फेब्रुअरी २००४ सिङ्गापुर
सिङ्गापुरको ‘चाङ्गी एयरपोर्ट’बाट मलाई ट्याक्सीले एउटा ठूलो, झ्यालै झ्याल भएको, दशतले लम्बेतान भवनअगाडि लगेर छाडिदियो!
'खै त पानीजहाज?' मैले ट्याक्सी चालकलाई सोधेँ।
उसले त्यही भवनलाई देखाउँदै भन्यो 'यो के हो त?'
अनि हाँस्दै सोध्यो 'फर्स्ट टाइम अनबोर्ड?' (पहिलोचोटी हो?)
मैले ट्वाँ पर्दै टाउको हल्लाएँ।
'बेस्ट अफ लक!'
मेरो ‘धन्यवाद’को प्रतीक्षा नगरी ऊ हुँइकियो।
एकछिन त म रनभुल्ल परेँ! अनि पन्ध्र-बीस पाइला पछाडि सरेर यसो हेरेपछि पो बल्ल त्यस भवनमा पानीजहाजको आकार देखेँ।
एक्कासि, पानीजहाज वरिपरिको व्यस्त र कर्कश आवाजले मलाई झ्वाप्प छोप्यो– मान्छे चढ्दै ओर्लिँदै गरेका, सामान लोड अनलोड हुँदै गरेको! बल्ल, म ‘जेटल्याग’को तन्द्राबाट झल्याँस्स ब्युँझिएँ।
पछि, मैले थाहा पाएँ– त्यो जहाज दुई वटा फुटबल मैदानभन्दा लामो, छ लेनको हाइवे जत्तिको चौडा, लगभग दुई सय जम्बो जेट जत्तिको भारी थियो। ९०० वटा कोठा, दर्जन रेस्टुराँ, स्विमिङ पुल, सिनेमा, डिस्को आदि सबैबाट सुसज्जित त्यो पानीजहाजले पाँच हजार जना यात्रु अनि चौध सय जति कामदार बोक्थ्यो। अर्को कुरा– त्यो जहाज दश तले नभई चौध तले रहेछ। चार तला चाहिँ पानीमुनि रहेछन्।
त्यहाँ हामी ‘क्रु’ अर्थात् कामदारहरू बस्थ्यौँ।
खैर, ट्याक्सीले मलाई त्यहाँ छाडेको केहीबेरपछि एक जना केटो हतारिँदै मलाई लिन आइपुग्यो। जहाजभित्र छिर्ने बेलामा माथि यात्रुहरू छिर्ने ‘बोटडेक’ (बरन्डा) मा ठूलो ब्यानरमा लेखिएको देखें,
‘वेलकम अनवोर्ड, सुपर स्टार भिर्गो !’ (सुपर स्टार भिर्गो पानीजहाजमा तपाईँलाई स्वागत छ !)
'वान्, तु, त्री, पोर, पाइप् ... तेन् !' चर्को फिलिपिनो लवजको अङ्ग्रेजीमा हाम्री सुपरभाइजर ‘म्याम सोराया’ले भोलिपल्ट बिहान ‘ब्रिफिङ’मा हाजिरी लिँदै उर्दी गरिन्– 'ओके, इन्त्रादुस् योर्सेल्प्स्।' (आ-आफ्नो परिचय देऊ।)
सबैले पालै पालो आ-आफ्नो परिचय दिए।
'हाई, आई एम आइलिन!'
'हाई, आई एम रोज !' ... आदि इत्यादि।
'एण्ड नाउ, वी ह्याभ फ्रम नेपाल (अनि नेपालबाट आएका छन्) कुल्–डिप्... जे–ए–एन्।'
मेरो नाम उच्चारण गर्ने केहीछिनको निरर्थक प्रयासपछि हार खाएर ओठ बङ्ग्याउँदै उनले भनिन्– 'तिम्रो नाम आजदेखि– डिप !'
'एण्ड, फ्रम भियतनाम ...' फेरि त्यही चटक दोहोर्याउँदै भनिन् – 'लीन !'
