|

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणद्वारा म्याग्दीमा निर्माणाधीन १३२ केभी क्षमताको डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनाको निर्माण सकिनुपर्ने अवधिमा ५० प्रतिशत भौतिक प्रगति भएको छ।

निर्धारित ३० महिनामा काम सम्पन्न नभएपछि ठेकेदार भारतीय कम्पनी लार्सन एण्ड टियुब्रो (एलएनटी) सँगको सम्झौताको म्याद १५ महिना थपिएको छ। 

मालिका गाउँपालिका- ७ डाँडाखेतबाट रघुगंगा गाउँपालिका–३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाउँमा सबस्टेसन निर्माणका लागि सन् २०२१  डिसेम्बर ३१ मा २६ मिलियन डलरमा ठेक्का सम्झौता भएको थियो।  आयोजना प्रमुख रोशन अग्रवालले गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको जानकारी दिए। 

‘३० महिनामा समग्रमा ५० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएको छ’, उनले भने, ‘राहुघाटमा कमजोर भूवनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो।’

म्याग्दी र राहुघाट नदीमा निर्माणाधीन तथा निर्माणका क्रममा रहेका आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रणालीमा आबद्ध गराउन एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माण गर्न लागिएको हो। १३२/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गरिने डाँडाखेत सब स्टेसनको सिभिलतर्फको ६० प्रतिशत भौतिक प्रगति भएको छ। डाँडाखेतमा ५१ रोपनी जग्गा अधिग्रहण भएको थियो। 

भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सब स्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठदेखि नेपाली सहायक ठेकेदार डिएल स्ट्रक्चरले काम थालेको थियो। २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सब स्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको प्लट बनाउने कामले बर्खायाममा पनि तीव्रता दिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए।

‘पक्की नाला बनाएर भूमिगत र सतहको पानीलाई व्यवस्थापन गरेर सब स्टेसनको संरचना बनाउन थालिएको हो’, उनले भने, ‘सब स्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ। अम्बाङमा सब स्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो।

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ मध्ये हालसम्म ३० वटा टावरको निर्माण सकिएको र ४८ वटा निर्माणाधीन रहेका आयोजना प्रमुख अग्रवालले बताए। रघुगङ्गा गाउँपालिकाको वडा नं ३, बेनी नगरपालिका- ९, १०, मंगला गाउँपालिका- १, मालिकाको वडा नं ६ र ७ मा प्रसारण लाइनको टावर निर्माणस्थल हुन्। 

बेनी नगरपालिका- ६ कोठेसाँघुमा रहेको एनएलटीको प्रसारण लाइनको सामग्री भण्डारणस्थलमा भदौ ८ गते रातिको बाढीले क्षति पुर्‍याएको थियो। दुवै ठाउँमा यसअघि नै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवासगृह भवन निर्माण भएको छ। म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चारवटा जलविद्युत् आयोजना निर्माण शुरु भएका छन्। 

राहुघाटमा ३५.५ मेगावाटको राहुघाट–मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छन्। ५.५ मेगावाट क्षमताको बगरखोला, चार दशमलव ७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन्। 

सबस्टेशनमा निर्माणमा भएको ढिलाइले राहुघाट नदीमा निर्माणको अन्तिम चरणमा रहेको जलविद्युत् आयोजनालाई समस्या परेको तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत् आयोजना प्रमुख प्रकाश तिमिल्सिनाले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.