|

गाउँमा बुढापाकाको प्रचलित भनाइ छ : चोर र भूत दिउँसो सुत्छन्, रातमा जाग्छन्। केटाकेटी भेटे आफैँसँग लैजान्छन्।

चोर र भूत कस्ता हुन्छन्? देख्न पाए।  राति राति जाग्ने उनीहरू दिनमा कहाँ जान्छन्? जान्न पाए। डरैडरका बीच बाल्यकालमा यस्तो रहरले डेरा जमाएको थियो।  

गाउँमा गुमबहादुर नामका हजुरबुबा हुनुहुन्थ्यो। झारफुकका लागि प्रख्यात। रक्सी खानुहुन्थ्यो। बाटो पर्दा हाम्रो घर पस्नुहुन्थ्यो। अलि अलि नशा चढेपछि बुढाले केटाकेटी जम्मा गरेर भूतको कथा सुनाइहाल्नु हुन्थ्यो।

सिम्लेको पाखामा राति राति राँको बालेर भूतका बुढाबुढीले नाचगान गर्छन्। लोग्नेको लामा लामा नङ्ग्रा हुन्छ। कपाल जिङ्ग्रिंग परेको हुन्छ। ठूलो दाह्रा हुन्छ। अलिक अल्छी हुन्छ। सुतेर बस्छ। उसलाई ब्युँझाएन भने केही गर्दैन। तर, उसकी बुढी निधिनी अलिक चलाख हुन्छे। दूध खुवाउन तिमीहरू जस्ता बच्चा खोज्दै हिँड्छे। एकान्तमा केटाकेटी भेट्यो कि समातेर दूध खुवाइहाल्छे। अनि बच्चा पक्लक्कै....।

कहानी सुन्दा भूतको एउटा भयानक चित्र दिमागमा कोरिन्थ्यो।  अलि अलि चकचक गरे भूतको साहारा लिएर आमा भन्नुहुन्थ्यो, 'सिम्लेको पाखामा लैजाम?'

आमा राति राति आँगनको डिलमा बसेर परपर पुगेको जून हेरेर टोलाउनुहुन्थ्यो। जरूर केही त पक्कै सोच्नुहुन्थ्यो।

कहिलेकाहीँ गुनगुनाउनु पनि हुन्थ्यो। अहिले बुझ्दा ती गीतमा ज्यादातर विरह जस्ता लाग्ने शब्द हुन्थे।

मसिनो सम्झना छ :

'आफ्नो भन्ने कोही छैन आडमा,

जुन अस्तायो कृस्तिको डाँडामा।'

'आफ्ना परे नाक मुखै थुन्दिनी

को होलार मन बह सुन्दिनी..'

गुनगुन सुन्दै म आमाको काखमा लुट्पुटिन्थेँ।  'खै त भूत नाचेको देखिन्न त?' राति सिम्लेको पाखामा हेर्दै सोध्थेँ।

'पढेर ठूलो मान्छे भए’सी देख्छस् भूत। नाचेको देख्नलाई पढेर फर्स्ट हुनुपर्छ', आमा भन्नुहुन्थ्यो, 'स्कुलबाट भागेर चिप्लेटी खेल्न गइस् भने पछाडिबाट समातेर लैजान्छ। तैँले कहिल्यै भूत देख्न पाउन्नस्।'

भूत नाचेको देख्न पाउँदिनँ कि पीरले स्कुलबाट भागिनँ र पढेर कहिल्यै फर्स्ट हुन पनि सकिनँ। आमाको काखमा बसेर भूतले राँको बालेको हेर्ने रहर केवल रहरमै सीमित भयो।

गाउँमा चोरको पनि बिगबिगी थियो। दिनमा सधैँ शान्त हुने गाउँ रातमा कहिलेकाहीँ अशान्त हुन्थ्यो।

गाउँलेहरू रातमा टर्च लाइट बाल्दै चोर लखेटेको आवाज सुन्दा म डराउँथेँ।

भोलिपल्ट गाउँले जम्मा हुन्थे। कोही भन्थे, ‘के जमाना आयो यस्तो आफ्नै घर पनि सुरक्षित नहुने। कोही भन्थे, ‘कली बौलाएको हो।'

