काठमाडौं : पछिल्लो सातामात्र अमेरिकामा दुई नेपाली महिलाको हत्या भयो। केही हप्ताअघि हराएकी अमेरिकामा रहेकी नेपाली नर्स ममता काफ्लेको श्रीमान् नरेशले भट्टले हत्या गरेको निचोडमा अमेरिकी प्रहरी पुगेको छ।
गत सोमबार अमेरिकाको ह्युस्टनस्थित अपार्टमेण्टमा मुना पाण्डेको हत्या भयो। ५१ वर्षीय बबी सिंह साहले गोली हानेर उनको हत्या गरेको खुल्यो। तर उनले के कारणले गोली हानेर मुनाको हत्या गरेको भन्ने खुलिसकेको छैन। प्रहरीले अनुसन्धान गरिरहेको छ।
गत असोजमा हमासले इजरायलमा गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भयो। आक्रमणमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको मृत्यु भयो। कैलाली भुनियाँ-३ का आशिष चौधरी, दार्चुलाको लेखम-५ का दिपेशराज विष्ट, धनुषाको सपही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकारको पनि मृत्यु भयो।
यस्तै, आक्रमणमा डोटी पछन्ली-३ का राजन फुलरा, डोटी लमीखाल-८ का पदम थापा, सल्यानको शारदा-३ का प्रवेश भण्डारी र दार्चुलाको मल्लिकार्जुन-४ का लोकेन्द्रसिं धामीको पनि मृत्यु भयो। आक्रमणका क्रममा कञ्चनपुरको भीमदत्त-३ का विपिन जोशी सम्पर्कविहीन छन्। आजको मितिसम्म पनि उनको खबर छैन।
यस्तै, बंगलादेशमा गत महिना शेख हसिना सरकारविरूद्ध हिंसात्मक प्रदर्शन भए। जुलाइमा भएको प्रदर्शनमा २०० जनाको मृत्यु भएको थियो भने पछिल्लो प्रदर्शनमा करिब ३०० जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। आन्दोलनमा नेपालबाट अध्ययन गर्न गएका नेपाली प्रभावित बने। उनीहरूको असुरक्षालाई मध्यनजर गर्दै नेपाल सरकारले हिंसा चर्किदैँ जाँदा करिब ८ सय नेपालीलाई स्वदेश फिर्ता बोलायो।
पछिल्ला दिनमा विभिन्न अवसरका खोजीमा नेपालीहरू विदेशिने क्रम बढेको छ। अवसर वा सुखको खोजीमा विदेशिएका नेपाली जोखिममा परेका छन्।
असुरक्षित इजरायलमा नेपाली कामदार जाँदै
वैदेशिक रोजगारी तथा अध्ययनमा गएका नेपाली सम्बन्धित देशको हावापानी, कामको चाप, मदिरा सेवन, कामदारबीच झैझगडा, परिवारिक तनाव, स्थानीय कानुनको जानकारीको अभाव, मेसिनरी औजारको सञ्चालनमा हुने प्राविधिक त्रुटि, ट्राफिक दुर्घटना, विरामी, कार्यस्थल दुर्घटना, जलेर, निसास्सिएर, डुबेरलगायतका कारणले मृत्यु, अंगभंग भएको तथा बिरामी परेको अवस्था छ ।
बढ्दो असुरक्षा, विश्वव्यापी आर्थिक संकट, सरकारविरुद्ध आन्दोलन, युद्धजस्ता कारण नेपाली नागरिक थप असुरक्षित छन्। त्यसमाथि पछिल्लो समय हमास र इजरायबीच युद्ध जारी छ। त्यसमाथि सम्भावित इजरायल र इरानबीचको द्वन्द्वका नेपाल सरकारले नेपालीलाई इजरायल पठाउन कम्मर कसेको छ। इजरायलले केयरगिभरका लागि लैजाने नेपाली कामदारको छनोट प्रक्रिया यही साता सम्पन्न गरेको छ।
बिहीबार जेरुसेलममा जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिबा) ले गोलाप्रथा (लट्री) को माध्यमबाट २ हजार २०२ जना कामदार छनोट गरिएको हो। नेपालस्थित इजरायली दूतावासका अनुसार छानिएकामध्ये १ हजार १९६ जना महिला र १ हजार ६ पुरुष छन्।
विदेश जानेको लर्को
अध्यागमन विभागले दिएको जानकारीअनुसार गत वर्ष करिब ७० हजार नेपालीले विदेशमा नै स्थायी बसोबास गरेका छन्। ९१ हजार ३४९ जना अस्थायी बसोबासका लागि विदेश गएको उल्लेख छ।तथ्यांक विभागले पछिल्लो ५ वर्षमा १ लाखमा ३ हजार ७५२ जनाले विदेशमा बसाइँसराइ गरेको जनाएको छ।
बढ्दो पलायनले देश निर्माणमा, अर्थतन्त्रमा, रोजगारी सिर्जना र अवसरहरूको सदुपयोगमा ठूलो नकारात्मक असर पारेको छ। यतिसम्म कि अहिले निर्माणका लागि बाहिरबाट कामदार ल्याउनुपर्ने अवस्था छ।
सन् २०२३ मा १६ लाख ३ हजार ८३६ जना नेपाली विदेश गएका थिए। यसरी नेपाली विभिन्न कामका लागि करिब ४ हजार ४५५ जना दैनिक विदेशिने गरेका छन्।
