सुर्खेत : कर्णालीका १० जिल्लामा क्षमताभन्दा दोब्बर कैदी बन्दी हुँदा कारागारमा समस्या हुँदै आएको छ। कर्णालीका हुम्ला र मुगुमा कारगार कार्यालय नहुँदा यहाँका कैदी बन्दीहरु जुम्ला ल्याउने गरिएको छ।
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार आठवटै कारागारको क्षमता ६८६ कैदी बन्दी अट्ने कारागारमा हाल १ हजार १७० जना कैदी बन्दी रहेको अवस्था छ।
यहाँका हरेक कारागारमा दोब्बर हाराहारी कैदी तथा थुनुवा कोचिएर बसेका छन्। सुर्खेत कारागारको क्षमता १०० को भएपनि हाल ४३१ जना कैदी बन्दी रहेका छन्।
जाजरकोटमा ३५ जनाको क्षमता रहेकोमा ६९ जना रहेको पाइएको छ। दैलेखका १०१ क्षमता भए पनि १६८ जना, रुकुम पश्चिममा २५ क्षमता भए पनि १५४ कैदी बन्दी रहेको पाइएको छ।
सल्यानमा ३५ जनाको क्षमता रहेकोमा १४५ जना, जुम्लामा २०० क्षमतामा ११६ जना रहेको, कालिकोटमा ४० क्षमतामा हाल ५२ जना कैदी बन्दी रहेको पाइएको छ।
डोल्पामा १५० क्षमतामा ३५ जनामात्र कैदी बन्दी रहेको प्रदेश प्रहरी कार्यालयले दिएको तथ्यांकमा उल्लेख छ।
जेलरहरूका अनुसार कतिपय कारागारमा कैदी बन्दीले शौच गर्न नै घन्टौँ पालो कुर्नुपर्ने वा लाइनमा बस्नुपर्ने अवस्था छ। सुर्खेत कारागारकी जेलर लक्ष्मी खरेलका अनुसार कोचाकोच गरी कैदीबन्दीलाई राख्दा कारागारको सुरक्षा र संवेदनशीलतामा समेत जोखिम बढेको छ।
प्रदेशका कतिपय कारागारमा स्वास्थ्योपचार र खानेपानीको समेत समस्या छ। जिल्ला कारागार दैलेखका जेलर जितबहादुर खत्रीले कारागारभित्र खानेपानीको समस्या रहेको बताए।
मुगु र हुम्लामा कारागार निर्माण सुरु भए पनि अझै सम्पन्न भएको छैन। यहाँका कैदीबन्दीलाई अन्य जिल्लाका कारागारमा पठाउनुपर्ने बाध्यता छ।
यहाँ कैदी तथा थुनुवाहरूलाई हिरासतमा राख्ने र समय मिलाएर अन्य कारागारहरूमा लैजानुपर्ने बाध्यता रहेको मुगुका प्रहरी प्रमुख वीरेन्द्र थापाले बताए। थापाका अनुसार मुगुका कैदीलाई जुम्ला, सुर्खेत, बाँके, दाङ र बर्दियामा पुर्याउने गरिएको छ।
हुम्लाका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले जिल्लामै कारागार भए सजिलो हुने बताए। हिमाली जिल्लामै कारागार नहुँदा कैदीबन्दी स्तान्तरण गर्नु भारी समस्य हुँदै आएको छ।
राज्यले यस्ता खालका समस्या प्रति संवेदनशिल बन्नुपर्नेमा सबैको जोड छ। कारागारभित्र पालैपालो शौचालय, खानेपानी तथा सुत्ने अवस्था सिर्जना भएपछि कारागार प्रशासनको टाउको दुखाई बन्दै गएको छ।
सबैभन्दा बढी महिला कैदीबन्दीलाई समस्या हुने गरेको छ। महिनावारी हुँदा सबै एकै ठाउँमा बस्दा समस्या हुने गरेको हो।
मुगुको कारागारका नयाँ भवन प्रयोगविहीन भएको छ। कारागार कार्यालयका अनुसार कार्यालय सञ्चालन भवन, महिला बन्दीगृह, ब्यारेक भवन, कारागार भवन शहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाले ठेक्का लगाएको थियो।
आशीष कन्स्ट्रक्सन गाँडेखोला कम्पनीले सो भवन निर्माणका लागि ३ करोड ५० लाख ३६ हजार ६२८ रुपैयाँको ठेक्का लिई सम्झौताअनुसार काम गरी केही भवनहरु शहरी भवन डिभिजन कार्यालय जुम्लालाई हस्तान्तरण गरिसकिएको कम्पनीका मुगुस्थित प्रतिनिधि कर्णबहादुर रावलले बताए।
भवन निर्माण कार्य बाहिरी रुपमा सके पनि भित्री कामहरु बाँकी रहेको मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले जानकारी दिए।
कारागार कार्यालय मुगुले दिएको जानकारीअनुसार यहाँबाट जुम्लासम्म कैदीलाई स्थानान्तरण गर्दा एक व्यक्तिलाई ८५ हजारदेखि १ लाखसम्म रकम खर्च हुने गरेको छ।
आव २०७० देखि हालसम्म कारागार कार्यालय मुगुको तथ्यांकअनुसार विभिन्न प्रकृतिका १५० भन्दा बढी कैदीबन्दीलाई जुम्लालगायत अन्य जिल्लाका कारागारमा स्थानान्तरण गरिएको छ। केहीलाई लुम्बिनी प्रदेशका समेत स्थान्तरण गरिएको छ।
हुम्लामा लामो समयपछि जिल्लामा कारागार भवन निर्माण कार्य सुरु भएको छ। सघन शहरी तथा भवन निर्माण आयोजना, जुम्लाले यसै आर्थिक वर्षमा बजेटको व्यवस्था गरेपछि कारागारको भवन निर्माण कार्य शुरु भएको हो।
जिल्ला प्रहरी कार्यालयको हाताभित्रै रहेको कारागारको आफ्नै जग्गामा भवन निर्माण शुरु गरिएको छ। भवन निर्माणका लागि लगानी गर्ने सघन शहरी विकास कार्यालय जुम्लाका सब–इन्जिनियर विमल रावतले भवनको ४० प्रतिशत काम पूरा भएको बताए।
आगामी असार मसान्तसम्म निर्माण सम्पन्न हुने लक्ष्य लिएको उक्त भवनको लागत २ करोड १९ लाख रुपैयाँ रहेको छ।
कारागारको भवन नहुँदा १३ जना कैदी बन्दी थुनुवासँग प्रहरी हिरासतमा बस्दै आएका छन्।
सबै कैदी बन्दीलाई प्रहरीले हाल दुईवटा कोठामा राख्दै आएको छ। कारागार नभएको कारण प्रहरीले निकै कठिनाइका साथ कैदी बन्दीको व्यवस्थापन गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।