काठमाडौं : हिजो (शुक्रबार) सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-५ थामेमा अप्रत्याशित ठूलो बाढीपहिरो आयो। हालसम्म पनि खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी छ। तर,बाढीले बस्ती नै सखाप पारे पनि ठूलो मानवीय क्षति हुनबाट बचेको छ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेका अनुसार हालसममा बाढीले विद्यालयसहित २० घर पुरिए भने १३० जना परिवार विस्थापित भएका छन्। जसमध्ये बाढीमा परी एकजना ५५ वर्षीय निमा नुरु टुडु शेर्पा मात्रै बेपत्ता भएका छन्।
‘यति ठूलो अचानक बाढीपहिरो आउँदा पनि धन्न ठूलो मानवीय क्षति भएन,एकजना चाहिँ बेपत्ता हुनुहुन्छ,’उनले भने। किन कसरी यति ठूलो बाढीपहिरो आयो भन्ने हालसम्म यकिन कारण खुल्न सकेको छैन। हिम ताल फुटेर बाढी आएको मात्रै अनुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पनि बाढी हिमपहिरोका कारण हुनसक्ने अनुमान गरेको छ।
महाशाखाका अनुसार उक्त क्षेत्रमा साना र ठूला गरी ६ वटा हिमताल-हिमपोखरी छन्। तीमध्ये कुनै एक विस्फोट भएको हुनसक्ने अनुमान गरिएको छ। महाशाखाले भनेको भनेको छ,‘उक्त क्षेत्र नजिक रहेको फोत्र्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको, साउन २५ गतेदेखि दैनिक औसत तापक्रम क्रमशः बढेको (९ दशमलव ७ देखि ११ डिग्री सेल्सियस) र बिहीबार १५ दशमलव ९ डिग्री तापक्रप पुगेको थियो, निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको अनुमान गरिएको छ।’
यसकारण ठूलो मानवीय क्षति हुनबाट जोगियो
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिकाप्रसाद घिमिरेले दिउँसोको समयमा बाढीपहिरो आउँदा ठूलो मानवीय क्षति हुनबाट जोगिएको बताए।
उनका अनुसार त्यहाँका अधिकांश स्थानीय शुक्रबारे हटिया परेकोले हटिया भर्नको लागि करिब पाँच घण्टा पैदल दूरीमा रहेको नाम्चेबजार गएका थिए। त्यहाँ हटिया गएकै कारण पनि ठूलो मानवीय क्षति हुनबाट जोगियो।
‘बाढी आउँदा त्यहाँका विद्यालयमा पनि छुट्टी भइसकेको थियो,हामीले पनि बाढी आएको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय थाम्बुचे, नाम्चेबाट प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटियौँ,सूचना नै जारी पनि भयो,कोही भाग्न सफल भए,यसैले पनि ठूलो मानवीय क्षति भएन,’उनले भने।
ठूलो बाढी आएपछि जिल्लाको सोताङ,थुलुङ गाउँपालिका र जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहनुहुन अनुरोध गरेको थियो। जल तथा मौमस विज्ञान विभागले सोलुखुम्वुको जोरसल्लेदेखि तल दुधकोशीको तटिय क्षेत्रमा हुनेहरूले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन पनि आग्रह गरेको छ।
बाढीले के-केमा क्षति पुर्यायाे ?
प्रहरीका अनुसार ठूलो बाढी आएका कारण भोटेकोशी हुँदै दूधकोशीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ। बाढीले कोशी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको छ।
पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको छ। जसकारण त्यस क्षेत्रका स्थानीयलाई आवतजावतमा समस्या भएको छ। सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ।
बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवतजावत पनि ठप्प भएको छ। इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी नायब निरीक्षक हेमबहादुर कटवालका अनुसार खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवतजावत ठप्प बनेको छ।
फाक्दिङदेखि नाम्चेबीचको दुई ठाउँमा १००/१०० मिटरजति पदमार्ग नदीको कटानमा परेको छ। जसका कारण लुक्लाबाट नाम्चे हुँदै थामे आवतजावत अवरुद्ध भएको छ। विद्युत् गृहमा क्षति पुगेकाले अहिले बिजुली नहुँदा दूरसञ्चार सेवा प्रवाहमा पनि असर परेको छ।
रक्षामन्त्री नेतृत्वको टोली प्रभावित क्षेत्रमा पुग्यो
बाढी प्रभावित क्षेत्रको वस्तुस्थिति बुझ्न र प्रभावित व्यक्तिलाई उद्धार तथा राहत प्रदान गर्न रक्षामन्त्री मानवीर राईको नेतृत्वमा सङ्घीय र प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीसहितको टोली थामेमा पुगेको छ।
रक्षामन्त्रीसहितको टोली प्रभावित क्षेत्रमा आज बिहान प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता गौरव केसीले जानकारी दिए। उनका अनुसार नेपाली सेनाको हेलिकप्टरबाट पहिरोग्रस्त थामे गाउँ पुगिसकेको छ।
विपद् व्यवस्थापन समितिको टोली पनि थामे पुगेको छ। अहिले बाढीपहिरोको स्थितिबारे बुझिरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी घिमिरेले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।