नेपाल, बंगलादेशसहित ४ राष्ट्र पदकविहीन

|

ललितपुर : गृष्मकालीन ओलम्पिकको ३३ औँ संस्करणसम्म आइपुग्दा समग्रमा दक्षिण एशियाली राष्ट्र ओलम्पिकमा कमजोर देखिएका छन्। दक्षिण एशियाली राष्ट्रबाट भारतसँगै नेपाल, पाकिस्तान‚ बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानले खेल्ने गरेका छन्। 

२०२४ को पेरिस ओलम्पिकमा भारत र पाकिस्तानले मात्र पदक जितेका छन्। यो पटक पाकिस्तानले एथ्लेटिक्समा १ स्वर्ण जित्दै आफूलाई भारतभन्दा अगाडि उभ्याएको छ। भारतले १ रजत र ५ कांस्य पदक जितेको छ। भारतले एथ्लेटिक्समा १ रजत, सुटिङमा ३ कांस्य र हकी तथा कुस्तीमार्फत १‚ १ कांस्य पदक जितेको छ।  

ओलम्पिकको इतिहासमा भारतले अहिलेसम्म १० वटा स्वर्ण जित्दा थप १० रजत र २१ कांस्य पदक हात पारेको छ। त्यसपछि पाकिस्तानले ४ स्वर्ण‚ ३ रजत र ४ कांस्य पदक जितेको छ। 

श्रीलंकाले २ रजत पदक एथ्लेटिक्समा जित्दा नेपाल, बंगलादेश, माल्दिभ्स र भुटानले अहिलेसम्म पदक जित्न सकेका छैनन्। दक्षिण एशियाका लागि सबैभन्दा धेरै पदक ओलम्पिकमा फिल्ड हकी खेलमार्फत प्राप्त भएको छ। 

नेदरल्याण्ड्समा सन् १९२८ मा भएको ओलम्पिकदेखि सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा भएको ओलम्पिकसम्म हकीका अधिकांश स्वर्ण दक्षिण एशियाली राष्ट्रकै कब्जामा रह्यो। 

सन् १९७२ को म्युनिख ओलम्पिक र सन् १९७६ को मन्ट्रेरियल ओलम्पिकमा मात्र स्वर्ण पदक अन्य देशले लग्यो। पेरिस ओलम्पिकमा भारतले हकीमै कांस्य पदक जितको छ। 

दक्षिण एशियाली राष्ट्रले सुटिङ, कुस्ती , बक्सिङ, एथ्लेटिक्स र भारोत्तोलनमा पनि पदक ल्याएका छन्।

ओलम्पिकको दोस्रो संस्करणदेखि नै सहभागी हुँदै आएको भारतबाहेक पछिल्ला केही संस्करणमा अन्य कुनै देशले पदक जित्न सकेका थिएनन्।  

एक समय दक्षिण एशियाली सदस्य भएर खेल्ने गरेको अफगानिस्तानले पछिल्लो समय यहाँबाट खेल्न छोडिसकेको छ। साग सदस्य राष्ट्र भएकै वेला सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लन्डन ओलम्पिकमा तेक्वान्दोमार्फत अफगानिस्तानले १–१ कांस्य पदक जितेको थियो। 

ठूलो क्षेत्रफल, ठूलो जनसंख्या र लगानीका हिसाबले पनि विश्वमै मजबुत रहेको भारतबाहेक अरू देशले सन् २००० पछि २०२० को टोकियो ओलम्पिकसम्म पदक आफ्नो नाममा लेखाउन सकेनन्।

पेरिस ओलम्पिकमा आएर पाकिस्तानले एथ्लेटिक्समा स्वर्ण जित्यो। तैपनि अन्य दक्षिण एशियाली राष्ट्रभन्दा भारत बलियो देखिएको छ तर तुलनात्मक हिसाबले समग्र दक्षिण एशियाली राष्ट्र कमजोर बन्दै गएका छन्। 


दक्षिण एशियामा सफल भारत 

सन् १९०० मा फ्रान्समै आयोजना भएको दोस्रो ओलम्पिकदेखि नै सहभागी भएको भारतले अहिलेसम्म २६ औँ सहभागितासम्म १० वटा स्वर्ण जित्दा थप १० रजत र २१ कांस्य पदक हात पारेको छ। बेलायतको अधीनमा रहेका वेला पहिलो सहभागितामै भारतले २ रजत जितेको थियो। 

