काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारी समायोजनको समयमा फाजिलमा रहेका स्वाथ्यकर्मीको व्यवस्थापन गर्ने भएको छ।
जसका लागि हालैमात्र मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा दरबन्दीभन्दा बाहिर रहेका स्वास्थ्यकर्मीहरूलाई व्यवस्थापन गर्न कार्यविधि नै तयार गरेको छ। जुन कार्यविधि मन्त्रिपिषद्ले स्वीकृतसमेत गरिसकेको छ।
मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारको कार्यविधि स्वीकृत गरेको र अब उक्त कार्यविधि अनुसार तिनै तहका सरकारमा फाजिलमा रहेका स्वास्थ्यकर्मीको व्यवस्थापन गरिने मन्त्रालयले जनाएको छ।
भर्खरै मन्त्रिपरिषदबाट स्वीकृत भएको उक्त कार्यविधिमा कुनै पनि पालिकामा बढी भएका वा पालिकाले व्यवस्थापन गर्न नसकेका स्वास्थ्यकर्मीलाई प्रदेश मुख्यमन्त्री कार्यालयको सहमतिमा एक पालिकाबाट अन्य पालिकामा पठाउन सक्ने अधिकार दिइएको बताइएको छ। त्यसैगरी, प्रदेशमा फाजिलमा रहेका कर्मचारीलाई पनि प्रदेशभर कामकाजमा लगाउन सकिनेसमेत उल्लेख गरिएको छ।
यस्तै मन्त्रालयले स्थानीय तहमा समायोजन भएका तर एमडी÷एमएस (चिकित्सा शिक्षाको स्नातकोत्तर तह) विशेषज्ञता हासिल गरेका चिकित्सकलाई कार्यरत तह वा प्रदेशको सहमतिका आधारमा प्रदेशमा कामकाजमा खटाउन सिफारिस गर्ने कार्यविधिमा उल्लेख गरिएको जनाइएको छ।
केन्द्रमा रहेका फजिल कर्मचारीलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यकता हेरी जुनसुकै निकायमा खटाउन सक्नेछ। हाल विभिन्न स्थानीय तहमा गरी देशभर एक हजार ६१ जना कर्मचारी फाजिलमा रहेका छन् ।
प्रत्येक वर्ष दरबन्दी नभएको भन्दै उनीहरूको तलबभत्ता भुक्तानीमा समस्या हुँदै आएको छ। स्थानीय तह र प्रदेशमा खाटाएर बढी भएका कर्मचारीलाई बन्दै गरेका ५, १०, १५ शैय्याका अस्पताल सञ्चालनका लागि पनि पठाउन सक्ने गरी स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको थियो।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सचिवालयका अनुसार मन्त्रालयले तयार गरेर पठाएको कार्यविधि केही परिमार्जन गरी स्वीकृत भएको जनाइएको छ। अब प्रकृया पुर्याएर मन्त्रालयमा आएपछि कार्यन्वयन गरिने छ।
समायोजन तथा समायोजन मिलानमा परेका, दरबन्दीभन्दा बढी भएका कतिपय स्थानीय तहमा कार्यरत स्वास्थ्यकर्मीले गत भदौदेखि तलब पाएका थिएनन्।
कर्मचारी समायोजनपछिका आर्थिक वर्षहरूमा बजेटमा दरबन्दीभन्दा बढी रहेका स्वास्थ्यकर्मी र स्तरवृद्धि पछिको तलबभत्ता स्थानीय तहमा नगएका कारण समस्या हुँदै आएको छ। जसले गर्दा फाजिलमा रहेका स्वास्थ्यकर्मीलाई समस्या हुँदै आएको थियो।
यसअघि स्वास्थ्यमन्त्री प्रदीप पौडेलले फाजिलम रहेका स्वास्थ्यकर्मीको समस्या समाधान गर्ने बताएका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।