काठमाडौँ : नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार विभिन्न विधाका खेलाडीलाई सम्मान र पुरस्कार प्रदान गरेको छ। एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत शुक्रवार काठमाडौँमा उक्त सम्मान प्रदान गरिएको हो।
तेक्वान्दोकी पलेशा गोवर्धन श्रेष्ठले उत्कृष्ट पारा एथलिट अवार्ड प्राप्त गरेकी छन्। पलेशाले चौथो पारा एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक र पारा ओलम्पिकमा कांस्य पदक जितेकी थिइन्।
नेपाली महिला कबड्डी एनएसजेफ पल्सर स्पोटस् अवार्डमा वर्षको उत्कृष्ट टोली घोषित भएको छ। उक्त टोलीले चीनमा सम्पन्न एसियाली खेलकुदमा कांस्य पदक जितेको थियो।
यसैगरी भारोत्तोलनका हेमन्त पालले वर्षको उत्कृष्ट युवा खेलाडीको पुरस्कार जितेका छन्। उनले युवा खेलाडीको विधामा विजेता बन्ने क्रममा फुटबलकी प्रीति राई, टेबलटेनिसका सुजन गडाल, क्रिकेटका अर्जुन कुमाल र टेनिसकी सुनिरा थापालाई पछि पारेका थिए।
करातेकी एरिका गुरुङ चार प्रतिस्पर्धीलाई पछि पार्दै वर्षको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्। उनले एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी, क्रिकेटकी रुविना क्षेत्री र कबड्डीकी मेनुका राजवंशीलाई उछिन्दै उक्त अवार्ध हात पारेकी हुन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वर्षको उत्कृष्ट पुरुष खेलाडीको पुरस्कार जितेका छन्। रोहितले क्रिकेटकै दीपेन्द्रसिंह ऐरी, फुटबलका अनन्त तामाङ, करातेका मोहम्मद शेखु आलम र गल्फका सुवास तामाङलाई उछिन्दै उक्त पुरस्कार पाएका हुन्। विश्वकप छनोट लिग-२ खेल्न क्यानडा गएकाले पौडेलकी आमाले पुरस्कार ग्रहण गरेकी थिइन्।
करातेकी एरिका गुरुङले १९औं एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक जित्दाका प्रशिक्षक कुशल श्रेष्ठ वर्ष २०८० को सर्वोत्कृष्ट प्रशिक्षकबाट सम्मानित भए। श्रेष्ठसँगै पारा तेक्वान्दोका कविराज नेगी लामा, क्रिकेटका भारतीय प्रशिक्षक मोन्टी देसाई, कबड्डीकी पार्वती राई र भारोत्तोलनका सञ्जय महर्जन मनोनयनमा परेका थिए।
पछिल्लो दुई दशकदेखि नेपाली भलिबलको श्रीवृद्धिमा समर्पित न्यु डायमण्ड क्लबका स्वयंसेवक प्रशिक्षक कुमार राई स्पेशल अवार्डबाट सम्मानित भएका छन्। सीमित स्रोत र साधनका बीच नेपाली भबिलमा न्यु डायमन्ड स्पोर्टस् क्लबले गहिरो छाप छाडेको छ।
नेपाली महिला राष्ट्रिय भलिबल टिमकी मिड ब्लकर कविता भट्ट पिपल्स च्वाइस अवार्डबाट सम्मानित भएकी छिन्। खेलप्रेमी, राष्ट्रिय प्रशिक्षकहरू तथा खेल पत्रकारले दिएको मतका आधारमा विजेता चयन हुने पिपल्स च्वाइस विधामा कविताले मनोनयनमा परेका अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै उपाधि जितेकी हुन्। उनले कबड्डीकी मानमती बिष्ट, क्रिकेटका गुलशन झा, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई पछि पारिन्।
दक्षिण कोरियाका हि डोङ जोङले एशियन स्पोर्टस् जर्नालिस्टको अवार्ड प्राप्त गरेका छन्।
क्रिकेटका सारथि विनयराज पाण्डेलाई क्रिकेटमा गरेको योगदानको कदर स्वरूप लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।