छानबिन गर्न गृहमन्त्रीकाे निर्देशन

|

काठमाडौँ : हिजो (बिहीवार) दिउँसो भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भयो।

बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदै शव नै घिसार्दै ६० मिटर परसम्म लग्यो र टायरले क्षतविक्षत बनायो। घटनालगत्तै लुकेर जाँच गर्दा दुर्घटना भएको भन्दै जम्मा भएको भिड प्रहरीमाथि जाइलाग्यो।

​भिडले ढुंगामुढा गर्‍यो‚ तोडफोड गर्दै नाराबाजी गरे। त्यसपछि प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे पर्‍यो र अश्रुग्यास प्रहार गर्नु पर्‍यो। यस अवस्थासम्म शव सनाखत हुन सकेको थिएन। त्यो वेलासम्म त्यहीअनुसार मिडियाहरूले पनि न्युज कभर गरिरहे। केही छिनपछि भने प्रहरीले शव पहिचान भइसकेको भन्दै मृतकको नाममा ‘सुष्मा नेपाली’ रहेको जानकारी सञ्चारमाध्यमलाई गराए।

प्रहरीले दोलखाको मोलुङ गाउँपालिका वडा नम्बर ४ घर भई काठमाडौंको बागबजार बस्ने २३ वर्षीया सुष्मा नेपाली भएको जानकारी दिएको थियो। तर सञ्चारमाध्यममा न्युज धमाधम छापिएपछि मृत्यु भएको भनिएकी उनै नेपाली आफैँ पछि प्रहरी सम्पर्कमा आइन्। यही कारण प्रहरी प्रशासनको छानबिन र सत्यतामाथि प्रश्न उठेको छ।

यतिमात्रै होइन उक्त दुर्घटनापछि ३ वटा विज्ञप्ति जारी भयो। पहिलोपटक जिल्ला प्रहरी परिसर भक्तपुरले पठाएको विज्ञप्तिमा भनिएको थियो, ‘काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको ना. ६ ख. २१७३ नं.को ट्रकले ऐ.दिशातर्फ जाँदै गरेको बा.४९ प. ८९४४ नं. को स्कुटीलाई ठक्कर दिँदा स्कुटीचालक अन्दाजी २०-२५ वर्षको पुरूषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि ऐ. १६ः४५ बजे टिचिङ अस्पतालमा लगिएको छ।’ 

फेरि केही छिनपछि जिल्ला प्रहरी परिसर भक्तपुरले अर्को विज्ञप्ति जारी गर्दै उमेर बढाएर सञ्चारमाध्यमलाई विज्ञप्ति पठायो। त्यसमा भनिएको थियो, ‘स्कुटीलाई ठक्कर दिँदा स्कुटरचालक अन्दाजी ४०/४५ वर्षको पुरूषको मृत्यु भएकोमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी लाश पोष्टमार्टमको लागि टिचिङ अस्पतालमा लगिएको छ।’ 

हिजो बेलुकासम्म कहिले महिला र कहिले पुरूष भनिएकोमा आज विहानमात्रै बल्ल प्रहरीले मृतकको सही पहिचान खुलाएको हो।

मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भई काठमाडौँको कपन बस्ने ६५ वर्षीय उत्तम कोइराला रहेको पुष्टि भएको हो। सत्यतथ्य छानबिन गरेर जानकारी सार्वजनिक गर्नुपर्ने प्रहरी आफैँ यसरी चुकेपछि यतिखेर प्रहरीको आलोचना र विभिन्न टीकाटिप्पणी भइरहेको छ।

प्रहरी भन्छ- मेरो बहिनी हो भनेपछि गलत पहिचान भयो

हिजो दुर्घटनामा मृत्यु भएका व्यक्तिको विवरण किन छिन छिनमै फरक पर्न गयो भनेर जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीलाई प्रश्न गर्दा उनले एकजना आएर मेरो बहिनी भनेपछि यसरी गलत पहिचान हुन पुगेको जानकारी दिए। 

