|

काठमाडौँ : सरकारले बंगलादेशमा अध्ययनरत विद्यार्थीहरूलाई स्वदेशमै फर्काई पठनपाठन तथा नि:शुल्क इन्टर्नसिप गराउने वा नगराउनेबारे निर्णय गर्न ढिलाइ गरेको छ। एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले पठनपाठन तथा नि:शुल्क इन्टर्नसिप गराउन अनुमति मागे पनि सरकारले हालसम्म केही निर्णय लिएको छैन।

एसोसियसन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले केही समयअघि विज्ञप्ति जारी गर्दै बंगलादेशमा अध्ययनरत विद्यार्थीलाई स्वदेशमै फर्काई पठनपाठन तथा नि:शुल्क इन्टर्नसिप गराउन सक्षम एवं प्रतिबद्ध रहेको र यसका लागि सरकारसँग अनुमति मागेको थियो।

‘बंगलादेशमा उत्पन्न समस्याप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, यसबाट भएको जनधनको नोक्सानी प्रति हाम्रो समवेदना छ। यो विषम परिस्थितिमा बंगलादेशमा अध्ययनरत हाम्रा छात्रछात्राको पढाइप्रति हामी चिन्तित छौँ। तर हाम्रो देशमा यस्ता घटनालाई खासै महत्त्वका साथ हेरिँदैन, राज्य र
सम्बन्धित निकायबाट अनुमति प्रदान गर्न मिल्ने स्थिति रहेमा सबै नेपाली मेडिकल कलेजहरूले बंगलादेशमा अध्ययनरत हाम्रा छात्रछात्रालाई स्वदेशमै फर्काई पठनपाठन तथा नि:शुल्क इन्टर्नसिप गराउन सक्षम एवं प्रतिबद्ध रहेको जनाउँदछौं’, विज्ञप्तिमा उल्लेख छ। 

त्यसैगरी बंगलादेशमा अध्ययनरत नेपाली मेडिकल विद्यार्थीहरूले गत साउन ३२ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर विभिन्न ६ वटा बुँदामा सम्बोधनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका थिए।

बंगलादेशमा अध्ययनरत मेडिकल विद्यार्थीको स्वदेशमा इन्टर्नसिपको व्यवस्थाकाे मागपछि शिक्षा मन्त्रालयले इन्टर्नसिप सम्बन्धित विश्वविद्यालयको स्वीकृतिमा नेपालमै गर्ने, गराउने वा अन्य विकल्पको व्यवस्था गर्ने विषयमा नौ सदस्यीय अध्ययन समिति गठन गरेकाे थियाे।   

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार यो विषयमा छलफल भइरहेको छ तर निर्णय भने केही नभएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सूचना अधिकारी शंकर अधिकारीले जानकारी दिए।

‘यो विषयमा दुईपटक बैठक बसेको छ तर निर्णय केही अझै भएको छैन’, उनले भने। बंगलादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोध चर्किएपछि कतिपय नेपाली विद्यार्थीहरू सरकारले नेपाल फर्काएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.