएर आएको होला, चश्मा, कोट लगाएर आएको होला। झुत्रे झाम्रो पोशाकमा आएको होला । त्यो सबैप्रति समान व्यवहार गर्न सिक्नुपर्नेछ।'

उपप्रधानमन्त्री पौडेलले सरुवा÷बढुवाका लागि मन्त्री र नेताको घर नजान पनि आग्रह गरे। उनले सरुवा/बढुवामा अन्यथा भए मर्यादित ढंगले आफ्ना तर्कहरु राख्न आग्रह गरे। उनले सोर्स लगाउने कर्मचारीहरु क्षमताले जतिसुकै सक्षम भए पनि निरीह र कमजोर हुने बताए। उनले उनीहरु राष्ट्रको सेवाभन्दा पनि सोर्स लगाउनेप्रति अनुगृहित हुने बताए।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले पछिल्ला दिनहरुमा केही गम्भीर चुनौतीको सामना गरिरहेको बताए। राजश्व परिचालनका दृष्टिकोणले लक्ष्य भेदन गर्न अफ्ठ्यारो परिरहेको र बेरुजु बढिरहेको बताए। लेखा प्रणालीमा दुरुस्त हुन नसकिरहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.