आगामी चुनाव एक्लै लडे झन् खुम्चिने
आगामी चुनाव एक्लै लडे झन् खुम्चिने
काठमाडाैँ : देशको वर्तमान ठूलो दल नेपाली कांग्रेस आगामी निर्वाचन एक्लै लड्ने तयारीमा छ। गत आमनिर्वाचनमा वाम घटकहरू माओवादी केन्द्र र एकीकृत समाजवादीसँग मिल्दा पहिलो शक्ति बनेको कांग्रेसले अब कसैसँग चुनावी गठबन्धन नगर्ने भनेको छ।
२०८० फागुनको महासमितिबाट महामन्त्री गगन थापाले ‘कुनै पनि दलसँग चुनावी गठबन्धन नगरी एक्लै लड्ने’ विषय कांग्रेसमा प्रवेश गराएका हुन्। महासमितिबाट पारित भएको ६ महिनापछि कांग्रेसले उक्त प्रस्ताव केन्द्रीय समितिबाट पनि अनुमोदन गरिसकेको छ।
तर कांग्रेसले अब उप्रान्तका चुनाव एक्लै लड्ने भनिरहँदा गत निर्वाचनको मत विवरण केलाउँदा उसका लागि सुखद देखिँदैन। प्रत्यक्षतर्फ ५७ र समानुपातिकमा ३२ गरी ८९ सिटसहित पहिलो शक्ति बनेको कांग्रेसले आगामी चुनाव एक्लै लडेमा उसको आकार ह्वात्तै घट्ने देखिन्छ।
गत आमनिर्वाचनको मत विवरणलाई आधार मान्दा प्रत्यक्षतर्फ ५७ मध्ये ३८ ठाउँमा चुनावी गठबन्धन अर्थात् माओवादी र एकीकृत समाजवादीकै मतले कांग्रेस जितेको देखिन्छ। आगामी चुनाव एक्लै लडे ती क्षेत्र पनि उसले गुमाउने निश्चितप्रायः छ।
चुनावी गठबन्धन नभएको भए हार्ने थिए यी ३८ अनुहार
यसअघि प्रचण्ड सरकारमा मन्त्री बनेका र अहिले मन्त्री रहेका धेरै नेताहरू पनि निर्णायक रहेको माओवादी र एकीकृत समाजवादीकै मत पाउँदा सांसद बनेका हुन्।
यसरी वाम–लोकतान्त्रिक चुनावी गठबन्धनको लाभ लिनेमा वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहदेखि प्रमुख सचेतक श्याम घिमिरेसम्म पर्छन्।
१. प्रकाशमान सिंह
काठमाडौँ १ बाट लगातार चौथोपटक विजयी भएका कांग्रेस नेता प्रकाशमान सिंह वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री हुन्। उनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई माओवादी र एकीकृत समाजवादीको निर्णायक मत पाएकै कारण झिनो मतान्तरले हराएका थिए।
सिंहले पाएको कुल मत–७,१४३
रवीन्द्र मिश्रले पाएका मत–७,०१८
मतान्तर– १२५
माओवादीले समानुपातिकतर्फ पाएका मत ९६५ र नेकपा एसले पाएको मत ४३५ गरी कुल– १,४००
विजयी मतान्तरभन्दा माओवादीले समानुपातिकतर्फ पाएको मत धेरै छ। काठमाडौँ १ मा एकीकृत समाजवादीको मत पनि उनको जितमा उत्तिकै महत्त्वपूर्ण देखिन्छ। त्यस वेला माओवादी र एकीकृत समाजवादीको १४ सय मत नपाएको भए उनको हार निश्चित थियो भन्ने मत विवरणले देखाउँछ।
२. ज्ञानेन्द्रबहादुर कार्की
माओवादी–एकीकृत समाजवादीसँगको गठबन्धनकै कारण सुनसरी ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए। पूर्वमन्त्रीसमेत रहेका उनले एमालेका जगदीशप्रसाद कुसियैतलाई हराएका थिए, जहाँ माओवादी–एकीकृत समाजवादीको निर्णायक मत नपाएको भए जित सम्भव थिएन।
कार्कीले पाएको मत–३०,४८३
कुसियैतले पाएका मत ३०,३७१
विजयी मतान्तर– ११२
माओवादीको १,५३८ र एकीकृत समाजवादीको ६६३ गरी कुल– २२०१
चुनावी गठबन्धन नभएको भए माओवादी र एकीकृत समाजवादीको मत नपाउँदा नेता कार्की करिब २८ हजारमा सीमित हुन पुग्थे भने एमालेले बाजी मार्ने थियो।
३. डा. नारायण खड्का
चुनावी गठबन्धन गरेको लाभ उठाउँदै गत चुनावमा जित्ने अर्का कांग्रेस नेता डा. नारायण खड्का हुन्। उदयपुर १ बाट एमालेकी मञ्जुकुमारी चौधरीलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका उनी पूर्वपरराष्ट्रमन्त्री हुन्।
खड्काले पाएको कुल मत– ३१,२७०
चौधरीले पाएको मत– २८,८९१
मतान्तर– २‚३७९
माओवादीले समानुपातिकतर्फ पाएको ९,७३९ र एकीकृत समाजवादीको १,६२८ गरी कुल– ११,३६७
खड्काको विजयी मतान्तरभन्दा माओवादी र एकीकृत समाजवादीले समानुपातिकतर्फ पाएको मत धेरै भएकाले गठबन्धनकै कारण उनले जितेको स्पष्ट हुन्छ। अन्यथा उनी करिब १९ हजार मतमा सीमित हुँदै पराजित हुनुपर्थ्यो।
४. किशोरसिंह राठोर
