रौतहट : सुत्केरीको मृत्यु भएपछि रौतहटको एउटा बर्थिङ सेन्टरमा तोडफोड भएको छ।
गरुडा नगरपालिका वडा नं—५ शिवनगरका स्थानीय अरबिन्दकुमार साहकी अन्दाजी २२ वर्षीया पत्नी रमिता देवीको मृत्यु भएपछि पीडित परिवारसहित स्थानीयले आक्रोश व्यक्त गर्दै बर्थिङ सेन्टरमा तोडफोड गरेका हुन्।
सुत्केरी हुन बिहीवार मध्यरातमा नै महम्मदपुर स्वास्थ्य चौकी पुगेकी रमितालाई बच्चा जन्मेपश्चात अत्यधिक रक्तस्राव हुनथालेपछि बर्थिङ सेन्टरले वीरगन्ज रेफर गरेको थियो तर वीरगन्जस्थित इन्डो–नेपाल अस्पतालमा पुर्याउँदा चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए।
मृत्युपछि बर्थिङ सेन्टरका डाक्टर र कर्मचारीमाथि लापरवाहीको आरोप लगाउँदै स्थानीयले तोडफोड गरेका हुन्।
घटनाले उग्ररूप लिएर चन्द्रनिगाहपुर गौर जोड्ने मुख्य राजमार्गमा प्रदर्शनकारीहरुले करिब साढे २ घण्टाभन्दा बढी चक्काजाम गरेका थिए।
चक्काजामपछि नगर प्रमुख कन्थमनि प्रसाद कल्वारको घरमासमेत शव राख्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो। सुत्केरी रमिताको मृत्यु भए पनि नवजात शिशु सुरक्षित रहेको बताइएको छ।
इलाका प्रहरी कार्यालय गरुडाले यस घटनाको अनुसन्धान गरिरहेको जानकारी दिएको छ। मृतकका परिवारले उचित क्षतिपूर्ति र दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।