|

काठमाडौँ : रकम भुक्तानी नगरेको र हालै स्वास्थ्य बिमा बोर्डले लागू गरेको दर अस्पतालको दरभन्दा फरक परेको भन्दै त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमामार्फत हुँदै आएको शल्यक्रिया सेवा रोकिएको छ।

यसअघि बोर्डले नयाँ दर कार्यान्वयनमा ल्याएपछि एक हप्तासम्म शिक्षण अस्पतालमा बिमामार्फतका सबै प्रकारका सेवा रोकिएको थियो। त्यसपछि बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौला सहितको टोली शिक्षण अस्पताल पुगेर छलफल गरेपछि शल्यक्रिया बाहेकका सेवा सुचारु भएको थियो। तर हालसम्म अस्पतालमा बिमामार्फतको शल्यक्रिया सेवा पुन: सुरु भएको छैन। 

अहिले आएर शल्यक्रिया सेवामा भने बिमा बोर्डको शल्यक्रिया दर र शिक्षण अस्पतालको दर धेरै नै फरक परेको भन्दै शिक्षण अस्पतालले स्वास्थ्य बिमाअन्तर्गत सेवा लिएर गर्न मिल्ने सबै प्रकारको सेवा रोकिएको अस्पतालका एक कर्मचारीले बताए। खासमा अहिले बिमामार्फत अस्पतालले दिँदै आएको सेवाबापत बिमा बोर्डले अस्पताललाई तिर्नुपर्ने रकम भुक्तानीको रकमभन्दा पनि हालै बोर्डले लागू गरेको नयाँ दरसँग अस्पतालको दर नमिल्दा बिमामार्फत विरामीले लिँदै आएका सेवा रोकिएको हो।

त्रिवि शिक्षण अस्पतालले बिमा बोर्डबाट गत माघ महिनापछिको भुक्तानी पाउन बाँकी छ। त्रिवि शिक्षण अस्पतालले झण्डै ५० करोड रुपैयाँ पाउनुपर्ने उल्लेख गरेको छ।

बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले त्रिवि शिक्षण अस्पताललाई पुससम्मको भुक्तानी भइसकेको र अब त्यसपछिको असारसम्मको २० करोड रुपैयाँ र साउन महिनाको ४ करोड रुपैयाँ गरी २४ करोड रुपैयाँ भुक्तानी हुन बाँकी रहेको बताए। बोर्डका कार्यकारी निर्देशक डा. बसौलाले भने‚ ‘हामीले टिचिङ अस्पताललाई दिनुपर्ने रकम दिइरहेका छौँ, अहिले रोकिएको सेवा पनि छिट्टै सुरु होला।’

बिमा बोर्डले यही भदौ १ गतेदेखि बिमामार्फतको सेवालाई  परिमार्जित गरी नयाँ दर कार्यान्वयन गरेको थियो। जस अनुसार  परिमार्जित दरमा ओपिडी टिकट ५० रुपैयाँ तोकिएको थियो। यसअघि ओपिडी टिकटका लागि २५० रुपैयाँ तोकिएको थियो।

यस्तै जनरल बेडचार्ज प्रतिदिन २५० राखिएको छ। सबैभन्दा बढी केही रोगको सर्जरीमा ७० हजार रुपैयाँसम्म शुल्क तोकिएको छ। स्वास्थ्य बिमामा १ हजार २९० प्रकारका औषधिको शुल्क तोकिएको छ।

त्रिवि शिक्षण अस्पतालमा भने उपचारमा जाने प्रायः विरामीले सामान्यदेखि जटिल प्रकारका शल्यक्रिया तथा अन्य प्रकारका सेवा बिमामार्फत लिँदै आएका थिए। शिक्षण अस्पताल बिमामार्फतको सेवा दिनेमध्ये ठूलो रिफरल अस्पताल हो।

डा. बसौलाले अहिले बिमा बोर्डसँग पैसा नभएको र सरकारबाट आउनुपर्ने तीन वर्षको लक्षित वर्गको प्रिमियम ८ अर्ब ७५ करोड रुपैयाँ र यस वर्षको अनुदान ७ अर्ब रकम बोर्डमा आउन बाँकी रहेकाले बिमामार्फतको सेवा दिँदै आएका स्वास्थ्य संस्थालाई दिनुपर्ने भुक्तानी गर्न केही ढिला भएको बोर्डका निर्देशक डा. बसौलाको भनाइ छ।

त्रिवि शिक्षण अस्पतालमा एक्कासी बिमामार्फतको सेवा प्रभावित हुँदा शल्यक्रिया रोकेपछि शल्यक्रियाको लाइनमा रहेका बिमित भने मर्कामा परेका छन्।

त्रिवि शिक्षण अस्पतालले दुई हप्ताअघि सार्वजनिक सूचना जारी गरी स्वास्थ्य बिमा बोर्डबाट उपचारबापतको पैसा नआएको भन्दै सेवा दिन नसक्ने उल्लेख गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.