वाम–लोकतान्त्रिक गठबन्धन नभएको भए कांग्रेस सहमहामन्त्रीसमेत रहेका किशोरसिंह राठोर पनि सांसद बन्ने थिएनन्। बाँके– ३ बाट उनले निटकटम प्रतिद्वन्द्वी एमालेका किस्मतकुमार कक्षपतिलाई हराएका थिए।
गत आमनिर्वाचनको मत विवरण केलाउँदा उनको जित पनि माओवादीकै कारण सम्भव भएको देखिन्छ। त्यसमा एकीकृत समाजवादीको मतले उनलाई फरक मतान्तरको जित निकाल्न मद्दत पुर्याएको छ।
राठोरले पाएको कुल मत–२९,०९७
कक्षपतिले पाएको मत–२४,३०५
मतान्तर– ४,७९०
माओवादीले समानुपातिकमा पाएको मत ५,९०१ र एकीकृत समाजवादीले पाएको मत ९१९ गरी कुल–६,८२०
गठबन्धन नगरेको अवस्थामा कांग्रेसका राठोरले माओवादी–एकीकृत समाजवादीको झन्डै ७ हजार मत गुमाउने थिए। फलस्वरूप उनी २२ हजारमा सीमित हुँदै हार बेहोर्नुपर्थ्यो।
५. श्यामकुमार घिमिरे
सिन्धुली–१ बाट सांसद निर्वाचित भएका श्यामकुमार घिमिरे प्रतिनिधिसभामा वर्तमान कांग्रेस प्रमुख सचेतक हुन्। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका प्रदीप कटुवाललाई हराएका थिए।
घिमिरेले पाएको मत–३०,३९१
कटुवालले पाएको मत–२५,५४६
मतान्तर– ४,८४५
माओवादीले समानुपातिकमा पाएको मत १२,३८१ र एकीकृत समाजवादीले पाएको ४०१ गरी कुल–१२, ७८२
विजयी मतान्तरभन्दा माओवादीले समानुपातिकतर्फ पाएको मत धेरै भएकाले स्पष्ट हुन्छ कि कांग्रेसका घिमिरेको जितमा माओवादीको मत महत्त्वपूर्ण थियो। माओवादी र एकीकृत समाजवादीले नसघाएको अवस्थामा उनी करिब १७ हजारमा सीमित हुनुपर्थ्यो, फलस्वरूप त्यहाँ एमालेले बाजी मार्ने पक्का थियो।
६. एनपी (नारायणप्रकाश) साउद
गत आमनिर्वाचनमा भएको वाम–लोकतान्त्रिक गठबन्धनकै कारण कांग्रेस नेता एनपी (नारायणप्रकाश) साउद पनि अहिले सांसद छन्। माओवादी र एकीकृत समाजवादीको साथ पाउँदा कञ्चनपुर २ बाट उनले एमालेका नरबहादुर धामीलाई हराएका थिए। उनी प्रचण्ड सरकारमा परराष्ट्रमन्त्री समेत भएका थिए।
साउदले पाएको कुल मत–२८,१३६
धामीले पाएको मत–२१,६८२
मतान्तर– ६,४५४
माओवादीले समानुपातिकतर्फ पाएको मत ७,७४० र एकीकृत समाजवादीले पाएको २,५४२ गरी कुल–१०,२८२
साउदको विजयी मतान्तरभन्दा माओवादीको मत धेरै भएकोले गठबन्धनकै कारण उनले जित निकालेको भन्ने स्पष्ट हुन्छ। त्यसमा एकीकृत समाजवादीले उनलाई फरक मतान्तरको जित दिलाएको हो। कांग्रेस एक्लै चुनाव लडेको भए। उनले करिब साढे १७ हजार मात्रै मत पाउने थिए भने जित असम्भव हुन्थ्यो।
७. शशांक कोइराला
वाम–लोकतान्त्रिक गठबन्धन नभएको भए कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका डा. शशांक कोइराला पनि पराजित हुने थिए। चुनावी गठबन्धनपछि माओवादीको साथ पाउँदा उनले लगातार चौथोपटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट सांसद चुनिए। उनले एमालेका कृष्णप्रसाद पौडेललाई हराएका हुन्।
कोइरालाले पाएको मत–२७,०६७
पौडेलले पाएको मत–२५,४७
मतान्तर–२,०२०
माओवादीले समानुपातिकतर्फ पाएको मत ३,६०५ र एकीकृत समाजवादीले पाएको मत १८७ गरी कुल–३,७९२
चुनावी गठबन्धन नभएको अवस्थामा कोइरालाको जित सम्भव थिएन भन्ने उक्त विवरणले देखाउँछ। माओवादीले मात्र मत नदिएको अवस्थामा उनी करिब २३ हजारमा सीमित हुनुपर्थ्यो। त्यस्तो अवस्थामा एमालेका पौडेलले बाजी मार्थे।
८. दीपक खड्का
कांग्रेसका अर्का नेता दीपक खड्का पनि चुनावी गठबन्धनकै कारण सांसद बनेका हुन्। संखुवासभाबाट एमालेका राजेन्द्र गौतमलाई हराएर संसद् छिरेका उनी अहिले ऊर्जामन्त्री छन्।
खड्काले पाएको मत–३२,१६१
गौतमले पाएको मत–२६,७२१
मतान्तर– ५,४४०
माओवादीले समानुपातिकमा पाएको मत ७,०५२ एकीकृत समाजवादीले पाएको २,५४८ गरी कुल–९,६००
यी मत विवरणअनुसार खड्काको जितमा पनि माओवादीको मत नै निर्णायक रह्यो। उनको विजयी मतान्तरभन्दा माओवादीको मत धेरै भएकाले उक्त मत नपाएका खण्डमा उनी पराजित हुने थिए।
९. चन्द्रकान्त भण्डारी