विभागले दिएको तथ्यांकअनुसार यो वर्ष करिब १२ लाख ३२ हजार ५९ जना नेपाली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै फर्किएका छन्।
यसरी औसतमा दैनिक ३ हजार ४ सय नेपाली दैनिक स्वदेश फर्किने गरेका छन्। विदेश जाने र स्वदेश फर्किने दैनिक तथ्यांक हेर्ने हो भने संख्यामा करिब १ हजारको फरक देखा पर्छ।
विदेशमा ज्यान गुमाउन नेपाली
वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७/७८ देखि २०७९/८० सम्म वैदेशिक रोजगारमा गएकामध्ये चार हजार ३५ नेपाली श्रमिकको मृत्यु भएको छ। सो अवधिमा आठ सय ७० जना अंगभंग तथा बिरामी भएको तथ्यांक छ।
गत तीन वर्षको श्रमिकको मृत्युदर विश्लेषण गर्दा २०७७/७८ को तुलनामा २०७८/७९ मा पाँच प्रतिशत वृद्धि भएको र २०७८/७९ को तुलनामा २०७९/८० मा एक प्रतिशत घटेको छ। त्यस्तै, अंगभंग तथा बिरामी श्रमिकको दर २०७७/७८ मा १८.५० प्रतिशत रहेकोमा २०७८/७९ मा ३१.९५ प्रतिशत र २०७९/८० मा ४९.५४ प्रतिशतले वृद्धि भएको छ। मृत्यु हुने श्रमिकको संख्यामा कमी आए तापनि अंगभंग तथा बिरामीको दर बढ्दो क्रममा रहेको महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ।
यो वर्ष भएको कुल मृत्यु एक हजार २५० मध्ये मलेसियामा २७.९६ प्रतिशत, साउदी अरबमा २६.३६ प्रतिशत, संयुक्त अरब इमिरेट्समा १७.९८ प्रतिशत, कतारमा १७.२३ प्रतिशत, कुवेतमा ६.०४ र अन्य देशमा ४.४३ प्रतिशत रहेको छ। स्वदेशबाट मेडिकल जाँच गरी श्रमका लागि गन्तव्य गएको नागरिकको वैदेशिक रोजगारीको अवधिमा हुने मृत्युलाई स्वाभाविक मान्न सकिँदैन।
यसरी स्वभाविक, अज्ञात र अन्य कारणले मृत्यु हुनेको संख्या अधिक रहेको देखिएकोले वास्तविक कारण पत्ता लगाउनुका साथै बिरामीको कारण मृत्यु हुने मुलुकको स्वास्थ्य सुविधासम्बन्धी अध्ययन, ट्राफिक दुर्घटनाबाट मृत्यु हुने मुलुकमा सचेतनाका कार्यक्रम, आत्मह दुरुत्साहन गर्न मनोचिकित्सालगायतका कार्यक्रम सञ्चालन गरी श्रमिकको मृत्युदर न्यून गर्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनको सुझाव छ।
वैदेशिक रोजगारीमा रहेका कामदारको गन्तव्य मुलुकमा मृत्यु भएमा मृतकको शव अन्तिम संस्कारका लागि परिवारलाई हस्तान्तरण गर्न वैदेशिक रोजगार बोर्डबाट रकम निकासा हुने गरेको छ। यो वर्ष शव व्यवस्थापनमा दुई करोड ८५ लाख ८० हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा जनाइएको छ।
बोर्डबाट वैधानिक रूपमा रोजगारीमा रहेका कामदारको मात्र शव व्यवस्थापनको लागि रकम निकासा हुने गरेकाले गैरकानूनीरूपमा रहेका श्रमिकको मृत्यु भएमा शव व्यवस्थापनमा समस्या हुने गरेको नियोगहरूले उल्लेख गरेका छन्। वैदेशिक रोजगार व्यवसायी, रोजगारदाता कम्पनी र गन्तव्य मुलुकका सम्बन्धित निकायको कारणसमेत श्रमिक गैरकानूनी आप्रवासन हुने अवस्था देखिएको छ।
अवैधानिक रूपमा रहेका र अलपत्र परेका कामदारलाई सुरक्षित आवासगृहमा राखी उद्धारसमेत गरेको स्थिति छ। अवैधानिक रूपमा रहेका श्रमिकको मृत्यु भएमा मृतकको शव व्यवस्थापन नगर्नु व्यावहारिक देखिँदैन। श्रमिक गैरकानुनी आप्रवासनका कारण अध्ययन विश्लेषण गरी मृत्यु हुने श्रमिकको शव व्यवस्थापन हुनुपर्छ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८ मा वैदेशिक रोजगारीमा गएको कुनै कामदारको करार अवधिभित्र कुनै कारणले मृत्यु भएमा मृतक श्रमिकको नजिकको हकवालालाई वैदेशिक रोजगार कोषबाट प्रारम्भमा तीन लाख र २०७४ साउन १६ गतेदेखि सात लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने व्यवस्था छ।
वैदेशिक रोजगार बोर्डबाट प्राप्त विवरणअनुसार विगत पाँच वर्षमा पाँच हजार ५११ मृतक श्रमिकतर्फ तीन अर्ब तीन करोड ९८ लाख र १५ अंगभंग तथा बिरामी श्रमिकतर्फ ४३ करोड ८४ लाख ७२ हजार रुपैयाँ आर्थिक सहायता उपलब्ध गराएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।