|

काठमाडौँ : सांसदहरुले सरकारी अस्पतालहरुको अनुगमन प्रभावकारी बनाउन जोड दिएका छन्।

बिहीवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा अधिकांश सांसदहरुले सरकारले अस्पतालको अनुगमन एवं निरीक्षणमा ध्यान दिन जोड दिएका हुन्। 

उनीहरुले अस्पतालमा उपलब्ध हुने खाना, औषधि, फोहोरबारे सरकारले विशेष चासो दिएर अनुगमन गर्नुपर्नेमा जोड दिए। समितिको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अस्पतालमा निःशुल्क पाइने औषधिहरु अस्पतालको फार्मेसीमा नपाइने तर बाहिरका निजी फार्मेसीमा पैसा तिरेर किन्नुपर्ने अवस्था रहेको भन्दै अनुगमनमा जोड दिन आग्रह गरे। 

उनले सरकारी अस्पतालहरुको फोहोर व्यवस्थापन हुन नसक्दा बिरामीहरु मनोवैज्ञानिक रुपमा झनै कमजोर हुने गरेको बताए। उनले केन्द्रीय अस्पताल वीरमा नै फोहोर व्यवस्थापन नहुनु दुःखको विषय भएको बताए।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोषिमा कार्कीले अनियन्त्रित रुपमा न्युट्रास्युटिकलहरु, पोषण परिपूरक, डाइट सप्लिमेण्ट भन्ने ओमेगा-३ का क्याप्सुलहरु दिने काम भइरहेको भन्दै निगरानी बढाउन सरकारको ध्यानाकर्षण गराइन्।

उनले जण्डिस, शरीरका अंगहरु सानो, ठूलो बनाउन, हर्मोनका लागि यस्ता क्याप्सुल बिक्री हुने गरेको भन्दै निरीक्षण गरी कारबाही गर्न माग गरिन्। उनले औषधि विभागमा दर्ता पनि नभएका औषधिहरु बजारमा बिक्री भइरहेको बताइन्।

नेकपा एमाले सांसद छविलाल विश्वकर्माले जथाभावी औषधि बिक्री वितरण भइरहेको भन्दै निगरानीमा ध्यान दिन दबाब दिए। उनले भरपर्दो हिसाबले सही शुल्कमा नागरिकले औषधि पाउने सुनिश्चितता सरकारले दिनुपर्ने बताए।

उनले अस्पतालमा डेस्क नै नहुने र कतिपय डेस्क रहेका अस्पतालहरुमा सूचना दिने मानिस नै नराखिएको भन्दै सरकारले हरेक अस्पतालमा सूचना दिन र सोधपुछका लागि एउटा डेस्क अनिवार्य गर्ने व्यवस्था शुरु गर्नुपर्ने बताए। 

नेपाली कांग्रेसकी सांसद संगीता मण्डल धानुकले खानेपानीलाई पहिलो प्राथमिकतामा राखेर अघि बढ्न सरकारलाई सुझाव दिइन्। उनले सरकारी अस्पतालमा दिइने खाना नराम्रो हुने भन्दै सफा खाना दिनका लागि र सरकारी अस्पतालले खाना सफा र गुणस्तरयुक्त दिएको छ वा छैन भन्नेबारेमा निगरानी गर्न सरकारसँग आग्रह गरिन्। 

तराईमा सीमा क्षेत्रबाट एन्टीबायोटिकहरु धेरै भित्रिने गरेको भन्दै निगरानी बढाउन पनि उनले आग्रह गरिन्। उनले एन्टिबायोटिकको नाममा पिठो मिसाएको औषधि भित्र्याउने र त्यसले झनै रोग फैलाउने गरेको भन्दै निगरानी बढाइ स्वास्थ्यमा पर्ने जोखिमबाट मुक्त गर्न आग्रह गरिन्। 

समितिको बैठकमा अन्य सांसदहरुले अस्पताललाई व्यवस्थित र सफा राख्नुपर्नेमा जोड दिए। उनीहरुले अस्पतालमा विरामी कुर्न गएका कुरुवाहरु नै विरामी भएर आउने अवस्था रहेको गुनासो गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.