एक्लै लडेको खण्डमा गुल्मी १ मा पनि कांग्रेसको हार पक्का जस्तै थियो तर माओवादीको साथ पाउँदा त्यहाँबाट एमालेका प्रदीप ज्ञवालीलाई हराउँदै कांग्रेसका चन्द्रकान्त भण्डारी सांसद बने।
भण्डारीले पाएको कुल मत–३३,७४४
ज्ञवालीले पाएको मत–३२,१५२
मतान्तर– १,५९२
माओवादीले समानुपातिकमा पाएको मत ६,२५७ र एकीकृत समाजवादीले पाएको मत २५६ गरी कुल–६,५०९
माओवादीको मात्रै मत नपाएको अवस्थामा कांग्रेसका भण्डारी पराजित हुने थिए। उनी विजयी हुँदै गर्दाको मतान्तरभन्दा माओवादीले पाएको मत चार गुणा धेरै रहेकाले त्यसैको बलमा उनले चुनाव तिजेको बुझ्न कठिन छैन। माओवादी र एकीकृत समाजवादीले साथ नदिएको अवस्थामा करिब २७ हजारमा सीमित हुँदै कांग्रेसका भण्डारी पराजित हुने थिए।
१०. मोहनबहादुर बस्नेत
प्रचण्ड सरकारमा यसअघि झन्डै एक वर्ष स्वास्थ्यमन्त्री बनेका मोहनबहादुर बस्तेको जितमा पनि गठबन्धनकै भूमिका महत्वपूर्ण रहेको देखिन्छ। सिन्धुपाल्चोक–२ बाट एमालेका शेरबहादुर तामाङलाई हराउँदै उनी सांसद बनेका थिए।
बस्नेतले पाएको मत–३९,३८१
तमाङले पाएको मत–२७,५१५
मतान्तर– ११,८६६
माओवादीको मत १५,५५६ र एकीकृत समाजवादीले पाएको मत १,०१५ गरी कुल–१६,५६१
कांग्रेसका बस्नेतले जित्दै गर्दा माओवादीको साढे १५ हजार मत निर्णायक रह्यो। माओवादीको उक्त मत नपाएको भए उनको हार पक्का थियो। एकीकृत समाजवादीको मतले पनि बस्नेतका लागि मतान्तर फराकिलो बनाउन मद्दत गर्यो।
११. रामहरि खतिवडा
ओखलढुंगाबाट निर्वाचित रामहरि खतिवडाले पनि वाम लोकतान्त्रिक गठबन्धन नभएको भए जित्ने थिएनन् भन्ने गत आमनिर्वाचनको मत विवरणले देखाउँछ। उनले माओवादीकै सहयोगमा एमालेका यज्ञराज सुनुवारलाई हराएर सांसद बन्न सफल भएका हुन्।
खतिवडाले पाएको मत–३३,५५६
सुनुवारले पाएको मत–२६,७३८
मतान्तर– ६,८१८
माओवादीले समानुपातिकतर्फ पाएको मत–७,१७२ र एकीकृत समाजवादी पाएको मत ४३० गरी कुल–७,६०२
कांग्रेसका खतिवडाले ६ हजार ८१८ मतान्तले जित्दा माओवादीको मत मात्रै साढे सात हजारभन्दा बढी छ। त्यसकारण उनको जित पनि माओवादीकै कारण सम्भव भएको देखिन्छ। माओवादी र एकीकृत समाजवादीविना एक्लै चुनाव लडेको भए खतिवडा २५ हजारमा सीमित रहन्थे।
१२, शंकर भण्डारी
माओवादी र एकीकृत समाजवादीकै मतले कांग्रेसका अर्का नेता शंकर भण्डारी पनि सांसद बनेका हुन्। तनहुँ २ बाट उनले एमालेका किरण गुरुङलाई हराएका हुन्, जसमा चुनावी गठबन्धनमा रहेका दलहरू माओवादी र एकीकृत समाजवादीको साथ निकै महत्वपूर्ण रह्यो।
भण्डारीले पाएको मत–३०,६०४
गुरुङले पाएको मत–२५,१३०
मतान्तर– ५,४७४
माओवादीले समानुपातिकमा पाएको मत ५,२४७ एकीकृत समाजवादीले पाएको मत ४४४ गरी कुल–५,६९१
यसलाई हेर्दा माओवादी र एकीकृत समाजवादीको साथविना कांग्रेसका भण्डारीको जित असम्भव थियो भन्ने देखिन्छ।
१३. राजेन्द्रकुमार केसी
कांग्रेसका अर्का नेता राजेन्द्रकुमार केसी पनि माओवादी र एकीकृत समाजवादीसँग चुनावी गठबन्धन गरेकै कारण जितेका देखिन्छ। काठमाडौं १० मा उनले एमालेका हिमेश केसीलाई हराएका थिए।
कांग्रेसका केसीले पाएको मत–१४,४६३
एमालेका केसीले पाएको मत–११,७९१
मतान्तर– २,६७२
माओवादीको समानुपातिक मत ४,२७१ र एकीकृत समाजवादीको मत १,७१६ गरी कुल– ५,९८७
माओवादीको मात्रै साथ नपाएको भए पनि कांग्रेसका केसीको हार पक्का थियो भन्ने देखिन्छ। उनले जित्दै गर्दा प्राप्त गरेको मतान्तरभन्दा माओवादीको समानुपातिक मत धेरै भएकाले त्यही निर्णायक थियो भन्ने स्पष्ट देखिन्छ। माओवादी र एकीकृत समाजवादीसँग नमिलेको भए उनी करिब साढे ८ हजारमा सीमित हुने थिए।
१४. उदयशमशेर राणा
ललितपुर–१ बाट निर्वाचित कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले पनि चुनावी गठबन्धनकै कारण जितेका थिए भन्ने विवरणले देखाउँछ। उनले एमालेका नवराज सिलवाललाई हराएका थिए।
राणाले पाएको ममत–२३,८९२
सिलवालले पाएको मत–१९,२७८
मतान्तर– ४६१४
माओवादीले समानुपातिकमा पाएको मत ५,६७४ र एकीकृत समाजवादीले पाएको ३५३ गरी कुल–६,०२७
