काठमाडौँ : साउन ३१ गते दिउँसो गठ्ठाघरमा घटेको घटनापछि सर्वसाधारणले ट्राफिक प्रहरीको ‘सवारीसाधन चेकिङ’ शैलीमाथि प्रश्न उठाएका छन्। ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा गठ्ठाघरमा उक्त घटना घटेको भन्दै जनआक्रोश बढ्यो।
त्यो हालसम्म पनि कायमै छ। साउन ३१ गते दिउँसो गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नंको ट्रकले बा ३९ प ८९४४ नं को स्कुटरलाई ठक्कर दिँदा स्कुटरचालक ओखलढुङ्गा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो।
ट्रकले ठक्कर दिँएर शव नै घिसार्दै ६० मिटर परसम्म लग्यो र टायरले क्षतविक्षत बनायो। घटनालगत्तै जम्मा भएको आक्रोशित भिड प्रहरीमाथि जाइलाग्यो। भिडले ढुंगामुढा गर्याे‚ तोडफोड गर्दै नाराबाजी गर्यो। प्रहरीलाई भीड नियन्त्रण गर्न हम्मेहम्मे परेपछि अश्रुग्यास नै प्रहार गर्नु परेको थियो।
सार्वजनिक भएको सीसीटीभी फुटेजमा पनि ट्रकले स्कुटरलाई लतारेको देखिन्छ। नजिकै केही प्रहरी उभिरहेको देखिन्छ। त्यसैले पनि जनआक्रोश बढेको देखिन्छ।
उक्त घटनापछि केही व्यक्तिहरूले झाडीमा लुकेर चेकिङ गरेको तस्वीर सार्वजनिक गर्दै त्यसरी चेकिङ नगर्न र व्यवस्थित ढंगले तत्काल सवारी व्यवस्थापन गर्न माग उठाएका छन्। अहिले पनि सामाजिक सञ्जालमा ट्राफिक प्रहरीहरूकै चर्को आलोचना गर्दै ती कार्य तत्काल रोक्न माग गरिरहेको देखिन्छ।
सामाजिक सञ्जालमा रामशरण डोटेल भन्छन्, ‘झाडीमा लुकेर राडार गन तेर्स्याइन्छ अनि सडकमा फुत्त निस्कन्छ, सबैले देख्ने ठाउँमा बसेर स्पिड चेक गर्न मिल्दैन? गठ्ठाघर दुर्घटना ट्राफिकको पूरै गैरजिम्मेवारीपनको पराकाष्ठा हो।’
सूर्यप्रसाद काफ्ले पनि अस्तव्यस्त ट्राफिक चेकिङका कारण यस्ता घटना निम्तिएको बताउँछन्। उनले पनि सामाजिक सञ्जालमा उल्लेख गरेका छन्, ‘कहिलेकाहीँ बीच सडकमा उभिएर सिठ्ठी बजाइरहेको ट्राफिक प्रहरीलाई गुडिरहेको कुनै सवारीसाधनको अचानक ब्रेक फेल भै कुल्चियो भने यस्तो चिन्ता लागिरहन्छ बाटोमा हिँड्दा, कस्तो अचम्मको देशमा बाँचेका छौँ हामी, कुनै सिस्टम छैन कुनै व्यवस्थापन छैन, छ त केवल भ्रष्टहरूको शासन मात्रै छ, सुधारौँ यी सबै चिजहरूलाई, जनताको जीउधनको त कमसेकम सुरक्षा गरौँ।’
उनीहरूका अनुसार हाल पनि चक्रपथ सडक खण्डमा लुकेर चेकिङ हुन्छ। आकाशेपुलमा समेत उभिएर चेकिङ गर्ने गरेका छन्। यसले गठाघरजस्तै गरी पुनः दुर्घटना निम्तिने उनीहरूको चिन्ता छ।
चेकिङ रोक्न संसदमै उठ्यो माग
भक्तपुरको गट्ठाघरमा घटेको घटना संसदमा प्रवेश गरेको छ। भदौ ६ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुशीला थिङले ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा उक्त दुर्घटना घटेको भन्दै यसरी लुकेर चेकिङ गर्न बन्द गर्नुपर्ने माग गरिन्।
