यो दशैँमा १२ सय खसीबोका ल्याउने तयारी

|

काठमाडौँ : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गत वर्षको दशैँका लागि भनेर ल्याएका च्याङ्ग्रा कुकुरले मारेपछि चौतर्फी आलोचनासँगै सुरक्षामै प्रश्न उठेको छ। ४७ वटा च्यांग्रा संरक्षण गर्न नसक्ने खाद्यले कसरी गर्ला खाद्य सुरक्षा? भनेर सर्वसाधारणले प्रश्न गरे। यो वर्षको दशैँ पनि नजिकिँदै छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँतिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसीबोका सहुलियतमा बेच्दै आइरहेको छ। त्यसो त यो वर्ष पनि खसीबोका,च्याङ्ग्रा ल्याउने तयारी गरिएको छ तर ल्याउनुअघि असुरक्षित खोर मर्मत हुन्छ या हुँदैन भन्ने प्रश्न उठ्ने गरेको छ।

खाद्यले गत वर्ष दशैँमा ५४२ वटा च्याङ्ग्रा ल्यायो। ती च्याङ्ग्रा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको थियो। वर्षेनि त्यही ठाउँमा राखेर बिक्रीवितरण हुँदै पनि आएको छ तर दशैँलाई भनेर ल्याएका च्याङ्ग्रा गतवर्ष छठसम्म ४७ वटा बिकेनन्।

त्यहीँ राखेर दानापानी दिइयो। यस्तैमा पुस १९ गते २० वटा च्याङ्ग्रा मरेको अवस्थामा भेटिए। लिमिटेडले १८ गते मध्यरातमा कुकुर छिरेर टोकेर मारेको बतायो। सीसीटीभी फुटेजमा पनि कुकुर छिरेर टोकेको देखिन्छ। 

कुकुरकै टोकाइबाट मरेको हो वा होइन भनी मरेकामध्ये २ वटा च्याङ्ग्राको परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उक्त रेबिज रिपोर्ट नेगेटिभ आयो। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाले रेबिज रिपोर्ट नेगेटिभ आए पनि कुकुरकै टोकाइबाट च्याङ्ग्रा मरेको बताएकी थिइन्। 

खाद्यको खोर झारजंगलले ढाक्यो

यो वर्षको दशैँ नजिकिदै छ तर खसीबोका,च्याङ्ग्रा राख्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको खोर यतिखेर झारजंगलले ढाकेको छ। च्याङ्ग्रा राख्ने खोरभित्र र बाहिर झार पलाएको छ। खोर पनि असुरक्षित छ। खियाले खाइसकेको जस्ता पाता, साना साना काठले बार लगाइएको छ।

ती सबै काठ मक्किसकेका छन्। यसैगरी असुरक्षित खोरमै च्याङ्ग्रा राखिएको कारण गतवर्ष कुकुरले च्याङ्ग्रा मार्‍यो। त्यसरी झारजंगलले ढाके पनि खाद्यले हालसम्म कुनै सरसफाइ गरेको छैन, कुनै मर्मत गरेको पनि छैन।

१२ सय खसीबोका ल्याउने तयारी

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यो वर्षको दशैँमा करिब १२ सय हाराहारीमा खसीबोका ल्याउने तयारी गरेको छ। तर हालसम्म यकिन टुंगो भने नभएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन्।

उनले भनिन्, ‘त्यही १२ सयकै हाराहारीमा खसीबोका ल्याइन्छ होला तर कति खसीबोका र कति च्याङ्ग्रा ल्याउने भन्ने चाहिँ एकदुई दिनमा निर्णय हुन्छ, त्यसपछि यकिन विवरणको जानकारी दिन्छौं’, उनले भनिन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख थापाका अनुसार खाद्यको बजेट पास भएपछि कति खसीबोका ल्याउने भनेर यकिन गरिनेछ। कम्पनीले गत दशैँमा करिब दुई हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन।

कम्पनीले वर्षेनि नुवाकोट, हेटौँडा, धादिङ, दाङ तुल्सीपुरलगायतका ठाउँबाट खसीबोका र हिमाली जिल्ला मनाङ, रसुवालगायतबाट च्याङ्ग्रा खरिद गरी काठमाडौँ ल्याउने गरेको छ।

खाद्य भन्छ : खोरको मर्मत हुन्छ

खोरमा कुकुर छिरेर च्याङ्ग्रा मारेको असुरक्षित खोर मर्मत हुन्छ हुँदैन भन्ने प्रश्नमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडकी सूचना अधिकारी न्यौपाने सुवेदीले भनिन्, ‘खोर मर्मत हुन्छ,पहिला जस्तो घटना दोहोरिन दिदैनौँ। सुरक्षित हिसाबले खसीबोका,च्याङ्ग्रा राखिन्छ।’

उनका अनुसार अन्यत्र च्याङ्ग्रा राख्ने ठाउँ छैन। त्यसैले यो वर्ष पनि सोही खोरमा राखिनेछ तर खोरलाई सुरक्षित ढंगले व्यवस्थित बनाइने उनको भनाइ छ। ‘त्यस्तो हुन्छ भन्ने कहिल्यै सोचिएको थिएन, कहिल्यै घटना पनि घटेको थिएन। गतवर्ष भने कुकुरले च्याङ्ग्रा मार्‍यो, अब त सचेत छौँ। त्यस्तै कुनै गल्ती दोहोरिँदैन’‚ उनले भनिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.