अर्घाखाँची : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारी कार्यालयबाट हुने सेवा प्रवाहलाई छिटो, छरितो र सेवाग्राहीमुखी बनाउन छिट्टै विभिन्न तहमा एक हजार नौ सय कर्मचारीका लागि विज्ञापन गरिने बताएका छन् ।
सङ्घीय सरकारले हस्तान्तरण गरेको स्वीकृति दरबन्दीअनुसार लुम्बिनी प्रदेश सरकार मातहत रहेका कार्यालयमा चार हजार ७८ कर्मचारीको दरबन्दी रहेकोमा हाल दुई हजार एक सय ७८ कर्मचारी मात्र कार्यरत रहेको र रिक्त रहेका एक हजार नौ सय कर्मचारीको पदमा अब छिट्टै लोकसेवा आयोगमार्फत विज्ञापन खोलिने बताए।
गृह जिल्ला अर्घाखाँचीमा आउनुभएका मुख्यमन्त्री आचार्यले सन्धिखर्क नगरपालिकामा आयोजित स्वागत तथा अन्तरक्रिया कार्यक्रममा स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन यसै वर्षबाट लागू हुने बताए।
कर्मचारी ऐन लागू हुन नसक्दा कर्मचारीमा निराशा छाएको भन्दै यसवर्ष स्थानीय कर्मचारी ऐन र प्रदेश कर्मचारी ऐन पारित भएपछि कर्मचारीको मनोबल वृद्धि हुने बताए।
मुख्यमन्त्री आचार्यलाई सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डमा पर्याप्त बजेट नभएको, बजेट परेर पनि अर्घा भगवती विमानस्थलको काम अघिल्लो वर्ष हुन नसकेको, सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकमा पर्याप्त बजेट नहुँदा कामले गति लिन नसकेकोलागयतका योजनाबारे ध्यानाकर्षण गराए।
मुख्यमन्त्री आचार्यले राखेका योजनामा सङ्घीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाउन र पर्याप्त बजेटका लागि पहल गर्ने प्रतिबद्धता जनाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।