अनि थपिन्, 'डिप र लीन, तिमीहरू आजदेखि जोडी हौ।' अर्थात्, काम गर्ने पार्टनर।
'मामा एन्ड पापा !' कोही करायो। सबै गलल हाँसे। ठिटाठिटीहरू इत्रिन थाले। आशय बुझेर हामी दुवै अलि लजायौँ।
लीनलाई पहिलो चोटि भेटेको त्यहीँ हो। ऊ पनि म जस्तै पहिलोचोटी पानीजहाजमा काम गर्न आएकी थिई। गोरी, थाइकट कपाल काटेकी, पुक्क परेको गाला थियो उसको। चौडा काँध, पुष्ट नितम्ब भएकी ऊ काम गर्दा हतार पनि गर्दिनथी– विस्तारै पनि गर्दिनथी। तर काम छिटो सक्थी। अनौठो लयात्मक र मितव्ययी चाल थियो उसको। हाँस्दा टाउको अलि माथि उचालेर छड्के पार्थी र तेर्सो नजरले हेर्दै खित्का छाड्थी– केटाकेटी जस्तै। उसका आँखा चिम्सा भनिहाल्न नमिल्ने भुक्क परेका थिए।
भियतनामी केटीहरू मलाई नेपाली केटीहरू जस्तै लाग्थे। फिलिपिनो जस्ता नखरमाउली होइनन्। केटाहरू पनि हामी जस्तै– मिजासिला। भियतनाम युद्धमा अमेरिकी सैनिकहरूलाई यिनै शिष्ट, भद्र, हँसिला मान्छेहरूले हराएका थिए भनेर कल्पना पनि गर्न नसकिने !
त्यस दिनदेखि लीन र म सँगै काम गर्न थाल्यौँ। काम थियो– पानीजहाजको सार्वजनिक स्थलहरू, जस्तै लबी, बरन्डा, भर्याङ, लिफ्ट, शौचालय आदि सफा गर्ने। भ्याकुम लगाउने– पुछपाछ गर्ने। सुरुमा अलि अप्ठ्यारो लागे पनि पछि हामी घण्टौँ गफिन थाल्यौँ।
'ए डिप, नेपालमा पहाडहरू कति छन् हँ?'
'अनगन्ती, जति समुद्रमा छाल छन्।' म भन्थेँ। ऊ मख्ख पर्थी।
'तिम्रो घर?'
'पहाडको टुप्पोमा छ।' म गफ दिन्थेँ।
म अलि अतिशयोक्ति पूर्ण तर ठट्यौली पारामा कुरा गर्थेँ। ऊ पनि पत्याए जस्तो गरिदिन्थी वा साँच्चिकै पत्याउँथी कि ? जस्तै, म गफ दिन्थेँ।
'नेपाली केटाहरू एकदम इमानदार हुन्छन्।'
ऊ आँखा ठूलो पार्दै, उत्सुक भएर भन्थी, 'आहा, कति रोमान्टिक !'
मलाई के थाहा, पछि मेरो यस्तै गफले लीनलाई भँडखारोमा जाकिदिने छ ! अनि म आत्मग्लानिको भुङ्ग्रोमा जल्नेछु!
त्यो भँडखारोको नाम थियो, दीपक।
उ ‘भाञ्जा’ थियो, अर्थात् सिङ्गापुरे लाहुरेको छोरो। गोरो र राम्रो- गितार पनि गजब बजाउँथ्यो। लीनलाई मैले नै ऊसँग चिनाइदिएको थिएँ।
मलाई के थाहा दीपक पछि गएर 'आस्तीनका साँप निकलेगा' ! म चैं परें– प्रेमलाई अलि बढी नै आदर्शवादी दृष्टिकोणबाट हेर्ने- पुरानो हिन्दी फिल्ममा रूखको लहरा समातेर रोमान्टिक गीत गाउने हिरो, सञ्जीवकुमार जस्तो ! साथी परेछ – सलमान खान ! बुझ्नु’भोनि ! उसले कति बेला लीनलाई प्रेमको पासोमा पारिसकेछ, मैले कुनै मेसो नै पाइनँ।
एकदिन लीनले सोधी, 'ए डिप, दीपक राम्रो केटा हो हगि ? के म उसको गर्लफ्रेन्ड बनुम ? तिमीले नगर भन्छ्यौ भने म ‘नो’ भन्दिन्छु।’
म त जिल्ल परेँ ! एकछिन त मेरो मन चोरेकी हो कि जस्तो नि लाग्यो। नढाँटी भनूँ, अलिकति इर्ष्या जाग्यो– रिस पनि उठ्यो। तर ती दुवै मेरा साथी थिए।
केही दिनअगाडि दीपकले मलाई सोधेको थियो, 'लीन तिम्रो गर्लफ्रेण्ड हो ?' आफूले ‘होइन’ भन्ने जवाफ फर्काएको सम्झेँ।
केटोले मेरो अनिर्णयको मज्जाले फाइदा उठायो। त्यसपछि म साइड लागेँ।
अनि त जे नहुनु भइहाल्यो। त्यो दीपक मैले लीनलाई गफ दिए जस्तो ‘इमान्दार नेपाली केटो’ साबित भएन। त्यति मात्र होइन, मोरो त चोर पो निस्कियो!