जितेका १० स्वर्ण पदकमा ८ वटा त हकीमार्फत नै भारतले स्वर्ण जितेको छ भने थप २ स्वर्ण एथ्लेटिक्स र सुटिङमा पाएको छ। ओलम्पिकमा भारतका लागि सबैभन्दा सफल खेल फिल्ड हकी रहेको छ। भारतले हकीमार्फत थप १ रजत र ४ कांस्य पदक जित्दा दोस्रो सफल मानिएको एथ्लेटिक्समा १ स्वर्ण ३ रजत पदक जितेको छ। 

सुटिङमा १ स्वर्णसहित २ रजत र ४ कांस्य पदक जित्दा कुस्तीमा २ रजत र ६ कांस्य पदक आफ्नो नाममा लेखाइसकेको छ। सन् २००८ को बेइजिङ ओलम्पिकमा १० मिटर एयर राइफलमा अभिनव बिन्द्रले १० मिटर एयर राइफलमा तथा सन् २०२० को टोकियो ओलम्पिकमा पुरुष ज्याभ्लिन थ्रोमा निरज चोपडाले एक–एक स्वर्ण जितेका थिए। 

ज्याभ्लिनन थ्रोमा २०२४ को पेरिस ओलम्पिकमा निरज रजत पदकमा खुम्चिए। उनी पाकिस्तानी खेलाडी अर्सद नदिमसँग पराजित भए। नदिमले ९२.९७ मिटर थ्रो गर्दै ओलम्पिकमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेका हुन्। 

भारतले ब्याडमिण्टनमा १ रजत र २ कांस्य, भारोत्तोलनमा १ रजत र १ कांस्य, बक्सिङमा ३ कांस्य पदक जित्दा टेनिसमा पनि भारतले १ कांस्य पदक हात पारिसकेको छ। 

दोस्रो ओलम्पिकदेखि सन् १९३६को बर्लिन ओलम्पिकसम्म हकीमार्फत भारतले ३ स्वर्णपदक जितेको थियो। 

सन् १९७६, १९८४, १९८८ र १९९२ को ओलम्पिक भारतका लागि पनि पदकविहीन बनेको ओलम्पिक थियो। सन् १९९६ को एटलान्टा ओलम्पिकपछि भारतलाई कम्तिमा १ कांस्य मात्रै भए पनि मिलिरहेको छ। 

बेलायत अधीनस्थ भारतले पहिलो सहभागितामै एलेटिक्समार्फत २ रजत पाएको थियो। दुबै पदक नोरम्यान प्रिटचार्डले ल्याएका थिए। 

सन् १९४७ मा बेलायतबाट स्वतन्त्र भएपछि पनि भारत ५ वटा छुट्टाछुट्टै ओलम्पिकमा हकीमार्फत स्वर्ण ल्याउन सफल भयो। त्यति वेला भारतलाई चुनौती दिने अर्को राष्ट्र बनेको थियो पाकिस्तान। ​पेरिस ओलम्पिकमा समेत भारतले हकीमै कांस्य पदक जितको छ। 


पाकिस्तानलाई ४० वर्षपछि स्वर्ण 

दक्षिण एशियामा भारतपछि अहिलेसम्म सबैभन्दा बढी पदक ल्याउने देश पाकिस्तान हो। १९ पटक सहभागी भइसकेको पाकिस्तानले कुल ४ स्वर्ण‚ ३ रजत र ४ कांस्य पदक जितेको छ।

पाकिस्तानले फिल्ड हकीमा मात्रै ३ स्वर्ण, ३ रजत र २ कांस्य पदक जितेको हो। एउटा स्वर्ण पदक २०२४ को पेरिस ओलम्पिकका दौरान एथ्लेटिक्सबाट ल्याएको छ। पाकिस्तानले ३२ वर्षपछि पदक र ४० वर्षपछि स्वर्ण पदक जितेको छ। दुबै पदक हकीमै ल्याएको थियो। 

सन् १९९२ को बार्सिलोना ओलम्पिकमा नेदरल्याण्ड्सलाई हराएर हकीमा कांस्य पदक जितेको पाकिस्तानले यसअघि १९८४ को फाइनलमा पश्चिम जर्मनीलाई हराएर स्वर्ण पदक आफ्नो पोल्टामा पारेको थियो। 

