काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आज बिहानै सामाजिक सञ्जालबाट त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न भन्दै गृहमन्त्रीसँग माग गरिन्।
शिक्षामन्त्री विद्या भट्टराईले भनिन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरूमाथि हमला गर्न खोज्नु र प्राध्यापकहरूलाई फोन गर्दै धम्की दिने गरेका कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ। त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु।’
उनको यो मागपछि आजदेखि त्रिविमा सुरक्षा व्यवस्था कडा गरिएको छ। सुरक्षा व्यवस्था भएपछि त्रिविका पदाधिकारीहरू कार्यालय जान थालेका छन्। असुरक्षा बढेको भन्दै उनीहरू केही दिन कार्यालय गएका थिएनन्। त्रिविका सूचना अधिकारी भीमबहादुर श्रेष्ठका अनुसार आजदेखि त्रिभुवन विश्वविद्यालयका रेक्टर र रजिस्ट्रार कीर्तिपुरस्थित आफ्नो कार्यालयमा पुगेका छन्। ‘हिजोभन्दा आज धेरै सुरक्षाकर्मीहरू देखिएका छन्’, उनले भने।
यसकारण सुरक्षा प्रबन्ध गर्नुपर्ने स्थिति आयो
त्रिवि पदाधिकारीहरूलाई दबाब र धम्की आउनुको कारणमा समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषय हो। हाल पनि समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्तिको विषयमा विवाद भइरहेको छ। विभागले कार्यविधिअनुसार वरिष्ठताको आधारमा सिफारिश गरेको थियो।
तर, मानविकी तथा सामाजिक शास्त्र डिन कार्यालयले नामावली उल्ट्याउँदै दोस्रो नम्बरमा रहेका सहप्राध्यापक टीका गौतमलाई सिफारिश गरेपछि विवाद भएको हो। विभागले कार्यविधिअनुसार पासाङ शेर्पा, टीका गौतम र मनहरि ढकालको नाम सिफारिस गरेको थियो।
तर, डिन प्राडा. कुसुम शाक्यले विधि मिच्दै कांग्रेसनिकट गौतमलाई सिफारिस गरेको आरोप लगाएकी छन्। त्रिवि रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले डिन कार्यालयबाट आएको नामावलीअनुसार नै समाजशास्त्र केन्द्रीय विभाग प्रमुख नियुक्ति गर्न दबाब तथा धम्की आइरहेको भन्दै गत शुक्रबार नै शिक्षा मन्त्रालयमा आवश्यक सुरक्षाको व्यवस्था गरिदिन अनुरोध गर्दै पत्र नै पठाएका थिए।
पत्रमा भनिएको छ,‘त्रिभुवन विश्वविद्यालयमा तत्काल देखिएको असहज परिस्थितिका कारणले विश्वविद्यालयका पदाधिकारीहरु तथा केन्द्रीय कार्यालय परिसर, कीर्तिपुरको सुरक्षा व्यवस्था चुनौतीपूर्ण बन्दै गएको र असुरक्षाको महशुस बढ्न गएको हुँदा, नेपाल सरकार गृहमन्त्रालय मार्फत पदाधिकारीहरु उपकुलपतिज्यू, शिक्षाध्यक्षज्यू र रजिष्ट्रारको निजि आवास र केन्द्रीय कार्यालय परिसर कीर्तिपुरको सुरक्षार्थ आवश्यक प्रबन्धका लागि सादर अनुरोध गर्दछु।’ त्यसपछि शिक्षामन्त्री भट्टराईले फैसबुकबाटै उक्त माग गरिन्।
‘यही विवादले त्रिवि पदाधिकारीहरूलाई धम्की आएको हो,’त्रिविका एक उच्च पदाधिकारीले भने। यो विवाद नसल्टिएसम्म त्रिवि पदाधिकारीहरूमाथि जोखिम हुने उनको भनाइ छ।
