|

काठमाडौँ : सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग गरी विदेश फरार भएका २७ जनाको खोजबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ।

शुक्रवार सिंहदरबारमा बसेको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले विदेशमा फरार रहेका गीतेन्द्रबाबु राई (जीबी राई), भरत महर्जनसहितका २७ जनाको खोजबिनमा आवश्यक जनशक्ति परिचालन गरी अनुसन्धानको दायरामा ल्याउन निर्देशन दिएको हो।

बैठकको बारेमा जानकारी दिँदै समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले आजको पहिलो बैठकमा प्रतिवेदनलाई अन्तिम रूप दिनेबारेमा महत्त्वपूर्ण छलफल गरेर छलफल प्रक्रियाको कार्यसूची, छलफलको योजना, वित्तीय विश्लेषणको बारेमा जानकारी, त्यसउपर छलफल, प्रस्तुत तथ्य तथ्यांकमा छलफल र प्रस्तुतीकरणको शैली ढाँचामा गर्ने छलफललाई व्यवस्थित गर्ने निर्णय भएको बताए।

उनले दोस्रो बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई आमन्त्रित गरिएको र विदेशमा फरार रहेका जीबी राई, भरत महर्जनसहितका २५ जना व्यक्तिका बारेमा सरकारले खोजबिनका सन्दर्भमा केके प्रगति हासिल भयो भनेर जानकारी लिएको बताए।

उनले गृह मन्त्रालयले पहल गरेर नेपाल प्रहरीका दुईजना अधिकृतलाई मलेसिया पठाएको र त्यहाँ आवश्यक समन्वय र कोसिस गरेको जानकारी पाएको पनि बताए। उनले राजनीतिक नेतृत्व तहमा कुरा भइसकेको विषय भएकाले प्रहरी र इन्टरपोलको माध्यमबाट गरिने विषयभन्दा फरक स्थितिमा रहेको भन्ने जानकारी गृह मन्त्रालयले दिएको बताए।

विदेश फरार हुनेमा २५ जना रहेकोमा आज पुनः दुईजनालाई थप गरी (सूर्यदर्शन सहकारीको लेखा प्रमुख बुद्धि गुरुङ, आर्जन बचत तथा ऋण सहकारीको फरार सचिव विदेशमा रहेको भनिएको दीपक थापा) गृह मन्त्रालयलाई पत्राचार गरिएको बताए। 

थापाले भने‚ ‘बैठकमा गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर, प्रहरी नायव महानिरीक्षक जनक भट्टराईलाई विदेशमा फरार जीबी राई, भरत महर्जनसहितका २५ जनाको बारेमा जानकारी लिएका छौँ।’

उनले नेपालबाट वित्तीय क्षेत्रमा ठगी, अपचलन र दुरुपयोग जस्ता काम गर्ने र विदेशमा गएर सुरक्षित हुने खालको प्रवृत्तिप्रति समितिमा गम्भीर चिन्ता व्यक्त गरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.