जनसंख्या वृद्धि दर घटेर ०.९३ प्रतिशत
जनसंख्या वृद्धि दर घटेर ०.९३ प्रतिशत
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जनसांख्यिक असन्तुलन हुँदा ५० वर्षपछि नेपाल ज्येष्ठ नागरिकको मात्र देश बन्ने खतरा रहेको टिप्पणी गरेका छन्।
मंगलवार नेपाल युवा सम्मेलनमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले देशमा जनसंख्या घट्दो क्रममा रहेकोप्रति चिन्ता प्रकट गर्दै देश ज्येष्ठ नागरिकको मात्र हुने खतरा बढेको जिकिर गरेका हुन्। देशको आवश्यकता र जनसंख्याको निरन्तरताका लागि पनि युवाहरूले ध्यान दिनुपर्ने उनले बताए।
नेपाल केही वर्षमा वृद्धहरूको देश हुन सक्ने सम्भावना भने तथ्यांकले पनि देखाएको छ। नेपालमा अहिले जनसंख्या वृद्धि दर लगातार घटिरहेको छ। नेपालको जनसंख्या वृद्धि दर पछिल्लो दशकभन्दा शून्य दशमलव ४३ प्रतिशतले घटेको छ।
एक दशकअघि नेपालको जनसंख्या वृद्धि दर १.३५ प्रतिशत थियो। अहिले त्यो ०.९३ मा झरेको २०७८ सालको जनगणनाले देखाएको छ।
केही महिनाअगाडि केन्द्रीय तथ्यांक विभागले जारी गरेको तथ्यांकमा २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० छ। यो आँकडा २०६८ कोभन्दा २६ लाख ९७ हजार ९७६ ले मात्र बढी हो।
१० वर्षमा नेपालको जनसंख्या १०.१८ प्रतिशतले वृद्धि भई २६ लाख ९७ हजार ४८४ जना व्यक्ति थपिएका छन्। भौगोलिक क्षेत्रअनुसार १० वर्षमा हिमाली क्षेत्रमा ०.२३ प्रतिशतले जनसंख्या घटेको देखिन्छ भने पहाडी क्षेत्रमा ३.११ प्रतिशतले र तराई क्षेत्रमा १७.६२ प्रतिशतले जनसंख्या बढेको देखिन्छ।
तथ्यांक विभागको विवरणअनुसार ७७ मध्ये ३२ जिल्लाको जनसंख्या त ऋणात्मक रहेको जनाइएको छ।
वृद्धहरू बढ्दै तन्नेरी घट्दै
नेपालमा युवाहरू घट्दै गएको र वृद्धहरू बढ्दै गएका छन्। गत चैतमा विभागले जारी गरेको तथ्यांक अनुसार १५ देखि २४ वर्ष उमेर समूहको जनसंख्या २० प्रतिशतबाट १९.७ प्रतिशतमा झरेको छ।
२५–६४ वर्ष उमेर समूहको जनसंख्या ४५.५ प्रतिशतबाट झरेर ४३.३ प्रतिशतमा पुगेको तथ्यांक कार्यालयले सार्वजनिक गरेको छ।
निर्देशक ढुण्डिराज लामिछानेले ६५ भन्दा माथि उमेर समूहको जनसंख्या ५.३ बाट बढेर ६.९ प्रतिशतमा पुगेको बताए। उनले नेपालको काम गर्नसक्ने जनसंख्या ६२ प्रतिशत रहेको बताए।
उनले जनगणना २०६८ को तुलनामा आश्रित जनसंख्या कम रहेको बताए। उनका अनुसार जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको बताए।
‘नेपालका आश्रित जनसंख्या कम भएको छ। जनगणना २०६८ मा ६१.९ प्रतिशत रहेको आश्रित जनसंख्या घटेर जनगणना २०७८ मा ६०.२ प्रतिशतमा झरेको छ‚’ उनले भने‚ ‘नेपालको करिब २२ लाख जनसंख्या विदेशमा बसोवास गरेको देखिन्छ। सबैभन्दा बढी २० देखि २९ वर्ष उमेर समूहका नेपालीहरू विदेश गएको देखिन्छ।’
६ लाख घर रित्तै
गत कात्तिक १३ गते सोमवार राष्ट्रिय तथ्यांक विभागले जारी गरेको विवरणअनुसार नेपालमा बनेका करिब ६ लाख घर रित्तो रहेका छन्। नेपालभर रहेका कुल ७५ लाख ५२ हजार ६६ वटा घरहरू रहेको विवरण जारी गर्दै राष्ट्रिय तथ्यांक कार्यालयका उप–प्रमुख तथ्यांक अधिकारी डा. हेमराज रेग्मीले बस्नका लागि घर निर्माण भए पनि विभिन्न कारण बसाइसराइले ती घरहरू रित्तै रहेको स्पष्ट पारेका थिए।
बच्चा जन्माउने उत्तम उमेर कति?
