प्रहरीलाई जनताका काम गर्न निर्देशन
प्रहरीलाई जनताका काम गर्न निर्देशन
काठमाडौं : गृहमन्त्री रमेश लेखकले जनताको मुद्दालाई प्राथमिकता राख्न नेपाल प्रहरीलाई निर्देशन गरेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले जनताको मुद्दालाई प्राथमिकतामा राख्दा प्रहरीको मुद्दा पनि सँगै समावेश हुने बताए।
“प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु। जनताको मुद्दालाई प्राथमिकता दिनुपर्यो। जनताको मुद्दालाई प्राथमिकता दिँदा आफ्नो मुद्दा पनि आइहाल्छ,” उनले भने।
सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजनासहित काम गरिरहेको गृहमन्त्री लेखकले जानकारी दिए। नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको छ र जिल्ला प्रहरी परिसर काठमाडौँको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउनेमा विश्वस्त रहेको उनले उल्लेख गरे। “यो भवनले नेपाल प्रहरीले गर्ने सेवामा ठूलो सहयोग गर्नेछ। जनताले उचित सेवा पाउन सकून्। सरकारले प्रदान गर्ने सेवा मध्ये प्रहरीले प्रदान गर्ने महत्वपूर्ण सेवा हो,” गृहमन्त्री लेखक भने।
उनले कांग्रेस र एमाले मिलेर सरकार बन्नुको उद्देश्य प्रस्ट पारे। “दुई ठूला दल मिलेर सरकार बनेको छ। अहिलेको सरकार हामी केही मान्छे मन्त्री बनिहालौँ भनेर बनेको होइन। विसं २०७९ को चुनावपछिको समय सरकार बनाउने र भत्काउनेमै गयो। आर्थिक, राजनीतिक र विकास निर्माणका लागि हामी दुई ठूला दल मिल्यौँ,” उनले भने, “यो सरकारको उद्देश्य भनेको सरकारको स्थायित्व, आर्थिक विकास, दिगो शान्ति, सुशासन र समावेशी चरित्रको राज्य व्यवस्था स्थापित गराउने हो।” कांग्रेस र एमाले मिल्दा आत्मविश्वास वृद्धि भएको गृहमन्त्री लेखकले जिकिर गरे।
“यसको उदाहरण १८ वर्षसम्म अल्झिएको सङ्क्रमणकालीन न्यायको विषय निष्कर्षमा पुगेको छ। हामी नेता उही हौँ। छलफल हामीबीच भएको थियो। तर दुई दल मिल्दा बढेको आत्मविश्वासले हामी सहमतिमा पुग्न सक्यौँ। ऊर्जाशील प्रधानमन्त्री हुनुहुन्छ। उहाँको नेतृत्वमा हामी केही गरी छाड्नेछौँ,” उनले भने।
गृह सचिव एकनारायण अर्यालले नेपाल प्रहरीलाई समानुकल, गतिशील, व्यावसायिक, सबल र सक्षम बनाउने नेपाल सरकारको नीति अनुरुप नै नयाँ भवनलाई महत्वपूर्ण उपलब्धीका रुपमा लिन सकिने बताए। यसबाट नेपाल प्रहरीको मनोबल बढ्नुका साथै सेवाग्राहीलाई समेत सहज हुने उनको भनाइ थियो।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरले भविष्यमा प्रहरीका अन्य भौतिक संरचना पनि विस्तारै व्यवस्थित गर्दै लैजाने बताए। व्यवस्थित संरचनाका कारण प्रहरीले आमसेवाग्राहीलाई सहज र व्यवस्थित रुपमा सेवा दिन मद्दत पुग्ने उनले उल्लेख गरे।
तपाईंको ईमेल गोप्य राखिनेछ ।