कपिलवस्तु : तीज पर्व नजिकिएसँगै सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीहरु किनमेलका लागि ठूलो संख्यामा भारतीय बजारमा जान थालेका छन्।
कपिलवस्तुको कृष्णनगरसँग जोडिएको भारतीय बजारमा अहिले तीज पर्वका लागि आवश्यक सामग्री किन्न आउने नेपालीहरुको भीडभाड देखिन्छ। नेपाली बजारमा भन्दा सस्तो मूल्यमा सामान पाइने भएकाले भारतीय बजारको आकर्षण बढेको छ।
किनमेल गर्न कृष्णनगर बढनी बजार आएकी चन्द्रौटाकी बासिन्दा सोनाती चौधरीले सामान सस्तो पर्ने भएकाले भारतीय बजार आएको बताइन्। तीजमा प्रयोग हुने कपडा, श्रृंगारका सामग्रीहरु नेपाली बजारको तुलनामा भारतीय बजारमा सस्तो पर्छ।
त्यस्तै, अर्का स्थानीय रेशम पुनले पनि नेपालको तुलनामा भारतीय बजारमा सबै सामानहरु सस्तो हुने गरेको बताए। ‘नेपालका बजारमा महँगो छ‚ पैसा नभएको वेलामा थोरै भए पनि बचत होला भनेर सबैजना यहाँ आउँछौँ‚’ उनले भने।
भारतीय बजारका व्यापारीहरुले पनि नेपाली उपभोक्तालाई उत्साहपूर्वक प्रतीक्षा गरेको देखिन्छ। भारतीय व्यापारी सुनिल अग्रहरीले अरु समयभन्दा तीजमा भीडभाड बढेको बताउँछन्।
नेपाल-भारत सीमा क्षेत्रमा रहेको भारतीय बजारमा तीजको तयारीलाई ध्यानमा राख्दै व्यापारीहरुले विशेष छुट र आकर्षक अफरहरु ल्याएका छन्। सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली उपभोक्ताले यसलाई अवसरका रुपमा लिएका छन्।
कपिलवस्तु, अर्घाखाँची, दाङ, प्युठानलगायत जिल्लाबाट पनि तीजको सामान लिन यहाँ आउने गर्छन्।
तीज पर्व नजिकिएसँगै नेपाली उपभोक्ताहरुको भारतीय बजारप्रतिको आकर्षण र सीमा क्षेत्रमा देखिएको चहलपहलले तीजको रौनक अझ बढाएको छ भने नेपाली बजारमा सोचेअनुरुप व्यापार नभएको व्यापारीहरु बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।