सधैँ त्रासमा सर्वसाधारण
काठमाडौं : गोकर्ण माइती नेपालका अर्जुन श्रेष्ठ दैनिक हिँडेर माकलबारी आवतजावत गर्छन्। तर, उनको मनमा सधैँ डर हुन्छ, ‘कतै पर्खाल भत्किएर थिचिने पाे हो कि!’ गोकर्णेश्वर नगरपालिका वडा-४ स्थित नेपाली सेना श्री नम्बर १ विपद् व्यवस्थापन गण गोकर्णको पर्खाल कतै भत्किएको छ त कतै भत्किने क्रममा।
त्यसो त त्यो बाटो हुँदै आवतजावत गर्ने जो कोही जोखिम मोलेर हिँडिरहेका छन्। समयमा मर्मत गर्नुपर्ने बेला लेखेर पर्खालमा टाँसिएको छ,‘पर्खाल भत्किन सक्छ, सावधान!’
संवाददातासँग बुधबार भेटिएका श्रेष्ठका अनुसार यो धराप पर्खाल वर्षौँदेखि जस्तातस्तै छ। वेला-वेला भत्किन्छ। बाटो अवरूद्ध हुन्छ। तर मर्मत हुँदैन। ‘अहिले पानी पर्दैछ। कुन दिन फेरि भत्किन बेर छैन’, भत्किएको पर्खाल देखाउँदै उनी भन्छन्, ‘यो पर्खाल भत्किएर कसैलाई केही भइहाले को जिम्मेवार?’
श्री नम्बर १ विपद् व्यवस्थापन गण गोकर्णको भत्किएकाे पर्खाल
सोही ठाउँमा भेटिएकी श्रीजना अधिकारीले पनि समयमा पर्खाल मर्मत नहुँदा जोखिम मोलेर हिँड्नु परेको सुनाइन्। ‘पर्खाल बनाउनु छैन,सूचना टाँसेर बस्छन्’, उनले भनिन्, ‘धेरै जोखिम बढ्यो। तत्कालमर्मत हुनुपर्छ।’
श्री नम्बर १ विपद् व्यवस्थापन गण गोकर्णको पर्खाल मात्रै होइनन्। काठमाडौं उपत्यकाका चावहिल लगायत अन्य ठाउँका पर्खाल पनि धरापमा छन्, जसका कारण सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय थापाथलीको क्यान्टिन अगाडिको पर्खाल पनि भत्किएको छ। तर हालसम्म मर्मत हुन सकेको छैन। थापाथली सडक फुटपाथ हुँदै हिँडडुल गर्ने पैदल यात्रु जोखिममा छन्।
सिंहदरबारमा पर्खाल भत्किँदा...
समयमा पर्खाल मर्मत नहुँदा सर्वसाधारण घाइतेसमेत भएका घटना छन्। २०७६ असारमा निरन्तरको वर्षाका कारण सिंहदरबारको पूर्वी गेट नजिकैको पर्खाल भत्किँदा एक जना घाइते भएका थिए।
करिब ३० मिटर जति भत्किएको पर्खाल भाग सडक पेटीमै खसेको थियो। त्यसपछि त्यहाँ मर्मत गरियो। अन्य ठाउँको जोखिम पर्खाल पनि तत्काल मर्मत नभए सिंहदरबारकै जस्तो दुर्घटना घट्ने निश्चित छ।
ट्रष्टको कार्यालय भन्छ : वडा र स्थानीय आए काम भइहाल्छ
श्री नम्बर १ विपद् व्यवस्थापन गणका मेजर धिरज पण्डितले पर्खाल मर्मतको जिम्मेवारी आफूहरूको नभएको बताए। उनले उक्त पर्खाल मर्मत नेपाल ट्रष्टको कार्यालयले गर्नुपर्ने बताए। ‘यो पर्खाल निर्माण गर्ने जिम्मेवारी हाम्रो होइन। नेपाल ट्रष्टले गर्ने हो’, उनी भन्छन्, ‘हामी सुरक्षाको लागि बसेका हौँ।’
गोकर्णेश्वर नगरपालिका वडा-४ का वडाअध्यक्ष जयराम महतले पर्खाल मर्मतका लागि ट्रष्टको कार्यालयलाई पत्राचार गरे पनि जवाफ नआएको जानकारी दिए।
‘हामीले ६/७ महिनाअघि नै मर्मतका लागि पत्राचार गरेका थियौँ। तर जवाफ आएको छैन,’उनले भने। उनका अनुसार बाटो चौडा बनाएर सवारीसाधनका लागि पनि ‘वान वे’ बनाउनुपर्ने स्थानीयको माग छ।
त्यही भएर पनि अहिले छलफल भइरहेको उनको भनाइ छ। ‘पर्खाल निकै धराप नै छ,बाटो पनि साघुरो छ। स्थानीयले त्यहाँ सवारीसाधनका लागि ‘वान वे’ नै बनाउन माग गरेका छन्। अहिले पर्खाल बनाउँदा सडक बनाउँदा फेरि भत्काउन पर्छ’, ,’ उनले भने, ’त्योभन्दा बरू छिटो सबै प्रक्रिया मिलाएर बाटो बनाऔँ भन्ने छ। यसका लागि हामी छलफल र पहल गरिरहेका छौँ।’
नेपाल ट्रष्टको कार्यालयका प्रवक्ता कुमारप्रसाद दाहाल भने त्यहाँ बाटो वा पर्खाल बनाउन ट्रष्टको कार्यालय तयार रहेको बताए। उनले वडा र स्थानीय मिलेर भोलि नै आए काम शुरू गर्न सकिने पनि बताए।
‘त्यहाँ पर्खाल बनाउन हामीले कुनै रोकटोक नै गरेका छैनौँ। बरू त्यहाँ वडा र स्थानीयकै मत नमिलेको जस्तो देखियो’,उनले भने, ‘केहीले बाटो नै बनाउनुपर्छ भनेका छन्। हामी त तयार छौँ। उहाँहरू भोलि नै आउनुभए काम पनि शुरू भइहाल्छ। कुनै बाधा छैन।’
उनका अनुसार गत वर्ष नै १२० मिटर उक्त पर्खाल बनाउनकरिब एक करोड बजेट विनियोजन भएको थियो। तर काम भएन। यो वर्ष त्यहाँ आवश्यकता अनुसारको बजेट छुट्याएको जानकारी दिँदै उनले मर्मत गर्न केही समस्या नदेखिएको बताए।
तत्काल पर्खाल बनाउन छैन बजेट : खाद्य
यता खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालयले तत्काल पर्खाल बनाउन बजेट नभएको प्रतिक्रिया दिएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, प्रादेशिक कार्यालय थापाथलीकाे भत्किएकाे पर्खाल
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड,प्रादेशिक कार्यालयकी सूचना अधिकारी ज्ञानु थापाले भनिन्,‘मर्मतको अधिकार हामीसँग छैन। बजेट पनि छैन’, उनले भनिन्, ‘यो वर्ष अझै बजेट पास भएको छैन। बजेट पास भएपछि मर्मतको काम हुन्छ।’ पर्खाल बनाउन टेण्डर प्रक्रियामै जानुपर्ने भएकाले समय लाग्ने उनले बताइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।