कोही भन्थे, ‘अब गाउँमा अलिक चनाखो हुनुपर्‍यो। नयाँ मान्छेको हिसाब राख्नुपर्छ।'

आफ्नो घरबाट चोरीएको सामानको एक एक हिसाब गर्थे घर मालिक।

टिभी, तामाका ताउला,थाल, गाग्री, मुधुसको पैसा आदि इत्यादि।

यी सामान त हाम्रो घरमा छैनन्, पक्कै हाम्रोमा चोर आउँदैनन् म भित्रभित्रै खुशी हुन्थेँ।

ठूला मान्छे भएका ठाउँमा साना मान्छेको गन्ती थिएन। काकाहरू चोरको रिस हामीलाई पोख्दै भन्थे, ‘केटाकेटी जान्ने भएर किन आउनुपर्‍यो यहाँ? स्कुल जानुपर्दैन।'

ठूला मान्छेसँग पनि नडराउने कस्ता खालका चोरहरू होलान्? हामी कुटाइ भेट्ने डरले यस्तै तानाबाना बुन्दै बाटो लाग्थ्यौँ।

'कतै भूतले त फोरेन घर?', मनमनै आफ्नै तर्कना खेल्थेँ। एकान्तमा भेट भइहाल्यो भने के गर्ने होला? स्कुल जाने बाटो अलिक जंगल र एकान्तमा पर्थ्यो।  उज्यालोमा त्यो बाटो हिँड्दा पनि पछाडि कोही आउँछ कि म चनाखो हुन्थेँ।

तर, झुक्केर कुनै दिन घरमै चोर आयो भने? एक किसिमको डरले पिरल्थ्यो।  समसाँझै नहुँदै घरको ढोका लगाइहाल्थेँ।

राती जब चोर आएको खबर फैलन्थ्यो, आमासँग डिलमा बसेर ती आवाज सुन्थेँ। आमाको फेरो समात्दै आँखा मात्र देखिने गरेर मुख छोप्थेँ। ताकी अँध्यारोमा पनि चोरले मलाई नदेखोस्।

गाउँको हल्लाखल्ला शान्त भएपछि मनमा हुण्डरी सुरु हुन्थ्यो। आत्मा काम्थ्यो, काम ज्वरोले पसिनै पसिना हुन्थेँ। ऐँठनले निद्रा भाग्थ्यो। आमासँग सुत्न पाए पनि हुने लोभ लाग्थ्यो।

 'किन डराउँछ यो? तेरो घरमा चोर-सोर आउँदैन।'

चोर किन आउँदैन हाम्रो घर? कसरी थाहा भो आमालाई?

पल्लो घरको हजुरआमा भाका हाल्नुहुन्थ्यो, 'चोरहरू दिउँसो केटाकेटीलाई घरमा कोको छन् भनेर बुझ्छन्। अनि राति राति घर फोर्न आउँछन्।'

चोर र भूत उस्तै हुन्छन्, घर फोर्छन्, उनीहरूलाई कसैले देखे मार्छन् अरे। अरे अरेको भरमा स्कुल जाने बेला कुशुमसँग चोर र भूतबारे हैसियत अनुसारको छलफल हुन्थ्यो।

चोर र भूतसँग  डराउँदैन थियो ऊ।

ऊ फूर्ति लगाउँदै भन्थ्यो, ' घरमा भूत र चोर आए बाबाले खुकुरीले छप्काइदिनुहुन्छ। मलाई के को डर?' 

‘तेरा घरमा त बा छैनन्, चोर आए के गर्छस्?’ ऊ सोध्थ्यो।

म झन् डरले कालो निलो हुन्थे। स्कुलबाट फर्केपछि आमालाई सोध्थेँ, ‘हाम्रा बाबा खै?'