राणाको जितमा पनि माओवादी नै निर्णायक थियो। माओवादीको साथ नपाएको अवस्थामा कांग्रेसबाट पराजित हुने सूचीमा राणाको नाम पनि थपिन्थ्यो।
१५. राजेन्द्र बजगाईं
माओवादीको बलियो जनमत भएको क्षेत्र गोरखा–१ बाट माओवादीकै साथले जित्ने अर्का कांग्रेस सांसद राजेन्द्र बजगाईं हुन्। उक्त क्षेत्रमा ठूला दलहरू एक्लाएक्लै लडे पनि सहजै माओवादीले जित्ने इलाका हो।
तर चुनावी गठबन्धन गरेपछि कांग्रेसको भागमा परेको गोरखा १ मा आफैँले सहयोग गरेर माओवादीले बजगाईंलाई जितायो। बजगाईंले एमालेका रामशरण बस्नेतलाई भारी मतान्तरले हराएका थिए।
बजगाईंले पाएको मत–३३,४२८
बस्नेतले पाएको मत–१६,७८५
मतान्तर–१६,६४३
माओवादीले समानुपातिकमा पाएको मत १८,४७१, एकीकृत समाजवादीको २२६ गरी कुल–१८,६९७
गोरखा १ मा कांग्रेसका बजगाईंको जित माओवादीको साथविना सम्भव थिएन। माओवादीको साथ मात्रै नपाएको भए उनी साढे १४ हजार मतमा सीमित हुँदै पराजित हुनुपर्थ्यो।
१६. दिलेन्द्रप्रसाद बडू
कांग्रेसले माओवादीसँग चुनावी गठबन्धन नगरेको अवस्थामा दिलेन्द्रप्रसाद बडूको संसद् यात्रा पनि एमालेले पूर्णविराम लगाउँथ्यो। दार्चुलाबाट उनी माओवादीको ८ हजारभन्दा बढी मत पाएर २ हजार मतान्तरले मात्रै जिते। बडूले संसद्को यात्रालाई निरन्तरता दिने क्रममा एमालेका गणेशसिंह ठगुन्नालाई हराएका थिए।
बडूले पाएको मत–२८,५१५
ठगुन्नाले पाएको मत–२६,३८१
मतान्तर–२,१३४
माओवादीको समानुपातिक मत ८,१९० र एकीकृत समाजवादीको ४६३ गरी कुल– ८,६२६
माओवादीको ८ हजार मत नपाएको भए बडू एमालेका ठगुन्नाभन्दा निक्कै पछि पर्थे तर माओवादी–एकीकृत समाजवादीसँग भएको चुनावी गठबन्धनकै लाभ लिँदै उनले पनि बाजी मारेका हुन्।
१७. दुर्लभ थापा क्षेत्री
तत्कालीन चुनावी गठबन्धनकै कारण भक्तपुर–२ बाट दुर्लभ थापा क्षेत्री पनि विजयी भएका थिए। माओवादी–एकीकृत समाजवादीको साथले थापा एमालेका महेश बस्नेतलाई हराउन सफल भएका हुन्।
थापा क्षेत्रीले पाएको मत–२४,२३९
बस्नेतले पाएको मत–२३,२८२
मतान्तर– ९५७
माओवादीको समानुपातिक मत २, ७३१ र एकीकृत समाजवादीको १,६७९ गरी कुल–४,४१०
भक्तपुर २ मा माओवादी वा एकीकृत समाजवादी कुनै एकले मात्रै कांग्रेसलाई साथ नदिएको अवस्थामा कांग्रेसका थापा क्षेत्रीको जित असम्भव थियो।
१८. सञ्जयकुमार गौतम
बर्दिया–१ मा कांग्रेसका सञ्जयकुमार गौतमका लागि पनि माओवादीको साथ निकै महत्त्वपूर्ण रह्यो, जसकारण उनी सांसद बन्न सफल भए। उनले एमालेका लक्ष्मणराज ज्ञवालीलाई हराएका हुन्।
गौतमले पाएको मत–३०,६११
ज्ञवालीले पाएको मत–२६,१५५
मतान्तर–४,४५६
माओवादीले समानुपातिकमा पाएको मत ११,९३९ र एकीृकत समाजवादीको ८९४ गरी कुल–१२,८३३
गौतमले जितका लागि पाएको मतान्तरभन्दा झन्डै तीन गुणा बढी माओवादीको समानुपातिक मत बर्दिया १ मा छ। माओवादीको उक्त मत नपाएको भए कांग्रेसका गौतम १७ हजार मतमा सीमित हुँदै हार्नुपर्ने थियो। सोही कारण उनको जितमा पनि माओवादीसँगको चुनावी गठबन्धन निक्कै फलदायी सावित भएको देखिन्छ।
१९. योगेश गौचन
मुस्ताङबाट कांग्रेसका योगश गौचन पनि माओवादीकै साथले जितेका थिए। उनले एमालेका प्रेमप्रसाद तुलाचनलाई ९१४ मतान्तरले हराएका थिए, जुन माओवादी र एकीकृत समाजवादीकै साथले सम्भव भएको देखिन्छ।
गौचनले पाएको मत–३,९९२
तुलाचनले पाएको मत–३,०७८
मतान्तर–९१४
माओवादीको समानुपातिक मत ९८९ र एकीकृत समाजवादीको ५५– १०४४
माओवादी एकीकृत समाजवादीले नसघाएको भए कांग्रेसका गौचन करिब २‚९०० मा सीमित हुने थिए भए भने जित असम्भव थियो भन्ने उल्लिखित विवरणबाट स्पष्ट हुन्छ।
२०. पुष्पबहादुर शाह
अछाम २ मा कांग्रेसका पुष्पबहादुर शाहको जित पनि चुनावी गठबन्धनकै कारण सम्भव भएको देखिन्छ। उनले निकटम प्रतिद्वन्द्वी एमालेका यज्ञबहादुर बोगटीलाई हराएका हुन्।
शाहले पाएको मत–२२,९५४
बोगटीले पाएको मत–१६,११४
मतान्तर– ६,८४०