पेरिस ओलम्पिकमा पाकिस्तानी खेलाडी अर्सद नदिमले ९२.९७ मिटर थ्रो गर्दै ओलम्पिकमा नयाँ कीर्तिमानसहित स्वर्ण जितेका हुन्। टोकियो ओलम्पिकका स्वर्णधारी भारतका निरज चोपडाले रजत पदकमै चित्त बुझाए। 

नदिमले सन् २००८ को बेइजिङ ओलम्पिकमा नर्वेका आन्द्रेस थोरकिल्डसेनले बनाएको ९०.५७ मिटरको ओलम्पिक कीर्तिमान तोडेका हुन्। उनी २०२० को टोकियो ओलम्पिकमा ८४.६२ मिटर थ्रो गरेर पाँचौँ स्थानमा आएका थिए। 

पाकिस्स्तानलाई अहिलेसम्म ओलम्पिकमा थप २ कांस्य पदक कुस्ती र बक्सिङमा आएको छ। १९६० मा कुस्तीमा र १९८८ मा बक्सिङमा कांस्य पदक जितेको हो। 

सन् १९४८ मा भारतबाट स्वतन्त्र भएपछि सोही वर्षको लण्डन ओलम्पिकबाट पाइला थालेको पाकिस्तानले १९५६ को मेलबर्न ओलम्पिकमा भारतसँग नै हारेर हकीमा रजत पदक ल्यायो। लगत्तै ४ वर्षपछि १९६० को ओलम्पिकमा पाकिस्तानले भारतलाई नै हराएर स्वर्ण पदक जितेको थियो। फेरि १९६४ मा भारतसँग हारेर रजत पदक पाउँदा १९६८ को मेक्सिको ओलम्पिकमा अष्ट्रेलियालाई हराएर फेरि स्वर्ण पदक जितेको थियो।

१९७२ मा पश्चिम जर्मनीसँग हारेर रजत पदक जितेको पाकिस्तानले सन् १९८० मा पश्चिम जर्मनीलाई नै हराएर स्वर्ण पदक जितेको थियो। सन् १९९२ को बार्सिलोना ओलम्पिकमा हकीमार्फत कांस्य पदक ल्याएपछि त्यसपछिका ८ संस्करणमा पाकिस्तान रित्तो हात फर्किएको थियो।

 रजत जितेको श्रीलंका 

२० पटक सम्म श्रीलंकाले पनि ओलम्पिकमा सहभागिता जनाइसकेको छ। यो सहभागितामा सन् १९४८ को पहिलो सहभागिता नै श्रीलंकाका लागि फलदायी बन्यो।

पहिलो सहभागितामै पुरुष ४ सय मिटर हर्डलमा दुनकान ह्वाइटले रजत पदक ल्याए। त्यसपछि पदक ल्याउन श्रीलंकाले ५२ वर्ष कुर्नुपर्‍यो।

सन् २००० को सिड्नी ओलम्पिकमा महिला २ सय मिटर दौडमा श्रीलंकाली खेलाडी सुशान्तिका जयसिंहेले रजत पदक ल्याउन सफल भइन्। त्यसपछिका पेरिस सहितका ६ वटा संस्करणमा श्रीलंका सहभागितामै सीमित बनिरहेको छ। 

६० वर्षे इतिहासमा सहभागितामै सीमित नेपाल

सन् १९६८ को मेक्सिको ओलम्पिकलाई छाडेर नेपालले सन् १९६४ मा जापानको टोकियोमा भएको १८ औँ ओलम्पिकदेखि सहभागिता जनाउँदै आए पनि ६० वर्ष पुगेको छ। सहभागी भएको १६ वटा संस्करणसम्म पनि अहिलेसम्म ओलम्पिकमा नेपालले कुनै पनि पदक जित्न सकेको छैन। नेपाल सहभागितामै सीमित बन्दै आएको छ। 

सन् १९८८ को २४ औँ कोरियाको सियोल ओलम्पिक नेपालका लागि सुखद रह्यो। पहिलोपटक समावेश गरिएको तेक्वान्दो खेलमार्फत नेपालका विधान लामाले पदक दिलाए। त्यति वेला तेक्वान्दोलाई प्रदर्शन खेलका रूपमा मात्र लिएको हुँदा पदक गणना भने भएन। ​

