काठमाडौं : सत्तारुढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले टिआरसी (संक्रमणकालीन न्याय सम्बन्धी) विधेयक शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने गरी आएको बताएका छन्। बुधबार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको छलफलमा भाग लिँदै उनले सो दाबी गरेका हुन्।
प्रमुख सचेतक बर्तौलाले सो विधेयक पीडितमैत्री रहेको पनि बताए। सशस्त्र द्वन्द्व कालका पीडितहरुले न्याय पाउने गरी सो विधेयकलाई दलहरुले सहमतीको आधारमा विषयगत समितिमा छलफल गरी प्रतिनिधि सभामा पेश गरिएको पनि स्मरण गराए। उनले नेपालको शान्ति प्रक्रिया निष्कर्षमा नपुगोस् भन्ने तत्वहरु रहेको भन्दै त्यसप्रति सजग रहनुपर्ने आवश्यकता पनि औँल्याए।
प्रमुख सचेतक बर्तौलाले भने, ‘शान्ति प्रक्रियालाई निष्कर्षमा पु¥याउने गरी हामीले यो विधेयक ल्याएका छौं। आज यहाँ जो कानून प्रतिवेदनसहित पेश भएको छ। यसले पीडितलाई बेवास्ता गरेका छैन। सशस्त्र द्वन्द्वका सबै पीडितलाई यो कानूनले समेटेको छ। उसलाई न्यायको तहमा ल्याएको छ। अन्तराष्ट्रिय कानूनलाई यसले समेटेको छ। सुप्रिम कोर्टको अर्डरलाई यसले नजिरको रुपमा स्वीकार गरेको छ। सबै कुराहरु यसमा हामीले भनेका छौं। यो पीडितमैत्री छ। मुलुकमा शान्ति प्रक्रियामा निष्कर्षमा नपुगोस् भन्नेहरु पनि छन्। त्यसतर्फ सचेत रहनुपर्दछ।’
प्रमुख सचेतक बर्तौलाले पीडित पक्ष, सर्वोच्च अदालतको अदालतको आदेश र अन्तर्राष्ट्रिय मानव अधिकारवादीहरुले दिएको सुझावको आधारमा सो विधेयक आएकाले त्यसप्रति शंका गरिरहनु आवश्यक नभएको पनि बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।