माओवादीको समानुपातिक मत ५,३३४ र एकीकृत समाजवादीको १६२३ गरी कुल–६,९५७
चुनावी गठबन्धन नगरी चुनाव लडेको अवस्थामा कांग्रेसका शाह १५ हजारमा मतमा सीमित हुन्थे। जुन एमाले एक्लैले पाएको मतभन्दा कम हो।
२१. वीरबहादुर बलायर
कैलाली ४ बाट कांग्रेसका वीरबहादुर बलायरको जितमा पनि वाम लोकतान्त्रिक गठबन्धन फलदायी सावित भएको देखिन्छ। एमालेका लेखराज भट्टलाई हराउन कांग्रेस एक्लैले सम्भव थिएन भन्ने कुरा माओवादी र एकीकृत समाजवादीको मतबाट बुझ्न सकिन्छ।
बलायरले पाएको मत–२६,१७५
भट्टले पाएको मत–२२,६६३
मतान्तर– ३,६१२
माओवादीले पाएको समानुपातिक मत ५,३४२ र एकीकृत समाजवादीले पाएको मत ४,५६० गरी कुल–९,९०२
कांग्रेसका बलायरले ३‚६१२ बढी मतले जित्दै गर्दा माओवादी र एकीकृत समाजवादीको समानुपातिक मत मात्रै झन्डै १० हजार छ। अर्थात् उक्त मतविना बलायर करिब १६ हजार मतमा सीमित हुँदै पराजय हुने थिए भन्ने विवरणबाट स्पष्ट हुन्छ।
२२. दिक्पालकुमार शाही
दैलेख २ बाट कांग्रेसका दिक्पालकुमार शाही पनि गठबन्धन कै कारण जितेका सांसद हुन्। माओवादी र एकीकृत समाजवादीकै साथ पाएर उनले एमालेका लक्ष्मीप्रसाद पोखरेललाई हराएका थिए।
शाहीले पाएको मत–२०,१८३
पोखरेलले पाएको मत–२०,१६
मतान्तर– १६७
माओवादीको समानुपातिक मत ६,३५४ र एकीकृत समाजवादीको मत १०७५ गरी कुल– ७,४२९
गत आमनिर्वाचनको यो मत विवरणअनुसार कांग्रेस एक्लै लडेको अवस्थामा दैलेख २ मा पनि कांग्रेसको जित सम्भव थिएन तर माओवादी र एकीकृत समाजवादीको झन्डै साढे ७ हजार मत पाउँदा कांग्रेसका शाही नो मतान्तरले विजयी भएका हुन्।
२३. खबहादुर गर्बुजा
म्याग्दीबाट खबहादुर खर्बुजा पनि गठबन्धन गरेर कांग्रेस चुनाव लडेकैले विजयी भएका थिए। उनले एमालेका हरिकृष्ण श्रेष्ठलाई हराएका हुन्।
खर्बुजाले पाएको मत–२४,२१
श्रेष्ठले पाएको मत–२०,१८९
मतान्तर– ३,८३२
माओवादीको समानुपातिक मत ९,०७० र एकीकृत समाजवादीको २८५ गरी कुल–९,३५५
माओवादीको ९ हजार मत नै कांग्रेसका गर्बुजा जित्ने प्रमुख आधार बनेको थियो। माओवादीले साथ नदिएको अवस्थामा उनी १४ हजार मतमा सीमित हुँदै पराजय बेहोर्नुपर्ने अवस्था आउँथ्यो।
२४. हृदयराम थानी
सुर्खेत २ बाट निर्वाचित कांग्रेस सांसद हृदयराम थानीका लागि चुनावी गठबन्धन वरदान सावित भएको देखिन्छ। एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई हराउन माओवादीसँगको गठबन्धनकै कारण सम्भव भएको देखिन्छ।
थानीले पाएको मत–३४,६२५
बुढाक्षेत्रीले पाएको मत–२९,५५८
मतान्तर– ५,०६७
माओवादीले समानुपातिकमा पाएको मत १०,०५९ र एकीकृत समाजवादीको २,५०७ गरी कुल–१२,५६६
माओवादीले सामानुपातिकमा पाएको मत मात्रै थानीले पाएका कुल मतमा नजोड्दा उनी एमालेका बुढाक्षेत्रीभन्दा झन्डै पाँच हजार पछि देखिन्छन्। तर गठबन्धनमा रहेका माओवादीसँगै एकीकृत समाजवादीले पनि साथ दिँदा उनको जित सम्भव थियो भन्ने स्पष्ट हुन्छ। एमालेका उम्मेदवारले साढे २९ हजार मत पाउँदा कांग्रेस एक्लै लडको अवस्थामा थानी २२ हजार मतमा सीमित हुन्थे।
२५. देवप्रसाद तिमिल्सिना
रौतहट ४ बाट कांग्रेसका देवप्रसाद तिमिल्सिना पनि चुनावी गठबन्धन नभएको भए जित्ने थिएनन् भन्ने गत आमनिर्वाचनको मत विवरण केलाउँदा स्पष्ट हुन्छ। उनले माओवादी र एकीकृत समाजवादीको साथकै कारण एमालेका उद्धवप्रसाद रेग्मीलाई हराएका थिए।
तिमिल्सिनाले पाएको मत–३४,१६१
रेग्मीले पाएको मत–२६,५५९
मतान्तर– ७,६०२
माओवादीको समानुपातिक मत ९,३१९ र एकीकृत समाजवादीको मत ९,१७९ गरी कुल–१८,४९८
कांग्रेस एक्लै लडेका भए तिमिल्सिना साढे १५ हजार हाराहारीको मतमा सीमित हुने थिए भने जित निकै टाढा हुन्थ्यो। तर गठबन्धन गरेका दलहरूबाट १८ हजार बढी मत पाउँदा राम्रो मतान्तरसहित उनले जितेको देखिन्छ।
२६. विष्णुकुमार कार्की
गठबन्धन नभएको भए पूर्वी नवलपरासी २ बाट कांग्रेसका अर्का नेता विष्णुकुमार कार्की पनि जित्ने थिएनन्। एमालेका तिलबहादुर महत क्षेत्रीवरुद्ध जित निकाल्न माओवादीकै कारण सम्भव भएको देखिन्छ।