उनले भनिन्, ‘साउन ३१ गते भक्तपुरको गठ्ठाघरमा ट्राफिकले स्पिड चेक गर्ने क्रममा एउटा स्कुटरलाई रोकी चेक गर्दा एक्कासी मालवाहक ट्रकले ठक्कर दिँदा स्कुटरचालक उत्तम कोइरालाको घटनास्थलमै ज्यान गयो, मृतकप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै र घटना घट्नुको कारण ट्राफिक प्रहरीले लुकिछिपी स्पिड चेक गर्दा घटना घटेको सुन्न आएको हुँदा अबदेखि ट्राफिक प्रहरीले त्यसरी लुकिछिपी चेक नगर्न र यो कार्यलाई रोक्न सरकारको ध्यानाकर्षण गर्दछु।’
उपत्यका ट्राफिक प्रहरीको दावी : लुकेर चेकिङ गरिएकै छैन
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्का कहिलै पनि ट्राफिक प्रहरीहरूले लुकेर सवारीसाधनको स्पिड चेक नगरिएको दावी गर्छन्। देखिने ठाउँ अर्थात् बीच सडकमै बसेर राडार गनबाट गति मापन गरिएको उनको भनाइ छ।
‘तीव्र गतिका कारण सवारीसाधन दुर्घटना नहोस् भनेर हामीले राडार गनबाट गति मापन गरिरहेका छौँ, तर लुकेर गरेका छैनौँ, सवारीचालकहरूले देख्नेगरि चेकिङ हुन्छ, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लुकेर चेकिङ गर्नू भनेर निर्देशन दिएको पनि छैन,’ उनले थाहाखबरसँग भने।
झाडीमा लुकेर राडार गनबाट गति मापन भइरहेको तस्वीर सामाजिक सञ्जालमा देखिन्छ नि भन्ने प्रश्नमा भने उनले घामको प्रकाशबाट बच्न त्यहाँ ट्राफिक प्रहरी बसेको बताए।
उनले भने, ‘कुनै वेला घामको प्रकाशले राडार गनबाट गति हेर्न मिल्दैन र सकिँदैन, त्यस्तो वेला चाहीँ रूखबिरूवाको छायाँमा बसेर चेकिङ गरिएको हुन्छ तर लुकेर चेकिङ गरेको भनेर बाहिर अपवाह फैलाइयो।’
त्यसैले पनि राडार गनबाट गति मापन गर्न राेक्नुपर्ने आवश्यकता नदेखिएको उनकाे भनाइ छ। यसबाट सवारीसाधन दुर्घटना हुने भन्दा पनि त्यस्ता दुर्घटना हुनबाट राेकिने उनले बताए। गठ्ठाघरको दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको पनि उनको दावी छ।
उपत्यका प्रहरी कार्यालयका एसपी प्रदीप केसीको नेतृत्वमा साउन ३२ गते छानबिन समिति बनाएर अनुसन्धान थालिएको थियो तर उक्त समितिले गठ्ठाघर दुर्घटनामा ट्राफिक प्रहरीको गल्ती नदेखिएको निष्कर्ष निकालेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले पनि साउन ३२ गते ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
उक्त समितिले हाल अनुसन्धान गरिरहेको समितिका संयोजक डोलेन्द्र निरौलाले जानकारी दिए। ‘हामी छानबिनको अन्त्यतिर आइपुगेका छौँ, छिटो सक्नेगरी काम भइरहेको छ,’ उनले भने।
कार्यालयका अनुसार उपत्यकामा दैनिक ४० स्थानमा भन्दा बढी ठाउँमा ‘चेकप्वाइन्ट’ राखिन्छ। दैनिक राडार गनबाट चक्रपथ रोडको बल्खुलगायत ७ ठाउँमा चेकिङ हुन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।