काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा. केशरजंग बरालले उपकुलपतिको पद बहाली गर्ने बेला स्नातक तह पुनः तीन वर्षे बनाउने योजना सुनाएका थिए।
२०८० फागुन ११ गते पदबहाली गरेपछि भनेका थिए,‘बाहिरको शिक्षा प्रणाली अनुकूल बनाउन चार वर्षे गरियो तर छिमेकी भारत, युरोपेली मुलुकलगायत थुप्रै देशमा अहिले पनि तीन वर्षे स्नातक चलिरहेको छ, अमेरिकालगायत केही देशमा चार वर्षे स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेको उल्लेख गर्दै उपकुलपति बरालले भने, ‘त्यस्ता देश वा त्यस्तै चार वर्षे विषय पढ्न जान चाहने विद्यार्थीका लागि तीन वर्षे पढाइ सकेपछि थप एक वर्षको छुट्टै मानार्थ उपाधिका कार्यक्रम चलाउन सकिन्छ।’
तर, उनले त्रिविको बागडोर सम्हालेको ६ महिना पुगे पनि हालसम्म योजना कार्यान्वयनमा आएको छैन। यता, अधिकांश विद्यार्थीहरू भने चार वर्षे स्नातकलाई कहिले तीन वर्षेमा झर्ला भनेर आशा लिइरहेका छन्।
तीन वर्षेमा आकर्षण बढ्ने विश्वास
त्रिविले शिक्षाशास्त्र, मानविकी र व्यवस्थापन संकायका विषयलाई ०७१/७२ देखि चार वर्षे बनाएको थियो। पछि तीन वर्षे बनाइयो। फेरि २०७६ सालमा त्रिविको मानविकी तथा सामाजिकशास्त्र संकायको विद्यापरिषदको पूर्ण बैठकले चार वर्षे बनाउने गरी पाठ्यक्रम स्वीकृत गरेको थियो।
त्यसयता भने हाल पनि चार वर्षे नै कायम गरिएको छ। तर, यसरी चार वर्षे स्नातक तह बनाइँदा धेरै विद्यार्थीहरूको उच्च शिक्षा अध्ययनको लागि आकर्षण घटेको आँकलन गरेका छन्। अहिले नतिजा प्रकाशन नै ढिला हुने भएकाले स्नातक तह पास गर्नकै लागि झण्डै ६ वर्ष समय लाग्ने गरेको छ।
त्यसो त विद्यार्थीहरूको समय खेर गइरहेको छ। यही कारण पनि स्नातक तहलाई तीन वर्षे बनाउनुपर्ने जोड त्रिवि उपकुलपति बरालकै छ। उनले पदबहाली गर्ने बेला त्यहाँ उपस्थित विभागीय प्रमुख, कर्मचारी तथा प्राध्यापकहरूलाई सम्बोधन गर्दै चार वर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नुका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताएका थिए।
उनी उपकुलपति नियुक्ति हुनुअघि नै त्रिविमा स्नातक तहलाई तीन वर्षे बनाउनुपर्ने बहस भने चलेको थियो। २०८० साउनमा त्रिवि शिक्षाशास्त्र संकायका पूर्वसहायक डिन बलराम रायले यसबारे पहिलेदेखि अनौपचारिक छलफल भएको बताएका थिए।
उनका अनुसार उनी सहायक डिन हुँदा पनि यस विषयमा छलफल भयो। माग पनि उठ्यो। चार वर्षे स्नातक रहेकै कारण अधिकांश विद्यार्थीहरूले बीचमै छाडेर उच्च शिक्षाका लागि विदेशिएको आँकलन भयो।
‘पछिल्लो समय विद्यार्थीहरू उच्च शिक्षाको लागि विदेशिनुको कारण चार वर्षे पढाइले गर्दा पो हो कि भन्ने छ, त्यसैले अनौपचारिक छलफल भएको हो,’ उनले भने। अन्य डिनहरूले पनि तीन वर्षे बनाउन सुझाव दिए। तर, तत्कालीन त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटालाले नै अनिच्छा देखाए।
शिक्षाविद्हरूले तीन वर्षे कोर्स सञ्चालन गर्दा नै उत्तम हुने त्रिविलाई सुझाव दिइरहेका छन्। क्याम्पस प्रमुखहरूले पनि बिबिए, बिए लगायतका कार्यक्रम चार वर्षे हुँदा विद्यार्थीहरूको ‘ड्रपआउट’ बढेको बताउँदै आएका छन्। तर, विदेशमा स्नातकोत्तर अध्ययनमा जाने विद्यार्थीहरूको लागि भने तीन वर्षे स्नातकको व्यवस्था भएको खण्डमा सम्बन्धित मुलुकमा गएर थप एक वर्षको ‘ब्रिज कोर्स’ गर्नुपर्छ।
शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाले धेरै वर्ष पढाएर धेरै ज्ञान दिन सक्नेभन्दा पनि ‘क्रेडिट आवर’तर्फ ध्यान दिन जरुरी रहेको बताउँदै आएका छन्। उनी विद्यार्थीहरूलाई चार वर्ष अल्झाउनु भन्दा उनीहरूलाई नै विकल्प दिनुपर्ने र यसको लागि सरकारले व्यवस्था गर्नुपर्ने जोड दिन्छन्।
शिक्षाविद् डा. मीनबहादुर शाही भने चार वर्षे स्नातक तहलाई तीन वर्षेमा झार्नेभन्दा पनि तीन वर्षे कोर्स बनाउने र एक वर्ष विद्यार्थीहरूलाई फिल्डमा खटाउनुपर्ने व्यवस्था गर्न उपयुक्त हुने बताउँछन्।
उनले भने,‘स्नातकको पढाइ तीन वर्षे बनाएर एक वर्ष चाहिँ विद्यार्थीहरूलाई आवश्यक ठाउँमा फिल्डमा पठाए पढेको ज्ञान मात्र होइन व्यावहारिक कुराहरू पनि सिक्ने थिए।’
डिन नियुक्तिपछि छलफल हुन्छ : उपकुलपति बराल
त्रिविका उपकुलपति बरालले डिन नियुक्ति भएपछि चार वर्षे स्नातक तहलाई तीन वर्षेमा बनाउन छलफल अगाडि बढाउने जानकारी दिए। उनले थाहाखबरसँग भने,‘यस सम्बन्धमा अहिले केही भएको छैन, अब डिन नियुक्त भइसकेपछि छलफल अगाडि बढ्छ।’
त्रिविका शिक्षाध्यक्ष प्रा.डा खड्ग केसी चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने उपकुलपतिकै योजना भएकाले यो कार्यान्वयनमा आउने विश्वास गर्छन्। ‘चार वर्षे स्नातक तहलाई तीन वर्षे बनाउने उहाँको योजना,धारणा छ,अब कार्यान्वयनमा ल्याउनुहुन्छ होला,’उनले भने
तपाईंको ईमेल गोप्य राखिनेछ ।