|

काठमाडौँ :  अहिले सर्वत्र चर्चाको विषय बनेका छन् प्रकाश तामाङ अर्थात् ‘पाका’।  २०४७ साल अर्थात् ३४ वर्षअघि काठमाडौँबाट हराएर गोरखाको चुमभ्याली पुगेका  बालकको अन्तत परिवारसँग मिलन भएको छ।

तीन दिन अगाडि ‘हेर्ने कथा’बाट प्रसारित ‘हराएका वर्षहरू’लाई यो समाचार निर्माण गर्ने समयसम्म ४० लाख पटक हेरिएको छ।​बचपनमा काले उनको नाम थियो। अहिले प्रकाश।  हिमालका साथीभाइ पाका भन्थे।

कथा खोज्दै जाँदा प्रकाश भेटिएका हुन्। स्मृतिको पानाबाट हराइसकेका आफ्नो अतित जब ‘हेर्ने कथा’ले कोट्यायो,तब उनी विस्तारै खुले। आजसम्म उनलाई कसैले नसोधेको प्रश्न प्रस्तोता विद्या चापागाईंले गरिन्, ‘तपाईंको घर कहाँ हो?

न घरको ठेगाना याद छ  न त आमाबुवाको अनुहार। बुवालाई ‘झाँक्री बा’ भनेर बोलाउने उनलाई झिनो सम्झना थियो।  झापा भन्ने ठाउँमा घर छ। रिठ्ठे भन्ने भाइ छ।

‘आफ्नो घर जान मन लाग्दैन?’, अर्को प्रश्नमा केही अकमकिदै उनले भने, 'लाग्छ नी!' त्यसपछि सुरू भयो मिलन यात्रा। यसरी चुमभ्यालीबाट सुरू भएको यात्रा झापा पुग्यो तर बुवाआमा बसाइँसराइ गरेर भोजपुर पुगेका रहेछन्। अनि यात्रा लम्बियो।​​

१ घण्टा दश मिनेटको उक्त भिडियोमा ३७ हजार प्रतिक्रिया आएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले पनि फेसबुकबाट प्रतिक्रिया दिए। भेट्ने वाचा गरेका छन्।

‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ। चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ।  हेर्ने कथाको पछिल्लो एपिसोड 'हराएका वर्षहरू' हेरेँ।  प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो। सोचेँ- यस्ता कति प्रकाशहरू वर्षौंदेखि हराएका होलान्! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु’, ओलीले भनेका  छन्।

भिडियो हेर्ने धेरै दर्शकले प्रकाश अहिले कहाँ छन् भन्ने जान्न चाहेका छन्। उक्त चासोलाई सम्मान गर्दै ‘हेर्ने कथा’ले आफ्नो अफिसियल पेजबाट प्रकाश दशैँ तिहारमा घर आएको जनाएको छ।

प्रकाशको भनाइ उद्धृत गर्दै पेजमा भनिएको छ, ‘म दशैंँ मान्न पोहोर गाउँ गएँ। गाउँ जाने बेलामा साहुले खर्च दिएनन्। यत्रो वर्ष काम गरेको पैसाको हिसाब छैन। साहुका विदेशमा भएका छोराले १ लाख पठाइदिए अनि काठमाडौँमा भएका छोराले ६० हजार। १ लाख ६० हजार बोकेर म नफर्किने गरी भोजपुर गएँ।‘

घरमा नागरिकता बनाउन खोजे पनि जन्मदर्ता र बसाइँसराइ चाहिन्छ भनेर नपाएको उनले गुनासो गरेका छन्। पेजमा लेखिएको छ, ‘ खै अब के गर्ने हो। के हुने हो मलाई पनि थाहा छैन। बाउले फोन गरेर ‘गोरुले दुःख दियो छिटो आइज’ भन्छ। दशैँमा फेरि भोजपुर जाने सोचेको छु।‘

उनले नागरिकता नपाएको विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गम्भीर रूपमा लिएका छन्। प्रधानमन्त्री ओलीले बुधवार आफूले प्रस्तोता विद्या चापागाईँमार्फत प्रकाश तामाङलाई सम्पर्क गरेको जानकारी दिएका छन्। ओलीले प्रकाशको नागरिकता छिटो बनाउन आफूले गृहसचिव एकनारायण अर्यालमार्फत सहजीकरण गरेको बताए।

‘प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो। नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ। नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो। उहाँले प्रकाशलाई दुई/चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ’, प्रधानमन्त्री ओलीले भनेका छन्।

