रौतहट : रौतहटको मौलापुर नगरपालिका–९ का वडा अध्यक्ष श्यामकिशोर साहमाथि यौन शोषणको गम्भीर आरोप लागेपछि स्थानीयवासीले उनको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका छन्।
मौलापुर–९ सोनरनियाका स्थानीयले एक विवाहित दलित महिलालाई विभिन्न प्रलोभन देखाइ पटक–पटक यौन शोषण गरेको आरोप लगाउँदै शुक्रवार वडा कार्यालयको अध्यक्ष बस्ने कोठामा तालाबन्दी गरेका हुन्।
स्थानीयले प्लेकार्ड र ब्यानरसहित सोनरनिया गाउँ परिक्रमा गर्दै विरोध प्रदर्शन गरेका थिए। केही दिनअघि गाउँकै दलित महिलाले वडा अध्यक्ष साहले आफूलाई विवाह गर्ने आश्वासन दिँदै विगत केही वर्षदेखि यौन शोषण गर्दै आएको र हाल विवाह गर्न अस्वीकार गर्दा आफू ठूलो समस्यामा परेको बताएकी थिइन्।
महिलाको यो आरोप सार्वजनिक भएपछि सामाजिक सञ्जालमा भाइरल भएको छ। यो घटनाले व्यापक ध्यान तानेपछि मौलापुर नगरपालिकाले भदौ ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो।
समितिलाई १५ दिन भित्रमा प्रतिवेदन तयार पार्न निर्देशन दिइएको थियो तर अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरिएकोले स्थानीयवासी असन्तुष्ट छन्।
वडाध्यक्ष साहमाथि लागेका आरोपको निष्पक्ष छानबिन र दोषी ठहरिए कडा कारवाहीको माग गर्दै स्थानीयहरूले वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
उनीहरूले छानबिन प्रतिवेदन सार्वजनिक नगरेसम्म र दोषीमाथि कारवाही नभएसम्म तालाबन्दी खुला नगर्ने चेतावनी दिएका छन्।
यस घटनाले मौलापुर नगरपालिकाभरि नै जनआक्रोशको वातावरण सिर्जना गरेको छ। स्थानीय बासिन्दाहरूले भ्रष्टाचार र यौन शोषणविरुद्ध कडा कारबाहीको माग गरिरहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।