संगीना वैद्य र दीपक विष्टपछि ओलम्पिकमा छनौट भएर पुग्ने कीर्तिमानी बनाएका टेबलटेनिसका सान्टु श्रेष्ठले पेरिस ओलम्पिकमा पुरुष एकलमा प्रतिस्पर्धा गरेका थिए। उनी पहिलो खेलमै पराजित भएका थिए। 

अहिलेसम्म सबैभन्दा बढी एथ्लेटिक्समा २९ जना नेपाली खेलाडीले ओलम्पिकमा आफ्नो खेल देखाएका छन्। त्यसपछि बक्सिङमा १२ जना र पौडीमा ११ जनाले सहभागिता जनाइसकेका छन्। ओलम्पिकमा सुटिङतर्फ ८ जना, तेक्वान्दोमा ७ जना तथा भारोत्तोलन र जुडोमा ५–५ जनाले सहभागिता जनाउदा आर्चरीमा १ जनाले ओलम्पिक खेलेका छन्। 

ओलम्पिकको इतिहासमा अहिलेसम्म धावक वैकुण्ठ मानन्धरले ४ पटक सहभागिता जनाएका छन्। उनले लगातार चारपटक ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए। मानन्धरले १९७६ मन्ट्रेल ओलम्पिकदेखि १९८८ सोल ओलम्पिकसम्म लगातार चारपटक प्रतिस्पर्धा गरेका थिए।

बंगलादेश पनि सभागितामै सीमित 

सन् १९७२ मा पाकिस्तानबाट स्वतन्त्र भएपछि बंगलादेशले पनि ओलम्पिक खेलकुदमा भाग लिन थाल्यो। सन् १९८४ बाट ओलम्पिकमा पाइला चालेको बंगलादेशले त्यसपछि पेरिस ओलम्पिकसम्म आइपुग्दा निरन्तर सहभागिता जनाइरहेको छ। ११ सहभागितामा अहिलेसम्म बंगलादेशको नाममा कुनै पदक छैन। 

माल्दिभ्स र भुटान पनि पदकविहीन 

सन् १९८४ बाट ओलम्पिकमा सहभागी हुन थालेको भुटानले पनि ११ सहभागितामा कुनै पदक हात परेको छैन। माल्दिभ्सले १९८८ सालबाट ओलम्पिक खेले पनि पदकको स्वाद चाख्न सकेको छैन। हुनत यी दुई देश दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागमा पनि कमजोर मानिएका छन्। यिनीहरूले स्वर्ण पदक सागमा पनि ल्याउन हम्मेहम्मे पर्ने गरेको छ। 

पूर्व साग सदस्य अफगानिस्तानसँग २ कांस्य 

अफगानिस्तानले अहिलेसम्म मात्र २ वटा कांस्य पदक जितको छ। अहिले साग सदस्य राष्ट्र अफगानिस्तानले त्यागिसकेको छ। उसले जितेका दुबै कांस्य पदक साग सदस्य राष्ट्र भएकै वेला आएको थियो।

साग सदस्य राष्ट्र भएकै वेला सन् २००८ को बेइजिङ ओलम्पिक र सन् २०१२ को लन्डन ओलम्पिकमा तेक्वान्दोमार्फत अफगानिस्तानले १–१ कांस्य पदक जितेको थियो। अफगानी खेलाडी रहुल्ला निकपाईले दुबै ओलम्पिकमा कांस्य पदक जितेकी थिइन्। 

पेरिस ओलम्पिकमा पनि कमजोर दक्षिण एशिया तर लक्की पाकिस्तान

फ्रान्सको राजधानी पेरिसमा चलिरहेको ३३ औँ गृष्मकालीन ओलम्पिकमा दक्षिण एशियाली राष्ट्रहरूले फितलो प्रदर्शन गरेका छन्। पाकिस्तानले १ स्वर्ण र भारतले २ रजत र ४ कांस्य जित्नु बाहेक अन्य दक्षिण एशियाली राष्ट्र पदकविहीन घर फर्किएका छन्। 

पाकिस्तानले भारतीय खेलाडीलाई नै ज्याभ्लिन थ्रोमा हराएर स्वर्ण जितेको हो। ४० वर्षपछि पाकिस्तानले ओलम्पिकमा स्वर्ण जितेको छ। 

भारतले एथ्लेटिक्समा १ रजत, सुटिङमा ३ तथा कुस्ती र हकिमा १–१ गरी ५ कांस्य पदक जितेको हो। भारतीय मनु वाकरले २ कांस्य पदक जितिन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.