बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य बिग्रिएपछि उनलाई अस्पताल भर्ना गरिएको छ।
खालिदाका निजी चिकित्सक प्रोफेसर जाहिद हुसैनले यसअघि नै विरामी रहेकी उनलाई नियमित परीक्षणका क्रममा अस्पताल लगिएको र डाक्टरको सल्लाहमा भर्ना गरिएको बताए।
बंगलादेश नेशनलिस्ट पार्टीकी अध्यक्ष ७९ वर्षीय पूर्वप्रधानमन्त्री खालिदा लामो समयदेखि मधुमेह, लिभर सिरोसिस, मुटुरोग, फोक्सो र किड्नीसँगै बाथ रोगबाट पीडित छिन्।
पछिल्लो समय बंगलादेशमा चलिरहेको आन्दोलन र राजनीतिक उथलपुथलबीच शेख हसिना वाजेदले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देशबाट पलायन भएकी थिइन्। त्यसपछि अन्तरिम सरकारले खालिदालाई जेलबाट रिहा गर्न आदेश दिएको थियो।
जेलबाट रिहा भएपछि स्वास्थ्यलाभका लागि अस्पतालमा भर्ना भएकी उनी केही दिनपछि डिस्चार्ज भएकी थिइन्। खालिदा जियालाई शेख हसिनाको चिरप्रतिद्वन्द्वी मानिन्छ। उनी भ्रष्टाचारको आरोपमा सन् २०१८ देखि जेलमा थिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।