कार्कीले पाएको मत–३६,१३२
महत क्षेत्रीले पाएको मत–३४,११०
मतान्तर– २०२२
माओवादीको समानुपातिक मत ३,५१९ र एकीकृत समाजवादीको १२१४ गरी कुल–४,७३३
चुनावी गठबन्धन नभएको अवस्थामा कांग्रेसका कार्कीको जित सम्भव थिएन। माओवादी र एकीकृत समाजवादीको साढे चार हजार बढी मत नपाएको भए एमालेका महत क्षेत्री भन्दा उनी निकै मतान्तरले पराजित हुने थिए।
२७. राजु थापा
स्याङ्जा १ मा राजु थापाको जित पनि माओवादीकै कारण सम्भव भएको देखिन्छ। माओवादीको करिब ३५ सय मत नै एमालेका नारायणप्रसाद मरासिनीलाई हराउने मुख्य हतियार बनेको विवरणले देखाउँछ।
थापाले पाएका मत–३१,९९९
मरासिनीले पाएका मत–२८,७४४
मतान्तर–३,२५५
माओवादीको समानुपातिक मत–३,५७९ र एकीकृत समाजवादीको मत ४५२ गरी कुल– ४०३१
माओवादी र एकीकृत समाजवादी चार हजार ३१ मत नपाएको अवस्थामा कांग्रेसका थापा एमालेका मरासिनीभन्दा करिब हजार मतले पछि पर्ने थिए।
२८. डिल्लीराज पन्त
कैलाली ५ बाट डिल्लीराज पन्तले पनि कांग्रेस एक्लै चुनाव लडेको अवस्थामा जित्न सम्भव थिएन। तर गठबन्धनमार्फत चुनाव लड्न तयार भएका माओवादीकै कारण उनले एमालेका नारदमुनी रानालाई हराएका थिए।
पन्तले पाएको मत–२१,३९२
रानाले पाएको मत–२०,३१८
मतान्तर–१०७४
माओवादीको समानुपातिक मत ५,७३६ र एकीकृत समाजवादीको ९१६ गरी कुल– ६,६५२
माओवादीको साढे ६ हजार मत नपाएको अवस्थामा कांग्रेसका पन्त एमालेका रानाभन्दा झन्डै पाँच हजार मतले पछि पर्ने थिए।
२९. रामकृष्ण यादव
धनुषा २ मा पनि कांग्रेसले गठबन्धन गरेकै कारण जितेको थियो। त्यहाँ उम्मेदवार बनेका रामकृष्ण यादवले माओवादीको साथ पाएकै कारण एमालेका उमाशंकर अरगरियालाई हराएका थिए।
यादवले पाएको मत–२०,११२
अरगरियाले पाएको मत–१९,९५५
मतान्तर–१५७
माओवादीको समानुपातिक मत–५,७५९
माओवादीको साढे पाँच हजार बढी मत पाउँदासमेत मात्रै १५७ मतको जित निकालेका कांग्रेसका यादवले एक्लै लडेको अवस्थामा भने ठूलै हार बेहार्नु पर्थ्यो। एकीकृत समाजवादीले भने आफ्नै उम्मेदवारी उठाएको थियो।
३०. दीपक गिरी
माओवादीसँगको गठबन्धनकै कारण सांसद निर्वाचन कांग्रेसका अर्का नेता दीपक गिरी पनि हुन्। दाङ ३ मा उनले माओवादीको झन्डै ११ हजार मत पाउँदा एमालेकी कोमल वलीविरुद्ध जित निकालेका थिए।
गिरीले पाएको मत–३६,९११
वलीले पाएको मत–२९,०९२
मतान्तर–७,८१९
माओवादीले समानुपातिकमा पाएको मत १०,९२६ र एकीकृत समाजवादीको ६९१ गरी कुल–११,६१७
माओवादी र एकीकृत समाजवादीबाट साढे ११ हजारभन्दा बढी मत नपाएको अवस्थामा कांग्रेसका गिरीले जित्ने अवस्था थिएन। तर ती दुई वाम घटकसँग गठबन्धन गरेकैले दाङ २ बाट उनी बाजी मार्न सफल भएका थिए।
३१. रामनाथ अधिकारी
धादिङ २ बाट कांग्रेसका रामनाथ अधिकारी पनि तत्कालीन चुनावी गठबन्धन बनेकैले विजयी भएका थिए। उनले माओवादी र एकीकृत समाजवादीको मत पनि पाउँदा एमालेका खेमप्रसाद लोहनीलाई हराएका थिए।
अधिकारीले पाएको मत–३४,७३६
लोहनीले पाएको मत–२५,१९०
मतान्तर–१०,६४५
माओवादीको समानुपातिक मत ११,४९४ र एकीकृत समाजवादीको २,३९४ गरी कुल– १३,८८८
माओवादीको झन्डै साढे ११ हजार र एकीकृत समाजवादीको २३ सय बढी मत नपाएको भए कांग्रेसका अधिकारी एमालेका लोहनीभन्दा पछि पर्ने थिए, अर्थात् जित असम्भव थियो।
३२. पूर्णबहादुर तामाङ
रामेछापबाट पूर्णबहादुर तामाङको जित पनि कांग्रेस एक्लै लडेको अवस्थामा सम्भव थिएन। उनले माओवादीको २१ हजार बढी मत पाउँदा एमालेका कैलाश ढुङ्गेलविरुद्ध १६ हजार बढी मतान्तरको जित निकाल्न सफल भए।
तामाङले पाएको मत–४७,०९९
ढुङ्गेलले पाएको मत–३०,७३०
मतान्तर–१६,३६९
माओवादीको समानुपातिक मत २१,०५४ र एकीकृत समाजवादीको १३४८ गरी कुल–२२,४०२
कांग्रेसका तामाङले माओवादीबाट मात्रै २१ हजार बढी मत पाएर जितेका हुन्। रामेछाप माओवादीको राम्रो जनमत भएको क्षेत्र हो। कांग्रेस एक्लै लडेको खण्डमा तामाङ फराकिलो मतान्तरले पराजित हुने थिए।
