सुपथ मूल्य पसल असोज पहिलो साताबाट

|

काठमाडौं : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यस वर्षको दशैँको लागि १५ सय खसीबोका काठमाडौं उपत्यकामा ल्याउने भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले यसका लागि आन्तरिक तयारी गरिसकेको जनाएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँ तिहारका लागि हरेक वर्षको दशैँमा खाद्य सामग्री तथा खसीबोका सहुलियतमा बेच्दै आइरहेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका  सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीका अनुसार यस वर्षको दशैँका लागि उपत्यकामा खसीबोका ल्याउन तयारी भइसकेको छ।

कम्पनीले जिउँदो खसीबोका र च्याङ्ग्रा खरिदका लागि चार करोड रुपैयाँभन्दा बढी बजेट विनियोजनसमेत गरिसकेको उनले जानकारी दिइन्। उक्त बजेटअनुसार १५ सय खसीबोका ल्याउने निर्णय भएको उनले जानकारी दिइन्। ‘यो वर्षको दशैँको लागि १५ सय खसीबोका ल्याउने निर्णय भएको छ,यसका लागि विभिन्न जिल्लाहरूबाट ल्याउने तयारी पनि भइसक्यो,’उनले भनिन्।

कम्पनीले हेटौँडा,धादिङ,दाङलगायत जिल्लाबाट खसीबोका ल्याउनेछ। कम्पनीले गत दशैँमा करिब दुई हजार खसीबोका ल्याएको थियो तर अपेक्षित बिक्री हुन सकेन। त्यसपछि यस वर्ष कम्पनीले १५ सय मात्रै खसीबोका ल्याउन लागेको हो।

३ सय च्याङ्ग्रा ल्याइने

कम्पनीले यस वर्ष ३ सयवटा मात्रै च्याङ्ग्रा ल्याउने भएको छ। गत दशैँमा खाद्यले ५४२ वटा च्याङ्ग्रा ल्याएको थियो। तर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीमा राखिएको च्याङ्ग्रा छठसम्म ४७ वटा बिकेनन्। त्यहीँ राखेर दानापानी दिइँदै आएकोमा २०८० पुस १९ गते २० वटा च्याङ्ग्रा मरेको अवस्थामा भेटिए।

लिमिटेडले १८ गते मध्यरातमा कुकुर छिरेर टोकेर मारेको बतायो। सिसिटिभी फुटेजमा पनि कुकुर छिरेर टोकेको देखिन्छ। कुकुरकै टोकाइबाट मरेको हो वा होइन भनी मरेकामध्ये २ वटा च्याङ्ग्राको परीक्षण गर्न प्रयोगशाला पठाइएको थियो। उक्त रेबिज रिपोर्ट नेगेटिभ आयो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय थापाथलीका प्रमुख ज्ञानु थापाले रेबिज रिपोर्ट नेगेटिभ आए पनि कुकुरकै टोकाइबाट च्याङ्ग्रा मरेको बताइन्। त्यसैले यस वर्ष भने च्याङ्ग्राको सुरक्षामा ध्यान दिँदै कम ल्याउन लागिएको हो।

‘अब यहाँ च्याङ्ग्रा ल्याएपछि कसरी हयान्डल गर्ने भन्ने कुरा आउँछ,त्यसैले दशैँमा पुग्ने र बिक्री हुनेगरी ३ सय च्याङ्ग्रा ल्याउने निर्णय भएको छ,’कम्पनीका सूचना अधिकारी न्यौपाने सुवेदीले भनिन्।

उक्त च्याङ्ग्रा मुस्ताङबाट ल्याइनेछ। कम्पनीले वर्षेनी प्रादेशिक कार्यालय थापाथलीमै खसी,बोका,च्याङ्ग्रा राख्दै आएको छ। च्याङ्ग्रा राख्ने ठाउँ भने असुरक्षित छ। त्यसो त यस वर्ष पनि अघिल्लो वर्ष जस्तो घटना दोहोरिदैन भन्न सकिन्न। तर,उक्त खोरको मर्मत गरी सुरक्षित बनाइने उनको भनाइ छ। 

असोज पहिलो साताबाट सुपथ मूल्य पसल

कम्पनीले असोजको पहिलो साताबाट सुपथ मूल्य पसल खुलाउने भएको छ। तर,खाद्यान्न,खसीबोका,च्याङ्ग्रामा कति रुपैयाँसम्म छुट दिने भन्ने निर्णय भने हुन बाँकी रहेको कम्पनीका सूचना अधिकारी न्यौपाने सुवेदीले जानकारी दिइन्।

‘चाडपर्व लक्षित सूपथ मूल्य पसल असोज पहिलो हप्ताबाट सञ्चालनमा ल्याउने तयारी छ,तर कति मूल्य छुट दिने भन्ने चाहिँ अझै टुंगो भएको छैन,केही दिनमा यसको निर्णय हुन्छ,’उनले भनिन्।

गत वर्ष प्रतिकिलो १० रुपैयाँसम्म छुट दिइएको थियो। कम्पनीले वर्षेनी खसीबोका,च्याङ्ग्रा भने घटस्थापनाबाट बिक्रीवितरण गर्दै आएको छ। यस वर्षको घटस्थापना असोज १७ गते परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.