इन्द्रजात्रा असोज १ गते

|

ललितपुर  : यसपालिको इन्द्रजात्रा विधिवत् रूपमा शुरु भएको छ।

भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वज सहितको लिङ्गो ठड्याइए पछि यो जात्रा शुरु भएको हो।

आइतबार बिहान ८ बजेर २६ मिनेटमा लिङ्गो ठड्याइएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ। 

नेपाल भाषामा ’योसीं’ भनिने ’इन्द्रध्वजोत्थानलाई ’ शुभ मंगल सूचकका विभित्र चिह्न राखेर  ध्वजापताका झुन्ड्याएको हुन्छ। लिङ्गोलाई ध्वजापताका सहित सिँगारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ। लिङ्गो उठाउने क्रममा गुरुज्यूको पल्टनसहितको लावालस्कर पुगेका थिए। पल्टनले हर्ष बढाइँ पनि गरेका थिए।  हनुमानढोका परिसरमा ठड्याइएको लिंगो आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेपछि जात्रा सकिने परम्परा छ। 

यसपालि इन्द्रजात्रा असोज १ गते मंगलबार परेको छ। आइतबार लिंगो ठड्याउनुअघि किलागलका ज्यापु समुदायले विशेष तान्त्रिक देवी नाच प्रस्तुत गरेका थिए। लिङ्गो ठड्याइएपछि सत्यको जितको प्रतीक स्वरूप इन्द्रध्वज पनि फहराउने चलन छ। ठड्याएको लिंगोको फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गर्ने चलन छ। 

काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलबाट ल्याइएको लिङ्गो ठड्याउने परम्परा छ। तान्त्रिक विधिद्वारा पूजा गरी त्यस जंगलमा छोडिएको बोकाले स्पर्श गरेको रूखलाई इन्द्रध्वजाको लागि लिङ्गोको रूपमा विधिपूर्वक तयार पारिन्छ। 

अष्टध्वजा सहित सिंगारिएको लिंगो ठड्याउँदा मंगलधुन बजाइएको छ। रणबहादुर शाहको पालादेखि हनुमानढोका दरवार परिसरमा लिङ्गो ठड्याउन थालिएको र त्यसअघि मरु टोलस्थित नारायणमन्दिर अगाडि लिंगो ठड्याउने चलन रहेको भनाइ छ। कतै कतै इन्द्रध्वजा उठाउने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ।  

‘हनुमानढोका दरवारक्षेत्रमा रहेको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार उक्त लिंगो ठड्याएपछि विभित्र प्रकारका नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ’‚ २५ नम्बर वडाको काठमाडौं जात्रा व्यवस्थापन समितिका अध्यक्ष राजन महर्जनले भने‚ ‘जात्राभरि लाखेनाच, महाकाली नाच , दशअवतार तथा देवताका राजा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ।’ 

लिंगो ठड्याएको दिन उपत्यकाका नेवार समुदायले मंगलबार काँचो माटोको दियोमा बत्ती बालेर उपाकु पर्व मनाएका छन्। यो जात्राका वेला वर्षभरिमा दिवङ्गत पितृको सम्झनामा घरका सबै सदस्य मिलेर पितृको उद्धारका लागि स्तोत्रपाठ, शान्तिपाठ गर्नुका साथै विभिन्न मठमन्दिरमा गई पूजाअर्चना गरिन्छ।

उनका अनुसार जात्राको अवधिमा हनुमानढोकामा रहेको तलेजु भवानीका अगाडि ५०४ जना कुमारीलाई पूजा गरिदै छ। गुठी संस्थानका अनुसार गणेश, कुमारी भैरवको पनि पूजा गर्दै इन्द्रजात्रा मनाइँदै छ। दरबारमा विधिपूर्वक ठड्याएको लिंगोको त्यो दिन पूजा गरिन्छ।

काठमाडौंका मानन्धर समुदायले गर्ने यो जात्राका वेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ। काठमाडौँका तल्लो टोल, बिचको टोल र माथिल्लो टोलका स्थानीयवासीले गणेशकुमार, कुमारी र भैरवको रथ तान्ने परम्परा छ। अघिल्लो दिन तल्लो टोल जैशीदेवलतर्फ श्रीकुमारी यात्रा र पछिल्लो दिन माथिल्लो टोल नरदेवीमा श्रीकुमारी यात्रा हुने महर्जनले बताए। 

आश्विन कृष्ण चौथीमा नानीचाया भनी किलागलतर्फ कुमारी रथयात्रा गरेर  गणेश‚ भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई शुभ साइतमा लिङ्गो ढालेपछि यसपालीको इन्द्रजात्रा सकिन्छ। परिक्रमाका क्रममा नानीचाया भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई फेरि वसन्तपुर नै पुर्‍याउने चलन छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाइन्छ। 

पौराणिक कथा अनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौँ आएका थिए। अरूको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लोककथन छ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भत्रे मान्यता छ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्र जात्रा मनाउने गरिन्छ। 

जात्राको मुख्य दिन हनुमानढोका दरवार क्षेत्रमा दिउँसो राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक हुने काठमाडौँ जात्रा व्यवस्थापन समितिका राजन महर्जनले जानकारी दिए। यो जात्राका वेला जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिने परम्परा छ। इन्द्रजात्रामा तानिने रथयात्राको राष्ट्रपतिले अवलोकन गर्नेछन्। 

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तअको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ।

संस्कृतिविद्हरूका अनुसार नेपालमा देवराज इन्द्रले पारिजातको फूल र कर्कलो टिप्न लागेका वेला चोर दोष लगाउँदै मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको किंवदन्ती  छ।

इन्द्र आफ्ना आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो लिन आएका थिए। इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ।

इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभित्र प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ। साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।
    
भैरवको प्रदर्शनी 
 
इन्द्रजात्राका अवसरमा काठमाडौँका विभिन्न भैरवको प्रदर्शनी गरिन्छ। इन्द्रजात्राका अवसरमा प्रदर्शन गरिने श्वेत भैरव, स्वच्छन्द भैरव, हयग्रीव भैरव र घैटो भैरवको प्रदर्शनी गरिने हो। श्वेत भैरवलाई क्षमापूजा गरेसँगै भैरवको प्रदर्शनीको  तयारी शुरु हुन्छ।

यी भैरवहरू  हनुमानढोकामा ३२ हाते लिंगो ठड्याएसँगै प्रदर्शनीमा राखिएको काठमाडौँ जात्रा व्यवस्थापन समितिका संयोजक राजन महर्जनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.