तर गठबन्धन गरेको दल माओवादी र एकीकृत समाजवादीबाट २२ हजार बढी मत पाउँदा उनले शानदार जित निकालेका थिए।
३३. डिगबहादुर लिम्बु
माओवादीको निर्णायक मत पाएर मोरङको १ बाट कांग्रेसका डिगबहादुर लिम्बु सांसद बनेका थिए। उनले निकटतम प्रतिद्वन्द्वी एमालेका घनश्याम खतिवडालाई झिनो मतान्तरले हराएका थिए।
लिम्बूले पाएको मत–२७,२९७
खतिवडाले पाएको मत–२६,८६७
मतान्तर– ४३० मात्रै
माओवादीले समानुपातिकमा पाएको मत ६,४४५ र एकीकृत समाजवादीको २,८७४ गरी कुल–९,३१९
माओवादी र एकीकृत समाजवादीको उक्त ९ हजार बढी मत नपाएको अवस्थामा लिम्बु १७ हजारमा सीमित हुँदै पराजय बेहोर्नुपर्थ्यो।
३४. ऐनबहादुर शाही
ऐनबहादुर शाही मुगुको प्रतिनिधित्व गर्ने सांसद हुन्। वाम लोकतान्त्रिक गठबन्धनकै कारण उनी पनि संसद् छिरेका नेता हुन्। उनले एमालेका राजबहादुर कार्कीलाई हराएका थिए।
शाहीले पाएको मत– १४,७०६
कार्कीले पाएको मत–१०,७१०
मतान्तर– ३,९९६
माओवादीको समानुपातिक मत ४,६५० र एकीकृत समाजवादीको २,६१२ गरी कुल–७,२६२
यो विवरणबाटै स्पष्ट हुन्छ कि माओवादी र एकीकृत समाजवादीको ७ हजार बढी मत नपाएको भए शाहीको हार निश्चित थियो।
३५. सुरेन्द्र आचार्य
सुरेन्द्र आचार्य कपिलवस्तु २ बाट गठबन्धनकै कारण सांसद बनेर मन्त्रीसमेत भइसकेका छन्। उनले गत आमनिर्वाचनमा एमालेका वृजेशकुमार गुप्तालाई हराएका थिए।
आचार्यले पाएको मत–३९,०१४
गुप्ताले पाएको मत–३८,६९७
मतान्तर– ३१७ मात्रै
माओवादीको समानुपातिक मत १२२४ र एकीकृत समाजवादीको मत १२४ गरी कुल– १३४८
कपिलवस्तु २ मा माओवादीको मत निर्णायक थियो। आचार्यलाई माओवादीको १२ सय बढी मत मात्रै नगएको भए उनको जित सम्भव थिएन। माओवादी र एकीकृत समाजवादीको १३ सयभन्दा धेरै मत नपाएको अवस्थामा उनको हार निश्चित थियो।
३६. तेजुलाल चौधरी
तेजुलाल चौधरी वर्तमान युवा तथा खेलकुदमन्त्री छन्। माओवादी र एकीकृत समाजवादीकै साथले सप्तरी ४ बाट जितेर अहिले उनले अहिले मन्त्री बन्ने अवसर पाएका हुन्। उनले त्यहाँ जसपा नेपालका बालकिशोर यादवलाई हराएका थिए।
चौधरीले पाएको मत–२३,४९१
यादवले पाएको मत–१७,९७७
मतान्तर ५,५१४
एकीकृत समाजवादीको समानुपातिक मत ६,३३८ र माओवादीको २,२६४ गरी कुल–८,६०२
खासगरी एकीकृत समाजवादीको मत चौधरीको जितमा निर्णायक बनेको र माओवादीले फरक मतान्तरको जित निकाल्यो सहयोग पुगेको देखिन्छ। एकीकृत समाजवादी र माओवादीको साढे ८ हजार बढी मत नपाएको भए कांग्रेस चौधरी साढे १४ हजारमा सीमित हुँदै हार बेहोर्नुपर्ने थियो।
३७. महेन्द्रकुमार राय
महोत्तरी ४ मा महेन्द्रकुमार रायको जित पनि गठबन्धनकै कारण सम्भव भएको थियो। माओवादीको निर्णायक मत पाएपछि उनले निकटतम प्रतिद्वन्द्वी जसपाका सुरेन्द्रकुमार यादवलाई हराएका थिए।
रायले पाएको मत–२५,४४८
यादवले पाएका मत–२१,३३१
मतान्तर–४,११७
माओवादीको समानुपातिक मत ९,०७२ र एकीकृत समाजवादीको २९६ गरी कुल–९‚३६८
कांग्रेसका रायको जितमा चुनावी गठबन्धनमा रहेको माओवादीको मत निर्णायक रहेको स्पष्ट देखिन्छ। उक्त मत मात्रै नपाएको अवस्थामा करिब १६ हजार मतमा सीमित हुँदै हार बेहोर्नु पर्ने अवस्था बन्थ्यो।
३८. सीता गुरुङ
सीता गुरुङ पनि तत्कालीन चुनावी गठबन्धनकै कारण तेह्रथुम १ बाट सांसद बनेकी थिइन्। एमालेका विजय सुब्बालाई हराएर सांसद बनेकी उनी मन्त्रीसमेत भइसकेकी छन्। कांग्रेस एक्लै लडेको अवस्थामा उनको जित सम्भव थिएन।
गुरुङले पाएको मत–१९,७०७
सुब्बाले पाएको मत–१८,६३१
मतान्तर– १‚०७६
माओवादीको समानुपातिक मत ३,०६६ र एकीकृत समाजवादीको ५९८ गरी कुल–३,६६४
गठबन्धन नभएको भए गुरुङले माओवादीको ३ हजार मत पाउने थिइनन् भने एकीकृत समाजवादीको मत पनि गुमाउने थिइन्। यस्तो अवस्थामा उनी करिब १६ हजार मतमा सीमित हुँदै पराजित हुनुपर्थ्यो।
रास्वपाको कृपाले गगनको जित !
