|

राँझा : बाँकेको नरैनापुर गाउँपालिका-३ कालाफाँटास्थित गेगली गाउँ निवासी ३८ वर्षीया उषा पासी यही भदौ १० मा बिरामी परिन्। घरमै निको होला भन्दाभन्दै दुई दिनपछि उनको निधन भयो।

श्यामलाल पासीको घरमा देखिएको झाडापखाला, ज्वरो र टाउको दुख्ने समस्या त्यत्तिमै रोकिएन। यस्तै लक्षणले ६५ वर्षीया शान्तिको भदौ १४ मा  मृत्यु भयो।  यसको दुई दिनपछि भदौ १६ मा १२ महिनाकी नन्दनीको पनि मृत्यु भएपछि यतिबेला श्यामलाल विक्षिप्त छन्।

पाँच दिनको अवधिमा बुहारी उषा, भाउजु शान्ति र नातिनी नन्दनीको निधन भएपछि उहाँ अहिले घरको बाहिरै टोलाएर बस्छन्। ‘सोच्दै नसोचेको दुःख व्यहोर्नुपर्‍यो। घरमै ठिक होला भन्दाभन्दै भएन, अचानक पीडामाथि पीडा थपिएको छ’, उनले भने, ‘स्वास्थ्य सस्थामा लैजान पनि नपाउँदै घरमै तीनजनाको निधन भयो।’

श्यामलालको एकैघरका तीन सदस्यसहित गेगली गाउँकै १० वर्षीय युसुफ शेखकोे पनि भदौ १२ गते मृत्यु भएपछि गेगली गाउँवासी शोक र भयमा छन्। गाउँका अन्य नागरिकमा सङ्क्रमण फैलिन नदिन नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेपछि त्रास हट्दै गएको स्थानीय जाहिद अलि शेखले बताए।

स्वास्थ्य शिविरमा श्यामलालले पनि स्वास्थ्य जाँच गराए। स्वास्थ्य अवस्था सामान्य रहेकाले स्वास्थ्यकर्मीले जीवनजल र पानी शुद्धीकरणका लागि ‘पियूष’ उपलब्ध गराएको उनले बताए। अचानक झाडापखाला, पेट दुख्ने र ज्वरो आउने समस्या देखिनासाथ घरमा उपचार गर्दागर्दै परिवारका तीन सदस्यको मृत्यु भएपछि श्यामलालले बुढेसकालमा ठूलो दुःख व्यहोर्नुपरेको छ।

श्यामलालको एकै घरको तीनजनासहित गेगली गाउँमा एक हप्ताामा चारजनाको मृत्यु भएपछि सोमबार बिहानदेखि नरैनापुर गाउँपालिका स्वास्थ्य शाखाबाट खटिएको स्वास्थ्य टोलीले स्थानीय मन्दिर प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो। ३६५ नागरिकको स्वास्थ्य जाँच गर्दा अहिले गाउँका तीनजनामा मात्रै झाडापखालाको समस्या देखिएकाले अवस्था सामान्य रहेको कालाफाँटा स्वास्थ्यचौकीका प्रमुख मोहम्मद तैयब राइनले जानकारी दिए। 

‘झाडापखालाको जोखिमको जानकारी पाउनासाथ हामी यहीँ छौँ, अहिले अवस्था सामान्य छ’, उनले भने, ‘स्वास्थ्य जाँचका क्रममा झाडापखाला देखिएका तीनजनामध्ये दुईजना अहिले उपचारपछि घर फर्किएका छन् भने एकजनालाई भेरी अस्पतालमा पठाइएको छ।’

भारतीय सीमासँग जोडिएको गेगली गाउँमा झाडापखालाबाट भदौ १२ गते स्थानीय ३८ वर्षीया उषा पासी र १२ वर्षीय युसुप शेखको मत्यु भएको थियो। भदौकै १४ गते  शान्ति र १६ गते आइतबार १२ महिनाकी नन्दनीको मृत्यु भएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले बताए।

मृत्यु भएकामध्ये उषा, नन्दनी र शान्तिमा विषाक्त खानाका कारण झाडापखालाको आशङ्का गरेको उनले बताए। युसुपमा ज्वरो आउने समस्या देखिएकाले झाडापखालाबाटै मृत्यु भएको भन्न सकिने अवस्था नरहेको स्वास्थ्य शाखा प्रमुख साहको भनाइ छ। 

झाडापखाला फैलिएको सूचना आएपछि गाउँपालिका स्वास्थ्य शाखाले सोमबार बिहानैदेखि गेगली गाउँमा खुला स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.