एकदिन लीन आँखा रातो पार्दै आत्तिँदै मेरो कोठामा आई।
'डिप, डिप! दीपकलाई देख्यौ?'
'छैन त। के भो र?', मैले सोधेँ।
ऊ केही नबोली फरक्क फर्किएर गई। उसकी साथी सोफिया मलाई कर्के नजरले हेर्दै उभिइरहेकी थिई। अनि व्यङ्ग्य मिश्रित लवजमा उसले भनी, 'तिम्रो साथी त ‘टरमिनेट’ (जागिर चैट) भएछ ! अनि घर जाने बेला लीनको पैसा, ल्यापटप सबै लिएर लीनलाई केही नभनी भागेछ।'
'हँ !' म खङ्ग्रङ्ग भएँ।
भएछ के भने, बाहिर रक्सी खाएर आउँदा दीपक ‘ब्रेथलाइजर’ (मापसे) मा परेछ। जहाजको नियम कडा हुन्छ– बाहिर रक्सी खायो, झगडा गर्यो, चोर्यो, यौन दुर्व्यवहार गर्यो कि– भोलिपल्ट घर गयो !
त्यसपछिका दिनहरूमा लीनलाई भेट्दा म उसको भावशून्य आँखालाई हेर्थेँ मात्र– केही बोल्दिनथेँ। ऊ पनि हेर्थी मात्र। मानौँ मनमनै भन्दै छे, यो सब तिमीले गरेर भएको हो, डिप।
एकदिन बेलुकी मेरो कोठाको ढोकामा कसैले ढकढक्यायो। खोलेँ– लीन रहिछे। एकछिन मौन भएर उभियौ। अनि लीन, उनको त्यही लयात्मक र मितव्ययी चालले बिस्तारै मेरो बेडमा गएर बसी। म पनि बसेँ। ऊ रुन थाली– म उसलाई हेरिरहेँ– चुपचाप। के भन्ने? त्यही बखत मेरो रुममेट स्वाट्ट कोठामा पस्यो। ऊ जिल्ल पर्यो, एकछिन उभियो, टाउको कन्यायो र स्थितिको गाम्भीर्यलाई बुझेर ‘सरी’ भन्दै बाहिर निस्कियो। कति समय बित्यो, मैले बिर्सेँ– त्यो महत्त्वपूर्ण पनि होइन। शायद त्यो क्षण– समय पनि रोकियो!
अनि मैले लीनको निधारमा लत्रिएका कपाललाई विस्तारै पन्छाएँ र उसको ओँठमा चुम्बन गरेँ। उसका आँखाबाट झरेका बलिन्द्र आँसुका धारा बर्खामासमा नदीको भंगालो फाटेझैँ गालादेखि छड्किएर– ओठ हुँदै बगिरहेका थिए।
मेरो ओँठ त्यही भँगालोमा बिस्तारै डुब्यो ! त्यो मेरो जीवनको पहिलो चुम्बन थियो। जसको स्वाद, लीनको आँशु मिसिएकाले– नुनिलो थियो!
त्यो नुनिलो चुम्बन...!
तपाईंको ईमेल गोप्य राखिनेछ ।