'तेरो बाउ विदेश गएका छन्', आमाको जवाफमा झर्काइ सुनिन्थ्यो।

विडम्बना विदेश गएका बाबा कहिल्यै फर्किएनन्।

गाउँमा कोही नयाँ मान्छेहरूले कहिलेकाहीँ मायाले घरमा कोको छन् भनेर सोधे बाबा हुनुहुन्छ भन्दै ढाट्थेँ।

पखेटा लागेको चरा सधैँ गुँडमा बस्न पाउँदैन। नयाँ जीवनको खोजीमा उडान भर्छ। गाउँका धेरै युवामध्ये कोही शहर पसे। कोही परदेश। त्यही भिडमा एक अंश बनेर म शहरमा मिस्सिएँ।   शहरमा त झन् विचित्रका चोर भेटिन थाले।  आँखै अगाडि बसमा मोबाइल उठाउने पकेटमारदेखि रातमा पसलका सटर फोर्नेसम्म।

कहिलेकाहीँ आफ्नै टोलका ठूला ठूला पसलको सटर फोरेको र सामान पैसा लुटिएको खबर फैलिन्छ।

टोलका भलादमी जम्मा हुन्छन्।  पसल मालिक चिउँडोमा हात राखेर खाली पसलमा नजर डुलाउँछन्। बडो विरक्त पारामा गुमेको सम्पत्तिको हिसाब गर्छन्।

लामो सुस्केरा हाल्दै बोल्छन्, ‘वर्षौँको मिहिनेत एक रातमै चौपट भयो।' बैंकको किस्ता, पसलको भाडा, बच्चाको पढाई खर्च, औषधोपचार अब कसरी मिलाउने भन्ने कुराको सुनामी  आउँदो हो मनमा।   

छिमेकीहरू उनलाई सम्झाइबुझाइ गर्छन्। र पनि पसल मालिक आश्वस्त हुन सक्दैनन्।​ 

घरबेटी बा राति गेटमा ताल्चा लगाएर सुत्न आदेश दिनुहुन्छ। चोरको लम्बेतान सम्झनाले खाटमा पल्टिन्छु।

बाल्यकालमा कसका घरमा आउँथे चोर? सम्झन थाल्छु। मुखिया। जमदार बा। गुरूङ साइला। जसका आम्दानीका भरपर्दा स्रोत थिए। बैंकमा पैसा जम्मा गर्ने जमाना कमै थियो। हरेकका घरमा मुधुस सुरक्षित स्थान थियो पैसाका लागि।  मैले एकाधपटक हजुरबुबाले मुधुसमा पैसा राखेको देखेको थिएँ।

राम्ररी पढोस् भनेर आमाले भूतको कथा हालेको बुझ्न थालेँ। तेरो घरमा कोही चोर-सोर आउँदैन भन्ने वैराग्य स्वरको कारण बुझेँ। अमिलो हुन्छ मन।

आफ्नै कमाइले नपुग्ने समयमा अर्काको पसिनामा धाईं हाल्दा कति सन्तुष्ट होलान् चोरहरू? शहरका गल्ली गल्लीमा सीसी क्यामेरा हुँदा पनि चोरलाई यत्रो आँट कसरी आउँछ? कुन जिम्मेवारीले थिचेर उनीहरू अर्काको जिन्दगी तहसनहस बनाउन लागिपर्छन्? मन्थन गर्छु, आफैँसँग।

म कल्पिन्छु :

समयको वेगसँगै अब त सिम्ले पाखाका भूतका लोग्नेस्वास्नी मरे होलान्। मेरा बाल्यकालका चोरहरू चोरीको कर्मबाट अलग्गिसके होलान्। सही र गलतको मझदारबाट आफूलाई समाजको प्रतिष्ठित अनुहारमा परिणत गरे पनि होलान्।

अहिलेका चोर पनि कुनै दिन आफ्नो अपराध स्वीकार गरेर नयाँ जीवनको रेखा कोर्लान्। जीवनको भागदौडबाट एकछिन विश्राम लिएर उनीहरू अतीततिर फर्किँदा हुन्।

गाउँ र बजारमा भएका चोरीका घटनाका समाचार पढ्दा हुन् आफ्नै मोबाइलमा। के सोच्दा हुन् तेतिबेला? अलि अलि लाज मान्दा हुन्? या 'हमारे गुजरे हुए कल की बदसुरत परछाई है ये’ डायलग सम्झिँदै मोबाइल स्क्रोल गर्दा हुन्?

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.