काठमाडौं ४ बाट सांसद बनेका कांग्रेसका महामन्त्रीसमेत रहेका गगनकुमार थापामाथि भने रास्वपाले कृपा गरेको थियो। त्यहाँ रास्वपाले उम्मेदवारी दिएर पनि फिर्ता लिएका थियो।
थापाले २१,३०२ ल्याएर जितेका थिए भने एमालेका राजन भट्टराईले १३,८५५ पाएका थिए। उनीहरूबीचको मतान्तर ७,४४७ थियो, जब कि काठमाडौं ४ मा उम्मेदवारी नदिए पनि रास्वपाले समानुपातिकमा झन्डै साढे ९ हजार मत पाएका छ।
गगनकै आग्रहमा रास्वपा सभापति रवि लामिछाने आफ्नो उम्मेदवार फिर्ता गराउन तयार भएको भनिएको थियो। तर रास्वपाले उम्मेदवार फिर्ता नलिएको भए गगनको ९ हजार बढी मत काटिँदा जित असम्भव पनि हुन सक्थ्यो भन्ने विवरणले देखाउँछ। किनकि काठमाडौं ४ मा कांग्रेसको साढे ११ हजार मात्रै समानुपातिक मत छ।
गगनको जितमा गठबन्धनले पनि थप बल पुर्याएको छ। माओवादीको समानुपातिक मत १‚५६४ र एकीकृत समाजवादीको १‚७१३ गरी ३२ सय बढी मत पनि गठबन्धन गरेकाले गगनकै पोल्टामा परेको बुझ्न सकिन्छ।
एक्लै लड्दा पनि सुनिश्चित थियो यी १७ नेताको जित
गत आमनिर्वाचनमा गठबन्धन गरेकै कारण थप ३९ सिट लाभ गरेर देशको पहिलो शक्ति बनेको कांग्रेसका बलियो जनमत भएको केही क्षेत्र पनि छन्। जहाँ गठबन्धन नहुँदा पनि कांग्रेस उम्मेदवारको जित सुनिश्चित हुन्छ।
गत आमनिर्वाचनको मत विवरण हेर्ने हो भने डडेलधुराबाट कांग्रेस सभापति शेरबहादुर देउवाको जित कांग्रेस एक्लै लड्दा पनि सुनिश्चित थियो। सुर्खेत १ पनि उपसभापति पूर्णबहादुर खड्का, स्याङ्जा २ मा अर्का उपसभापति धनराज गुरुङ र झापा १ मा महामन्त्री विश्वप्रकाश शर्माले जित पनि गठबन्धन नभएको अवस्थामा पनि पक्का थियो।
यस्तै बाजुराबाट अहिलेका पर्यटनमन्त्री बद्री पाण्डेको जित पनि सुनिश्चित थियो भने मोरङ ६ बाट नेता शेखर कोइराला, नुवाकोट २ बाट अर्जुननरसिंह केसी, मोरङ ३ बाट सुनिलकुमार शर्मा, नवलपरासी (पश्चिम) क्षेत्र नम्बर १ बाट विनोद चौधरी, सप्तरी ३ मा दिनेशकुमार यादवको जित पनि सुनिश्चित नै थियो।
रसुवाबाट कांग्रेसका मोहन आचार्य, कञ्चनपुर ३ मा अहिलेका गृहमन्त्री रमेश लेखक, पर्सा २ बाट वर्तमान कानूनमन्त्री अजय चौरसिया, पर्सा ४ बाट रमेश रिजाल पनि गठबन्धनको सहयोगविना पनि विजयी हुने पक्का थियो।
काठमाडौं ३ मा सन्तोष चालिसे, काठमाडौं ५ मा अहिलेका स्वास्थ्यमन्त्री प्रदीप पौडेल र मनाङबाट टेकबहादुर गुरुङ पनि कांग्रेस एक्लै लडेको अवस्थामा पनि जित्ने नै थिए। गत आमनिर्वाचनमा गठबन्धन गरेका माओवादी र एकीकृत समाजवादीको मत नपाए पनि मतान्तर केही कम हुन्थ्यो तर यी १७ क्षेत्रमा कांग्रेस उम्मेदवारको जित निश्चित नै थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।