सम्मेलनमा प्रधानमन्त्री ओलीले देशको जनसंख्या बढाउन युवाहरूहरूलाई छिट्टै बिहे गरेर बच्चा पाउन आग्रह गरेका थिए।
‘गीत गाउँछन् ४० कटेसी रमाउँला भनेर, उमेर छउन्जेल विदेशमा बसेपछि जनसंख्या झन् घट्ने भो’, उनले कार्यक्रममा भने, ‘मेरो एउटा सुझाव छ, २०-३० वर्षमा बिहे गर्नुस्‚ छिट्टै बच्चाबच्ची पाइहाल्नुस्। त्यसो गरेपछि काममा लागे पनि भयो, विदेश गए पनि भयो, छोराछोरी हुर्कँदै गर्छन्।’
चिकित्सकहरूका अनुसार सामान्यतया बच्चा जन्माउने उपयुक्त उमेर महिलाको लागि २० देखि ३५ वर्ष र पुरुषको लागि २० देखि ४०-४५ वर्षसम्म हो। यसमा पनि २० देखि ३० वर्षको उमेर महिलाको लागि बच्चा जन्माउने निकै राम्रो मानिने चिकित्सकहरू बताउँछन्।
२० वर्षभन्दा कम उमेरमा बच्चा जन्माउनु स्वास्थ्यको दृष्टिमा जोखिम समय हो भने ३० वर्षपछि बच्चा जन्माउनु पनि स्वास्थ्यको हिसाबले जोखिम नै हो। निश्चित उमेरमा जन्मिएका बच्चा तुलनात्मक रुपमा स्वस्थ हुने गर्छन्।
महिलाको उमेर १९ वर्षभन्दा कम रहेको छ भने ती महिलाले बच्चा जन्माउन केही समय कुर्दा नै राम्रो हुने‚ उमेरले ३५ वर्ष नाघिसकेका महिलाबाट जन्मेका बच्चामा पनि डाउन्स सिन्ड्रोम जस्तो जन्मजात विकार आउने सम्भावना धेरै रहन्छ।
२० देखि ३० वर्षको उमेरमा जन्माउनु स्वास्थ्यका लागि ६० गुणा बढी फाइदा रहेको चिकित्सकहरू बताउँछन्।
विदेशमा बस्नेको लर्को
प्रधानमन्त्री ओलीले हरेक वर्ष ४/५ लाख युवाहरू रोजगारीका लागि बजारमा आए पनि सरकारले ५० हजारलाई रोजगार दिन नसकेको अवस्था रहेको बताए।
यदि ५० हजारलाई रोजगारी दिन सके बाँकी साढे ४ लाख बाँकी रहन्छन्। युवाहरूलाई उद्यमी बन्न ओलीले आग्रह गरे। युवाहरूका लागि राज्यले सोचिरहेको उनले बताए।
देशमा समस्या भएर पनि युवाहरू विदेश गएको उनले स्वीकार गरे। उनले युवालाई लक्षित गर्दै भने, 'कति रहरले कति बाध्यताले विदेश गइरहेका छन्। यस कुरालाई रोकिएन भने ठूलो समस्या पैदा हुने खतरा रहेको छ।‘
युवाहरूलाई बिहे गरेर बच्चा जन्माएर विदेश जानसमेत आग्रह गरेका छन्।
‘फ्युचर जेनेरेशनको कुरा गर्ने अनि फ्युचर भनेको पैसा हो?‚’ ओलीले प्रश्न गरे, ‘फ्युचर भनेको पैसा हो? पैसाले फ्युचर बन्छ? फ्युचरका लागि त बालबच्चा चाहियो होला नि। विदआउट चिल्ड्रेन कसरी फ्युचर हुन्छ?’
अध्यागमन विभागले दिएको जानकारीअनुसार गत वर्ष करिब ७० हजार नेपालीले विदेशमा नै स्थायी बसोबास गरेका छन्। ९१ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख छ।
तथ्यांक विभागले पछिल्लो ५ वर्षमा १ लाखमा ३ हजार ७५२ जनाले विदेशमा बसाइँसराइ गरेको जनाएको छ।
बढ्दो पलायनले देश निर्माणमा, अर्थतन्त्रमा, रोजगारी सिर्जना र अवसरहरूको सदुपयोगमा ठूलो नकारात्मक असर पारेको छ। यतिसम्म कि अहिले निर्माणका लागि बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था रहेको छ।
सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए। यसरी नेपालीहरू विभिन्न कामका लागि करिब ४ हजार ४५५ जना दैनिक विदेशिने गरेका छन्।
विभागले दिएको तथ्यांकअनुसार यो वर्ष करिब १२ लाख ३२ हजार ५९ जना नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै फर्किएका छन्।
यसरी औसतमा दैनिक ३ हजार ४ सय नेपाली दैनिक स्वदेश फर्किने गरेका छन्। विदेश जाने र स्वदेश फर्किने दैनिक तथ्यांक हेर्ने हो भने संख्यामा करिब १ हजारको फरक देखा पर्छ।
नेपालमा युवाहरूको बढ्दो पलायनको तथ्यांकले देशको युवा शक्ति रित्तिने संकेत स्पष्ट रहेको छ। यसले गाउँ वा देश मात्र रित्तिरहेको छैन। यसले हाम्रा सामाजिक मूल्य र मान्यताहरू, सांस्कृतिक संरचनाहरू कतै न कतै कमजोर बनिरहेको प्रष्ट छ।
‘हामीकहाँ जनसंख्या वृद्धि दर घट्नुको अर्थ कालान्तरमा युवाहरू कम हुनु हो। तिनै युवाहरू पनि विदेश पलायन हुँदा, देशमा प्रौढको संख्या बढ्न सक्ने देखाउँछ’, विभागअन्तर्गत जनसंख्या शाखाका निर्देशक डुण्डीराज लामिछानेले केही समयअगाडि थाहाखबरसँग भनेका थिए, 'युवाहरूलाई रोक्न सकियो भने जनसंख्या वृद्धि दर बढ्न सक्छ भने त्यसबाहेक सामाजिक र सांस्कृतिक संरचनाहरू बलियो बन्न सक्छन्।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।