संविधानले दिएको नागरिक अधिकार नागरिकले सजिलै पाउनु पर्ने विषयमा देशकै प्रधानमन्त्री लाग्नुपर्ने यो अवस्थामाथि विभिन्न टिकाटिप्पणी सुरू भएको छ। कतिपयले प्रधानमन्त्रीको यो कदमलाई सह्रानीय भनिरहेका छन् भने  सिनेमा नबनेका नागरिकको अधिकार र न्यायको सवाल के हुन्छ? भन्ने विषय पनि उठिरहेका छन्।

पूर्वप्रशासक उमेश मैनालीले नेतृत्वले जनतालाई माया गर्नु राम्रो कुरा भए पनि संविधानले हरेक नागरिकलाई आफ्नो अधिकार सुनिश्चित गर्दागर्दै पनि नागरिकलाई विचरा बनाउन नहुने जिकिर गर्छन्।

 ‘राजनीतिक नेतृत्वले जनतालाई छिटोभन्दा छिटो तथा सर्वसुलभ सेवा दिनका निम्ति नीतिगत मार्गदर्शनको अभ्यास गर्नुपर्छ’, उनी थप्छन्, ‘नीतिगत मार्गको अभ्यास गर्न नसक्ने अनि लोकप्रिय बन्न हरेक काममा नेतृत्वले नै आदेश दिने प्रवृत्ति गलत छ।‘

आदेशात्मक प्रवृत्तिले हाम्रा निकायको दक्षतामा  प्रश्न उठ्ने उनले बताए। 'यदि नियम कानुन र प्रक्रिया नहेरी आदेशले नै सबै काम हुने हो भने हाम्रा सरकारी निकाय खारेज गरिदिए भइहाल्यो नि', उनले भने। 

कुनै कथाका पात्र भाइरल भएपछि बक्सिसका रूपमा दिने चिज नागरिकता नभएको टिप्पणी गर्छिन् लेखक सरला गौतम।  सार्वभौम नागरिकलाई राज्य र राज्य प्रमुखले विचराको पात्र बनाउन नमिल्ने भन्दै नागरिकले न्यूनतम अधिकार राज्यबाट निर्देशित नभइ सहज रुपमा साधारण प्रक्रियाबाट पाउनुपर्ने उनको टिप्पणी छ।

‘कुनै पनि नागरिकलाई राज्य प्रमुखले स्नेह देखाउनु राम्रो कुरा हो’, उनी भन्छिन्, ‘कस्तो राज्य बनाउने - प्रश्न, आलोचना, दृष्‍टि र दृष्‍टिकोणसहित अधिकार सम्पन्न या दयामाया र भावुकताको आहालमा डुबेको? नागरिकको आँसु भाइरल बनेपछि मात्र अधिकार बक्सिस दिने या  सार्वभौम नागरिकले सहजै अधिकार अभ्यास गर्न पाउने?’

यसै  पनि कमजोर शासन प्रणालीको कारण नेपालको सामाजिक राजनीतिक तथा प्रशासनिक क्षेत्रलाई  लिएर जनतामा निराशाजनक अभिव्यक्ति दिने गरेका छन्।  कतिपयले नागरिक राजनीति दलका नेता र प्रशासनको नाम सुन्दै पनि नाक खुम्च्याउँछन्।  ढिलासुस्ती, पहुँचलाई प्राथमिकता जस्ता विषयमा नागरिक असन्तोष व्यक्त गर्छन्। 

'जन्म दर्ता नभएकै कारण नागरिकता नपाउने स्थिति नेपालमा थुप्रै मानिसको छ', सामाजिक सञ्जालमा खविन लुइँटेल टिप्पणी गर्छन्,‘ पञ्जिकाधिकारीहरू आफैँ निर्णय गर्न डराउँछन्। यसतर्फ गम्भीर भएर सोच्न जरूरी छ। नेपालीले नपाउने नागरिकता कसका लागि?’

 हामीले बनाएका कानून कार्यान्वायन गर्न कर्मचारी डराउनुपर्ने स्थिति नआउन प्रधानमन्त्रीले केही पहल गर्नेमा उनी आशावादी देखिन्छन्।

एउटा प्रशासनले गर्नुपर्ने काम प्रधानमन्त्रीले प्रशासनमा भनसुन गरेर बुवाआमा भएको नेपाली नागरिकले नागरिकता प्राप्त गर्नुपर्ने यो कस्तो देश भन्दै मधु अधिकारी प्रश्न गर्छन्, ‘देशका प्रमुख व्यक्ति नै एउटा नागरिकता बनाउन खटिनुपर्ने र ठूलो काम गरे जस्तो देखिनुपर्ने’, उनी भन्छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.