काठमाडौं : नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले नेपालमै बाँकी रहेको इन्टर्नसिप गर्न मिल्ने वातावरण मिलाउन माग गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले तोकिएकै मेडिकल कलेजमा इन्टर्नसिप गर्नू भनेकोमा आपत्ति जनाउँदै नेपालमै यसको व्यवस्था गर्न माग गरेको हो।
शिक्षा मन्त्रालयले सूचना जारी गर्दै बंगलादेशबाट फर्केका विद्यार्थीले तोकिएकै कलेजमा इन्टर्नसिप गर्नुपर्ने जानकारी दिएको थियो। तर, नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन,बंगलादेशले विज्ञप्ति नै जारी गरेर यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
‘बंगलादेशको परराष्ट्र मन्त्रालयले त्यहाँको बंगलादेश मेडिकल एण्ड डेन्टल काउन्सिललाई उद्धृत गर्दै पठाएको जवाफ नेपालमा शिक्षा मन्त्रालयले सार्वजनिक गरेको छ, यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,उक्त जवाफमा बंगलादेशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् विदेशी विद्यार्थीहरूले त्यही स्थित अध्ययन गरेकै मेडिकल कलेजमा इन्टर्नसिप पुरा गर्नुपर्ने छ भनिएको छ, उता रजिस्टर्ड गर्न नचाहेर आफ्नै देशको मेडिकल काउन्सिलमा रजिस्टर्ड हुन् आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने कि न मिल्ने? प्रश्नको जवाफ देखिएन, यसबाट प्रष्ट हुन्छ हाम्रो समन्वय,कूटनीतिक कति कमजोर छ भनेर,’विज्ञप्तिमा उल्लेख छ।
छिमेकी देश भारत,पाकिस्तान लगायत विभिन्न देशका विद्यार्थीहरूले बंगलादेशमा अध्ययन गरे पनि आफ्नै देशमा इन्टर्नसिप गर्न मिल्ने प्रावधान रहेको विज्ञप्तिमा उल्लेख छ।
‘र नेपाली विद्यार्थीहरूले नपाउने कदापि नि हुन सक्दैन,१० दिन भित्र प्रतिवेदन पेश गर्ने भनेर गठन गरिएको अध्ययन समितिको कार्य आपत्तिजनक छ,’विज्ञप्तिमा भनिएको छ,‘अध्ययन समितिले केही अध्ययन गरे जस्तो देखिएन, यसको हामी घोर निन्दा गर्दैछौं,समस्या समाधान गर्ने भनेर विद्यार्थीहरूलाई छल्ने काम,निरूत्साहित गर्ने काम मात्र देखियो।’
नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनले शिक्षा मन्त्रालय,परराष्ट्र मन्त्रालय हुँदै बंगलादेश स्थित नेपाली राजदूतावास मार्फत बंगलादेशको सम्बन्धित निकायहरूमा मागेको धारणा एवं अध्ययन समितिको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग गरेको छ।
‘विगत दुई महिनादेखि सम्बन्धित निकायलाई बंगलादेशमा उत्पन्न भएको सुरक्षा संवेदनशिलताको कारण नेपालमै इन्टर्नसिप गराउन माग गरिएकोमा सो भन्दा पृथक खालका जानकारी माग गरि प्रक्रियामा झन् अन्यौलता थप्ने कार्य भएको हुनाले यसलाई यथा शिघ्र सच्याई नेपालमै इन्टर्नसिप गर्न मिल्ने वातावरण बनाउन सम्बन्धित निकायहरूमा हार्दिक अपिल गर्दैछौं,’विज्ञप्तिमा उल्लेख छ।
नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसनले यस विषयमा अविलम्ब आवश्यक पहल नभए सशक्त आन्दोलनमा उत्रने समेत चेतावनी दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।