काठमाडौं : पाँचौँ नेपाल पूर्वाधार सम्मेलन बिहीबार शुरु हुँदैछ। ताहाचलस्थित होटल सोल्टीमा हुने सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न साढे ४ बजे गर्ने कार्यक्रम छ।
‘रणनीतिक लगानीमार्फत् दिगो विकास’ भन्ने मूल नाराका साथ हुन लागेको सम्मेलन दुई दिन चल्नेछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघको आयोजना तथा लगानी बोर्डको कार्यालय र युथ कम्युनिटी फर नेप्लिज कन्ट्र्याक्टर (वाईसीएनसी) को सहआयोजनामा सम्मेलन हुन लागेको हो।
परिसंघले नेपालमा औद्योगिक वातावरण निर्माण, नवप्रवर्तन प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र आर्थिक विकासका लागि सरकारसँगको सहकार्यमा सन् २०१४ देखि यो सम्मेलन गर्दै आएको छ। पूर्वाधार विकासमा धेरै लगानी आवश्यक रहेको तर स्रोत अभाव भइरहेको अवस्थामा पूर्वाधार क्षेत्रमा लगानी जुटाउन सम्मेलन गर्न लागिएको परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले बताए।
पूर्वाधार विकासका सन्दर्भमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा त्यसको प्रयोगको संभावनाबारे सम्मेलनमा गहन छलफल हुने उनले बताए। सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पूर्वाधार विज्ञ, लगानीकर्ता, तीनै तहका सरकार र निजी क्षेत्रका प्रतिनिधिको सहभागिता रहनेछ। सम्मेलनबाट प्राप्त सुझाव सरकारलाई उपलब्ध गराउने परिसंघले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।