|

बागलुङ : भव्य कार्यक्रम गरी उद्घाटन गरिएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै  सुनसान भएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले म‌ंगलबार चालक र सहचालकलाई टीका लगाएर बसपार्क उद्घाटन गरेका थिए। 

बाटोको दुरवस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गरेका हुन्। बागलुङ नगरपालिका-४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए। ‘बस ठोकिन्छ। कसरी त्यहाँ बस जान्छ र खै’, उनले भने, ‘नगरले सुरक्षा दिनुपर्‍यो नि! अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन्।’ 

बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ। ‘व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ’, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, ‘एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन।’ उहाँले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखितरूपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए।

निर्माण शुरु गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो। बसपार्क निर्माणका लागि नगर विकास कोषबाट आठ करोड ७० लाख रुपैयाँ ऋण लिइएको थियो । बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.