|

काठमाडौं : बागलुङ जिल्लाको गलकोट नगरपालिका–२ नरेठाँटीको भुंखानीमा आज बिहान सरकारी नम्बर प्लेटको रा १ झ २०० नम्बरको बोलेरो जीप दुर्घटना भएको छ। उक्त दुर्घटनामा परि रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढागरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका नायव उपरीक्षक विजय यादवका अनुसार सोही ठाउँका २९ वर्षीय प्रेम बहादुर पुन भने घाइते भएका छन्। उनको धौलागिरी अस्पतालमा उपचार भइरहेको छ। ‘उक्त दुर्घटनामा परी गाउँपालिका उपाध्यक्ष बुढाको पनि निधन भएको पुष्टि भएको छ,अरूको पहिचान भइसकेको छैन,’उनले भने।

रुकुप पूर्वका संघीय सांसद पूर्णबहादुर घर्तीका अनुसार गाउँपालिका उपाध्यक्ष काठमाडौंमा आमासहित परिवारलाई भेट्न आएकी थिइन्। परिवारलाई भेटेर गाउँ फर्किँदै गर्दा दुर्घटनामा परी बाटोमै उनी अस्ताइन। उनले भने,‘अस्ति मसँग भेटघाट हुँदा उहाँले भोलि म गाउँ फर्किँदै छु भनेर भन्नुभएको थियो,आज दु:खद खबर सुनियाे, दुर्घटनामा उहाँ पर्नुभएछ।’

बुढाले दुई दिन अगाडिमात्र आफ्नो बिरामी आमासँगको फोटो फेसबुकमा हालेकी थिइन्। आमासहितको फोटोमा उनले लेखेकी थिइन्, '#आमा शब्द नै कति महान छ। हजुरलाई स्वास्थ लाभको कामना #आमा।'

दुर्घटना कतिबेला भएको भन्ने समेत खुलेको छैन। आज बिहान दुदीलाभाटीका प्रेम बहादुर कार्कीले घाँस काट्न जाने बेला दुर्घनाग्रस्त जीप र शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.