काठमाडौँ : जनमत पार्टीका उपाध्यक्ष एवं सांसद अब्दुल खानले शासन प्रणाली परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘सलाम’ गरेका छन्।
प्रतिनिधिसभामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी)माथिको छलफलमा सहभागी हुने क्रममा उनले रोष्ट्रमबाटै प्रचण्डको प्रशंसा गर्दै ‘सलाम’ गरेका हुन्।
‘प्रधानमन्त्रीले (शान्तिप्रक्रियाबारे) धेरै कुरा विस्तृत रूपमा राख्नुभयो। सदनलाई जानकारी दिनुभयो। पूर्वप्रधानमन्त्रीहरूले पनि ऐतिहासिक कुरादेखि लिएर अहिले वर्तमान अवस्थामा व्याख्या विश्लेषण गर्नुभयो। सबैलाई धन्यवाद दिन चाहन्छु’, उनले भने, ‘सुरुमा जनवादी क्रान्तिको नेतृत्व गर्नुहुने र विस्तृत शान्ति सम्झौतालाई निष्कर्षसम्म पुर्याएर अग्रसरता लिनुहुने माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डज्यूलाई म लालसलाम भन्न चाहन्छु। कमरेड लालसलाम!’
रोष्ट्रमबाटै अध्यक्ष प्रचण्डलाई सांसद खानले प्रचण्डको प्रशंसासँगै सलाम गरेपछि माओवादी सांसदहरूले भने दङ्ग पर्दै टेबल ठोके।
त्यसक्रममा सांसद खानले मधेश विद्रोहको अगुवाका रूपमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पनि सम्झिए। जसपा नेपाल जनमतको प्रमुख राजनीतिक शत्रु भए पनि सांसद खानले उपेन्द्रको भूमिकालाई स्मरण गरेका हुन्।
‘मधेश विद्रोहका अगुवाका रूपमा रहनुभएका उपेन्द्र यादवलाई पनि सम्झन चाहन्छु’, उनले भने, ‘विस्तृत शान्ति सम्झौतामा भूमिका खेल्ने अन्य नेताहरूलाई पनि नमन गर्न चाहन्छु।’
उनले तत्कालीन निरंकुश र तानाशाही राजतन्त्रको अन्त्य गरी गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका उपलब्धि धेरै रहेको उनले बताए। तिनै आन्दोलनमा सहभागी भई देश र जनताका लागि ज्यान दिएका वीर सहिदहरू र बेपत्ता भएकाका परिवारका आँसु पुछ्न र घाउमा मलम लगाउन अहिले टिआरसी विधेयक अघि बढेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।