काठमाडौं : सुनसान छन् घर। एक्ला छन् वृद्ध बाआमा। सन्तान परदेश छिर्ने लस्करमा छन्। कंक्रिटले सुकेका छन् पानीका मुहान। बाँझा छन् खेत र बारी। दुर्लभ बन्दै छन् स्थानीय बाली। भत्किएका छन् पार्टी र चौतारी।
कुनै बेला बच्चा खेल्ने आँगन लेउले भरिएको छ। सामान्यतया नेपालका ग्रामीण क्षेत्रको साझा कथा यही हो। तीनै ग्रामीण क्षेत्र मध्येकै एक हो :गौरादी गाउँपालिका, कपासे डाँडा’।
त्यही क्षेत्रमा जन्मिए दिलु। गीतसंगीत भनेसी औधी रुचाउने। गाउने नाच्ने भनेसी हुरुक्कै हुने। गाउँले र युवायुवतीबीच रसिक थिए उनी। गाउँमा हुने नाचगानकै क्रममा प्रेममा परिन् मनमाया। प्रेमले जात हेर्दैन। धर्म हेर्दैन। समाज हेर्दैन। एक-अर्काको खुसी हेर्छ। प्रेमको शक्ति भनेको आँट हो। आँट गरेरै एकदिन मनमायाले दिलुसँग घरजम गर्ने निर्णय गरिन्। अन्तरजातीय विवाहकै कारण घरपरिवार उनीहरूसँग सन्तुष्ट थिएन।
आर्थिक विपन्नता बढ्दो जिम्मेवारी बहन गर्न दिलु सैनिकमा भर्ती भए। पैसा कमाएर परिवार खुसी बनाउने दिलुको सपना त्यसबेला तुषारापात हुन्छ, जब उनी युद्धमैदानमा दुश्मनको गोली लागेर मृत्युवरण गर्छन्। श्रीमान आउने बाटो कुरेर बसेकी मनमायाको घरमा श्रीमानको मृत्युको खबर आइपुग्छ।
मृत्युको खबर पीडादायिक छ। सँगै जीवन काट्ने सपना देखेकी मनमायाको जीवनमा पीडा थपिन्छ। गर्भमा छ कान्छो छोरो। सानै छन् छोराछोरी। उनले पीडा भुलेर सन्तान हुर्काउने काँधमा आएको जिम्मेवारी पूरा गर्छिन्। सधैँ पीडाको आहालमा डुबुल्की मारेर पनि कहाँ बस्न सक्छ मान्छे? दु:ख पीडाको पनि आयु हुन्छ।
गाउँलेहरू उनलाई मनमाया नामले चिन्दैनन्। लाहुर्नी आमा भन्छन्। यहाँ महिलाको आफ्नै परिचय कहाँ छ? कहिले पाउँछन् उनीहरूले आफ्नो परिचय? थाहा छैन। तर ज्यादातर बुढाकै परिचयमा आफूलाई चिनाउन अभिशप्त छन् महिलाहरू। तीनै महिलामध्ये एक हुन् मनमाया पनि। गाउँलेका थाम्न नसकिने वचन सहँदै सन्तानलाई उनले आमा र बुबाको दुवै भूमिका निर्वाह गरिन्।
हुर्किएका छोराहरूको पनि पखेटा लागे। छाडे गुँड। उडे आफ्नै संसारमा। मनमायाको जेठो छोराको सन्तान नै सरकारी जागिरमा छन्। कान्छो छोरोले आफ्नो परिवार सन्तान नै अमेरिकामा पुर्याएको छ। जवानीमा एक्लिएकी मनमाया बुढेसकालमा पनि एक्लैएक्लै बस्न अभिशप्त छिन्।
घरमा जागिरे छिन् जेठी बुहारी। घरमा रोगी सासू हेरचाह गर्ने जिम्मा उनकै छ। बिहान बेलुका घरधन्दा दिउँसो जागिरे जीवन बुहारीको दैनिकी हो। बुहारीलाई सासूको मनको बह सुन्ने फुर्सद छैन।
जेठाले शहर बोलाउँछ। उनी जाँदिनन्। कान्छाले अमेरिका बोलाउँछ। उनी जाँदिनन्। उमेरले ८४ वर्षकी हुनै लागेकी उनलाई छोराहरूको संसारमा कुनै रुचि छैन।
कहिलेकाहीँ सन्तानसँग भर्चुअल संवाद नै उनका लागि बाँच्ने आधार हुन्। दिनभर आँगनमा आउने चरादेखि बाँदरलाई साथी बनाएकी छन् उनले। उनीहरूसँगै मनमायाले आफ्नो बह पोख्छिन्। मन हल्का बनाउँछिन्। आफ्ना सन्तान कुनै दिन आउलान् भन्ने पर्खाइमा छिन्।
