एजेन्सी : अफगानिस्तानमा तालिवानले महिला, बालिका तथा किशोरीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको छ। अफगानिस्तानका कयौँ सार्वजनिक स्थानमा पनि यस्तै प्रकारको प्रतिबन्ध लगाइएको छ।
विद्यालय जान रोक लगाइएपछि महिलाहरू अफगानिस्तान छाडेर अन्य देशमा गई अध्ययन गरिरहेका छन्। यिनैमध्येकी एक हुन् २२ बर्षीया 'माह'। तालिवानले राजधानी काबुलमा घुसपैठ गरेपछि उनी २०२१ अगस्टमा देश छाडेर भागेकी थिइन्।
उनी अहिले बेलायतमा अध्ययन गरिरहेकी छिन्। ‘म सुरक्षित छु, स्वतन्त्र छु र आफ्नो लागि खुशी छु’ बिबिसीसँग उनले भनिन्, 'तर यतिखेर मेरा साथी अफगानिस्तानमा छन् जो पढ्नका लागि केही गर्न सक्दैनन्।’
माह जस्तै १७ बर्षकी अकदास पनि अफगानिस्तान छाडेर अमेरिका पुगिन्। उनले न्यू मेक्सिकोको एउटा कलेजमा छात्रवृत्ति पाएकी छिन्। तालिवानले काबुलमा कब्जा जमाएको दिन सम्झँदै अकदास भन्छिन्, ‘के उनीहरूले मेरो अधिकार खोस्नेछन्, मैले पनि मेरी आमाले २० बर्षअघि भोगेको जस्तै हिंसा भोग्नुपर्नेछ ? यस्तै प्रश्नहरू जन्मिए तर, के गर्ने सोच्नै सकिन।’ उनकी आमा रुँदै ‘अब तालिवानका कारण पढाई जारी राख्न सकिन्न’ भन्दै थिइन्।
तर अकदासले लुकिछिपी अनलाइनको माध्यमबाट पढाई जारी राखिन् र अमेरिकाको लागि स्कलरशिप पाइन्। भिसा चाहिने भएपनि अफगानिस्तानमा दूतावास बन्द थियो। महिला एक्लैलाई देश छाड्ने अनुमति नभएका कारण उनी मेडिकल भिसामा आफ्ना बुबासँग पाकिस्तान पुगिन्।
‘अफगानिस्तानमा केटीहरू हरेक दिन डिप्रेशन र एन्जाइटीको शिकार भइरहेका छन् तर उनीहरूले कुनै सहयोग पाइरहेका छैनन्’, उनले भनिन्।
तालिवानले करिब ३ बर्षदेखि अफगानिस्तानमाथि नियन्त्रण जमाएको छ र यसक्रममा महिलाहरूको जीवनमा बन्देजहरू बढिरहेको छ। महिला र १२ बर्षभन्दा माथिको उमेरका बालिकाहरूमाथि विद्यालय जान प्रतिबन्ध लगाइएको छ। उनीहरूलाई धेरैजसो विश्वविद्यालयको प्रवेश परीक्षामा बस्नै रोक्ने गरिन्छ।
महिलाहरूलाई काम गर्न रोक लगाइएको छ भने ब्युटीपार्लर, सैलुन बन्द गराइएको छ र किशोरी तथा महिलाहरू पर्क, जिम र स्पोर्टस क्लब जान पाउँदैनन्।
तालिवानले धार्मिक मुद्दाको कारण प्रतिबन्ध लगाइएको र सबै मुद्दा सल्टिएपछि महिलाहरूलाई फेरी भर्ना दिने वाचा गर्दै आएको छ।
तालिवानले पाठ्यक्रम इस्लामिक हुने पनि बताएको छ। तर अहिलेसम्म प्रतिबन्ध फुकुवा गर्ने सम्बन्धमा कुनै प्रगति भएको छैन। यसप्रकारको प्रतिबन्ध लगाइएको अफगानिस्तान एकमात्र देश हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।