मुख्य नेताहरू आफू बोलेर हिँड्ने हुँदा रोष्ट्रम खाली
मुख्य नेताहरू आफू बोलेर हिँड्ने हुँदा रोष्ट्रम खाली
काठमाडौँ : मुख्य दलका शीर्ष नेताहरूले सुरुमै बोल्छन् र हिँडिहाल्छन्। त्यसपछि साना दलहरूको पालो पाउँछ। त्यही क्रममा पर्छन् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल।
दलीय रूपमा सदनमा बोल्ने रोलक्रमअनुसार अध्यक्ष नेपाल अन्तिमतिर पर्छन्। पूर्वप्रधानमन्त्री भए पनि दल सानो भएकाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनभन्दा पछि उनको पालो आउँछ।
बुधबार पनि उसैगरी अन्तिमतिर पूर्वप्रधानमन्त्री नेपाललाई टिआरसी विधेयकमाथिको छलफलमा सहभागी हुन सभामुखले रोष्ट्रममा बोलाए। एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्षलगायतका नेताहरू त्यतिवेला सदनबाट धारणा राखेर बाहिरिसकेका थिए भने सत्ता र प्रतिपक्षी दुबैतर्फका ‘फ्रन्ट बेन्च’ खाली थिए।
अध्यक्ष नेपालले रोष्ट्रममा पुग्नासाथ आफ्नो धारणा सुन्न शीर्ष नेताहरू नदेखेपछि गुनासो पोखे। उनले रेकर्ड राख्न र बेन्चहरूलाई सुनाउन भए पनि आफूले बोल्न थालेको भन्दै सम्बोधन गर्न थाले।
‘आज हामी संक्रमणकालीन न्यायसँग सम्बन्धित महत्त्वपूर्ण विधेयकमाथि छलफल गरिरहेका छौं। यो विषयमा छलफल गर्दौगर्दा म यहाँ (रोष्ट्रममा) आऊँ कि नआऊँ भन्ने दुविधामा थिएँ’, गुनासो पोख्दै उनले भने, ‘मैले सोचेको थिएँ, प्रधानमन्त्रीको उपस्थिति होला ! अरू नेताहरूको पनि सदनमा उपस्थिति होला! तर उहाँहरू हिँडिसकेपछि, बेन्चहरू खाली भइसकेपछि रेकर्ड राख्न र बेन्चहरूलाई सुनाउन भए पनि भनेर म यहाँ आएको छु।’
उक्त गुनासोपछि अध्यक्ष नेपालले शान्ति प्रक्रियाका लागि आफूले खेलेको भूमिका स्मरण गर्दै टिआरसी पारित हुन लागेप्रति खुसी व्यक्त गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।