गरिबीका कारण गाउँमा युवाहरू छैनन्। गाउँमा अनिकाल लागेको छ। लामो समयदेखिको खडेरीले गाउँ आक्रान्त छ। वनजंगल मासिएका छन्। खोला सुकेका छन्। जंगलका बाँदर गाउँ पसेका छन्। रहेलपहेल गाउँलेहरू भोकमरी लाग्ने डरमा बाँचिरहेका छन्। बस्ती पसेका बाँदर लखेट्न वडा अध्यक्षले गाउँलेलाई बन्दुक र गोलीको व्यवस्था गरिदिएका छन्।
बाँदरसँग मनमायाको गहिरो सम्बन्ध छ। उनी आफ्ना कुरा बाँदरसँग गरिरहन्छिन्। बाँदर पनि उनका कुरा सुनिरहन्छन्। प्रेम गर्यो भने जनावरले पनि हानि गर्दैन भन्ने बोध हुन्छ।
तर, वडा अध्यक्षले बाँदर व्यवस्थापन गर्न दिएको बन्दुकले के गर्छ? के होला मनमायाको जिन्दगी? यतिबेरसम्म चर्चा भइरहेको मनमाया आखिर को हुन् त? मनमाया अर्थात\ कौशी थिएटरमा चलिरहेको ‘काँचो धागो’को मुख्य पात्र।
निर्देशक आशान्त शर्मा र मुक्तिको लेखनमा मञ्चन भइरहेको उक्त नाटकमा मानव मनोविज्ञान, पहाडी क्षेत्रको पीडा र विस्थापनको समस्यालाई दृष्टिगत गर्दै एक अमूर्त जीवन कथालाई दर्शकसामु प्रस्तुत गरिएको छ। नाटकको कथा नेपाली ग्रामीण भेगमा देखिएका घटना, भावना, र मानवीय पीडाबाट प्रेरित छ। नाटकमा लेखकले गण्डकी क्षेत्रको कुनै गाउँमा घटेको घटनामा जोडिएका पात्रहरूलाई प्रस्तुत गरेका छन्।
नाटकमा विशेष गरेर लाहुर्नी आमामार्फत लाहुरेनीहरूको एक्लो भोगाइ देखाउन खोजिएको छ। यति मात्र होइन नाटकमा मान्छेसँग प्रकृति र जनावरको सम्बन्ध। प्रकृतिमा आएको विभिन्न खालका समस्याले सजीव प्राणीमा पारेको असरलाई पनि मिहीन ढंगले उठाइएको छ।
देशमा बढ्दो बसाइँसराइले शून्यमा परिणत गाउँ र एक्लिएका वृद्ध आमाबाको मनोदशा केलाइएको छ। विशेष गरेर एक्लिएका वृद्धहरू र जंगलका जनावरहरू विस्तारै सहपाठी बन्दै गएका छन् भन्ने कुरालाई पनि जोड्न खोजिएको छ। प्रकृतिको क्षयीकरण र जनावरमाथिको हमलाले दीर्घकालीन रूपमा कस्ता कस्ता समस्या आउलान् सोच्न बाध्य बनाउँछ।
नाटकमा निर्देशक आशान्तले मानवीय संवेदना, समाज, प्रवृत्तिलाई मिहीन ढंगले प्रस्तुत गरेका छन्। लाहुरेनीको भूमिकामा आयुश्मा मगरले आफ्नो नाटकीय क्षमता देखाएकी छन् भने मुक्ति बाँदर र लाहुरेको पात्रमार्फत खुलेका छन्।
नाटकमा प्रस्तुत गरिएको लोक भाकाको लयमा मिठास छ भने नृत्यले नाटकको कथालाई थप सन्तुलित बनाएको छ। कलाकारहरू सागर दाहाल, निशान खत्री, रसिक राज, सम्राट भुजेल, निष्ठा त्रिपाठी, पूर्णिमा आचार्य, मीरा खड्का, कविर काफ्का र कृष राईले विभिन्न चरित्रहरूमा पनि आफ्नो अभिनय प्रमाणित गर्न मिहिनेत गरेका छन्।
वेज प्रालिको प्रस्तुतिमा भदौ ६ देखि मञ्चन भइरहेको उक्त नाटक मंगलबारबाहेक भदौ २९ गतेसम्म मञ्चन हुनेछ।
तस्वीर : प्रयास राई/ आशान्त शर्मा
तपाईंको ईमेल गोप्य राखिनेछ ।