‘सरकारले तत्काल मूल्यवृद्धिमा हस्तक्षेप गर्नुपर्छ’
‘सरकारले तत्काल मूल्यवृद्धिमा हस्तक्षेप गर्नुपर्छ’
काठमाडौँ : चाडपर्व नजिकिदै गर्दा बजारमा कालोबजारी सुरु हुन थालेको छ। अहिले बजारमा प्याज, चिनी लगायत अत्यावश्यक खाद्यवस्तुको ह्वात्तै मूल्यवृद्धि हुँदा आम उपभोक्ता मारमा परेका छन्। तीज, दशैँ, तिहार नजिकिदै गर्दा अझै झनै कालोबजारी बढ्ने निश्चित छ तर सरकारले यसलाई नियमन गर्न सकेको छैन।
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनका अनुसार तीन अघिसम्म प्याजको मूल्य बजारमा ५०-५५ रुपैयाँ थियो तर अहिले व्यापारीहरूले ह्वात्तै बढाएर प्रतिकेजी १४० रुपैयाँँ पुगेको छ। चिनीको मूल्य पनि बढेको छ।
चामलमा प्रतिबोरामा ३ सयदेखि ५ सय रुपैयाँसम्म बढेको छ। ‘अनि यसरी अचाक्ली मूल्य वृद्धि हुँदै गएपछि कसरी उपभोक्ताले किन्न सक्छन्? अब धनीमानीले किन्न सक्लान्, हामी जस्ता सर्वसाधारण, दैनिक काम गरेर गुजारा चलाउनेहरूले कसरी किन्न सक्छन्?’, उनले भने।
उनका अनुसार अहिले बढी प्याज किन्न सकिने अवस्थै छैन। ‘भारतीय सरकारले भन्सारमा २० प्रतिशत शुल्क वृद्धि गरेको छ’, उनले भने, ‘त्यसरी २० प्रतिशत भन्सार शुल्क बढे पनि ५०-५५ रुपैयाँ तोकिएको मूल्यमा १५ रुपैयाँ त बढेर ६५-७० रुपैयाँ पुग्नुपर्ने हो तर व्यापारीहरूले आफूखुसी मूल्य वृद्धि गरेर १४० रुपैयाँ पुर्याए तर खै त सरकारले यसमा हस्तक्षेप गरी नियमन गर्न सकेको?’
तत्काल सरकारले बजार अनुगमन नथाले कालोबजारी बढ्छ
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष महर्जन सरकारले तत्काल बजार अनुगमन तीव्र नपारे दशैँतिहारमा कालोबजारी झनै बढ्ने बताउँछन्। उनका अनुसार व्यापारीहरूले चिनी, प्याज लगायत अत्यावश्यक खाद्यवस्तु लुकाएर झनै मूल्य वृद्धि गर्छन्। मूल्य वृद्धि गरिएको खाद्यवस्तु किन्न पनि पाइँदैन। वर्षेनि दशैँतिहारमा बढी चिनीकै अभाव हुने समस्या छ। त्यसो त यो वर्ष पनि यो समस्या दोहोरिँदैन भन्न सकिँदैन।
अहिले नै बजारमा कालोबजारी बढेको भन्दै यसको नियमन गर्नुपर्ने माग संसद्मै उठेको छ। हिजो बसेको प्रतिनिधिसभा बैठकमा सांसद गणेश पराजुलीले सरकारले नियमन गर्नुपर्नेभन्दा पनि कालोबजारीलाई प्रश्रय दिँदै आएको बताए।
उनले भने, ‘भ्रष्टाचार गर्न दिन्नँ भन्ने प्रधानमन्त्रीज्यूलाई मेरो प्रश्न छ, केही समय अगाडिसम्म ९० रुपैयाँँमा पाइने चिनीको मूल्य अहिले १३० सम्म पुर्याएको रहेछ, उत्पादन लागत बढेको वा आयात गर्दा मूल्य बढेको हो? सुन्नमा आएको छ, समयमा अत्यावश्यक वस्तु आपूर्ति मिलाएर हस्तक्षेप र नियमन गर्नुपर्ने सरकार नै कमिशनतन्त्रमा लिप्त हुँदै कालोबजारीलाई प्रश्रय दिँदै छ रे। चाडपर्व नजिकिदै छ,तरकारी लगायत सबै खाद्यमा भएको कालोबजारीले जनता आक्रान्त छन्, खबरदार सरकार, यसमा खबरदारी नगरेर के दीपावली गर्ने हो?, सरकारलाई सोध्न चाहन्छु, यसमा जवाफ दिनुपर्याे।’
विभाग भन्छ : जनशक्ति मिलेपछि चाडपर्व लक्षित बजार अनुगमन हुन्छ
राष्ट्रिय उपभोक्ता मञ्चका केन्द्रीय अध्यक्ष महर्जनले आफूहरूका तर्फबाट सरकारलाई अनुगमन र बढेको मूल्यको हस्तक्षेपका लागि दबाब दिइरहेको बताए। उनले भने, ‘अहिले बजारमा भएको मूल्यवृद्धिले उपभोक्ता मारमा छन् तर सरकारको उपस्थिति बजारमा छैन। हामीले दुई साताअघि नै गृहमन्त्रीलाई उद्योग मन्त्रालयमा हस्तक्षेप गरेर नियमन गर्न माग गर्दै पत्र नै बुझाएर ध्यानाकर्षण गरायौँ। हिजो मात्रै गृहमन्त्रीले कालोबजारी रोक्ने र त्यस्तो पाइए कारबाही हुन्छ भनेर भन्नुभएको छ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी राकेश पाण्डेले हाल पनि बजार अनुगमन गरिरहेको दाबी गर्दै चाडपर्व लक्षित बजार अनुगमन पनि छिटो नै सुरु हुने जानकारी दिए।
उनले भने, ‘अहिले बजारमा केही आवश्यक वस्तुको मूल्य बढिरहेको छ, कतै कालोबजारी भएको गुनासो छ। त्यसैअनुसार अहिले तीनवटा टोली बनाएर बजार अनुगमन गरिरहेका छौँ।’ उनले कालोबजारी रोक्न थप जनशक्तिको माग मन्त्रालयमा गरिएको जानकारी दिए।
उनले भने, ‘हामीले अझै बजार अनुगमन गर्न,चाडपर्वलक्षित बजार अनुगमन गर्न हामीले मन्त्रालयमा जनशक्तिको माग गरेका छौँ। आज पनि छलफल छ, योजना बनाएर जनशक्तिको व्यवस्था भएलगत्तै स्थानीय सरकार, जिल्ला प्रशासनको समन्वयमा चाडपर्व लक्षित बजार अनुगमन थाल्छौँ।’
उनले तोकिएको मूल्यभन्दा कुनै पनि व्यापारीले मूल्य वृद्धि गरेको पाइए कानुनअनुसार कारबाही हुने चेतावनी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।