काठमाडौँ : देशभर डेंगु संक्रमितको संख्या सात हजारभन्दा बढी नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार पछिल्लो एक हप्तामा डेंगु संक्रमितको संख्या ७ हजार ६४० जना नाघेको हो।
यसैगरी गत जनवरीदेखि हालसम्म नेपालमा डेंगु सङ्क्रमणबाट पाँचजनाको मृत्यु भएको छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ। सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन्। कुल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन्।
यसैगरी बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेशमा १२८ जना सङ्क्रमित रहेका छन्। यसैगरी लुम्बिनी प्रदेशमा ५४५ जना, कर्णालीमा ११७ जना डेंगु सङ्क्रमित छन्। यसैगरी सुदूरपश्चिममा ४३५ जना डेंगु सङ्क्रमित रहेको ईडीसीडीले जनाएको छ।
हाल काठमाडौँमा डेंगु संक्रमित ६२० जना पुगेका छन्। यस्तै अहिले सबैभन्दा धेरै संक्रमित तनहुँ जिल्लामा रहेका छन्। तनहुँमा हाल १ हजार २३६ जना पुगेका छन्।
हैजा संक्रमित ८० जना पुगे
डेंगु संक्रमित तीव्र रूपमा फैलिरहेको समयमा यो हप्ता हैजाका संक्रमित पनि थपिएका छन्। ईडीसीडीको विवरणअनुसार हाल हैजाका संक्रमित ८० जना पुगेका छन्। अघिल्लो हप्ता हैजा संक्रमित ७५ जना थिए।
हाल ललितपुरमा ५२ जना, काठमाडौंमा १२, कैलालीमा ८, प्यूठानमा २, मकवानपुरमा १, रोल्पामा ४, सिन्धुपाल्चोकमा एकजना हैजा संक्रमित रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।