विश्वविद्यालयमा सधैँ गुण्डागर्दी
त्रिवि विश्वविद्यालयमा सधैँ गुण्डागर्दी भइरहेकै छ। कहिले उपप्राध्यापकहरूलाई आक्रमण त कहिले तालाबन्दी गरिन्छ। यो क्रम राज्यले रोक्न सकेको छैन।
२०७७ साल असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक प्रेम चलाउमाथि नेपाल बैंक लिमिटेडको एटिएमबाट पैसा झिकेर आवासतिर फर्किंदै गर्दा आक्रमण भएको थियो।
त्यसपछि आक्रमणका आरोपी नेविसंघका कार्यकर्ताहरू हरि आचार्य, योगेन्द्र रावललगायतविरूद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो। उक्त मुद्दा सरकारले फिर्ता लिएपछि सह–प्राध्यापक चलाउने आन्दोलन नै गरे।
२०७८ पुस ६ गते चिट चोर्न नदिएको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षक प्रकाश पुडासैनीमाथि पानी खाने जगले प्रहार भयो। उनको टाउकोमा ७ वटा टाँका लगाइएको थियो।
त्यस्तै,२०८० जेठ २९ गते पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष महेश दाहाललाई विद्यार्थीहरूले कालोमोसो दले। दाहाललाई कालोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका अध्यक्ष सरोज पोखरेल पक्राउ परे। विश्वविद्यालयले कालोमोसो दलेको घटनामा संलग्न अध्यक्ष पोखरेलसहित ३ जनाविरूद्ध इलाका प्रहरी कार्यालय इटहरीमा किटानी जाहेरी दिएको थियो।
पार्टीगत अखडाले त्रिविमा समस्या : विद्यानाथ
शिक्षाविद् प्राडा विद्यानाथ कोइराला पछिल्लो समय त्रिवि दक्ष जनशक्ति उत्पादन गर्ने थलो नभई पार्टीगत आन्दोलनको अखडा बनेको बताउँछन्।
उनी भन्छन्,‘पार्टीकै कार्यकर्ता विद्यार्थी छन्, लेक्चरर, प्राध्यापक, सह–प्राध्यापक लगायत कर्मचारी पनि कुनै न कुनै पार्टीमै संलग्न छन्, त्यही भएर त्रिविमा सधैँ लफडा हुने गर्छ,सधैँ ताला लगाएर अरूको पढ्ने अधिकार हनन गर्नु अपराध हो।’
त्रिविलाई कार्यकर्ता पाल्ने ठाउँ बनाइयो : सुमना
पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले अहिलेका शिक्षामन्त्री भट्टराईले सुरक्षा माग गरेपछि उनीमाथि उच्च मनोवलका साथ त्रिवि पदाधिकारीहरूलाई काम गर्ने वातावरण बनाउने कि जनता गुहार्ने भन्दै टिप्पणी गरेकी छन्। उनले विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो सबै गर्ने औजार हो नै राजनैतिक भ्रातृ संगठन रहेको पनि बताइन्।
‘त्रिविमा पनि दुईतिहाइ सरकार छ-एउटा विद्यार्थी सङ्घ र अर्को प्राध्यापक सङ्घ। अनि सबै सङ्घले पाएको छ संघीय सरकारका दुई तिहाइको बहुमतले सरकार बनाएका ठूला दलका आशीर्वाद,त्रिविमा पदाधिकारीले असुरक्षा महसुस गरेको, सरस्वती क्याम्पसमा अध्यापकमाथि भएको कुटपिट, समाजशास्त्री प्राध्यापक प्रेम चलाउने माथि घातक प्रहार गर्ने, राजनैतिक फाइदाका लागि विश्वविद्यालयलाई खाने भाँडो, कार्यकर्ता पाल्ने भाँडो,सबै गर्ने औजार हो-राजनैतिक भातृ संगठन,’उनले भनिन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।