उनले थाहाखबरसँग भने, ‘हिजो घटना घटेसँगै एकदमै आक्रोशित भिडले समस्या निम्त्यायो, शव क्षतविक्षत भएकाले चिन्न सकिने अवस्थै थिएन। त्यही वेला एक व्यक्तिले आफ्नी बहिनीको मृत्यु भएको हो भन्दै सनाखत गर्न त्यहीँ आए, शरीरको सग्लो भनेको खुट्टामात्रै थियो, त्यही आधारमा हामीले पहिचान गरेका थियौँ तर गलत पर्‍यो।’

उनले त्यसपछि मृतकको साथमा रहेको सवारीसाधन कागजपत्रअनुसार शव पहिचान गर्दा पुरूष रहेको खुलेको जानकारी दिए।

को हुन मृतक कोइराला?

मृतक कोइरालाको पुर्ख्यौली घर ओखलढुंगा भए पनि उनी हाल कपनमा बस्दै आएका थिए। आफन्त डिल्ली काफ्लेका अनुसार उनी जनकपुर चुरोट कारखानाका स्थायी कर्मचारी हुन्। तर सरकारले २०७० असार २० गते जनकपुर चुरोट कारखाना बन्द गर्‍याे।

मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको नेतृत्वको तत्कालीन सरकारले जनकपुर चुरोट कारखानामा कार्यरत कर्मचारीहरूलाई अवकाश दिने निर्णय गरेको थियो।

‘कारखाना बन्द भएपछि उहाँले अर्को कुनै व्यवसाय गरेकाे पाइएकाे छैन तर हिजो सरकारको लापरबाहीले उहाँको ज्यान गयो। उहाँ कहाँ हिँड्नु भएकाे थियाे हाे, त्याे जानकारी छैन, ट्राफिक प्रहरीकै कारणले ज्यान गएको भन्ने छ। त्यसैले ट्रकचालक, त्यहाँ खटिएका ट्राफिक प्रहरीहरूलाई कारबाही हुनुपर्छ,’ उनले माग गरे। 

ट्राफिक​ चेकिङ नगरेको प्रहरीको दाबी

हिजो ट्राफिक प्रहरीले लुकेर ट्राफिक चेकिङ गरेकै कारण स्कुटर दुर्घटना भएको बताइएको छ। त्यसो त सामाजिक सञ्जालमा ट्राफिक प्रहरीहरूको चर्को आलोचना भइरहेको छ।

ज्यानको जोखिम बढेको भन्दै अबदेखि त्यसरी झाडीमा लुकेर चेकिङ गर्नुनहुने माग उठेको छ तर जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी कार्कीको भने चेकिङका कारण उक्त दुर्घटना नभएको दाबी गर्छन्।

‘ट्राफिक प्रहरीहरू थिए तर हिजो दुर्घटना भएको स्कुटरचालकको कहीँ चेकिङ गरिएको थिएन तर बाहिर गलत प्रचार गरियो,’ उनले भने। उक्त घटनाको सिसिटिभी फुटेज सार्वजनिक भएको छ। जहाँ सडक छेउमा तीनजना प्रहरी उभिरहेको देखिन्छ तर उक्त स्कुटरलाई चेकिङ नगरिएको देखिन्छ।

घटना छानबिन गर्न निर्देशन 

उक्त घटनाको छानबिन हुनुपर्ने माग उठेको छ। संघीय संसदको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ट्राफिक प्रहरीको गल्तीले यो घटना घटेको भन्दै छानबिन गर्न माग गरेका छन्।

उनले भने, ‘ट्राफिक प्रहरीको लापरबाहीको हद भयो, यो ट्राफिकको गल्ती हो, राज्य व्यवस्था सुशासनमा बोलाएर कुरा गर्छु।’

उनी ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन्। चौतर्फी यो घटनाको आलोचना भएपछि गृहमन्त्री रमेश लेखकले गम्भीरतापूर्वक छानबिन गर्न नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी)लाई निर्देशन दिएका उनको सचिवालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.