|

बैतडी : बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्रा शुरु भएको छ।

दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंमा रहेको उक्त मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला भाद्र शुक्ल द्वादशीबाट शुरु भएको हो।

भाद्र शुक्ल द्वादशीका दिन निङ्गलाशैनी भगवती मन्दिरको भण्डार घरबाट मन्दिरमा भण्डार ल्याउने प्रचलन रहेको र  सोही प्रचलनअनुसार आज भण्डार घरबाट माताको सवारी मन्दिरमा गराइएको निङ्गलाशैनी भगवती मन्दिरका मूलपूजारी देवदत्त भट्टले जानकारी दिए।

भाद्र शुक्ल द्वादशीबाट जात्रा शुरु हुने र तीनरात जाग्राम बस्ने भक्तजनहरूले आजैदेखि मन्दिरमा बस्न शुरु गरेको स्थानीय दीपेन्द्र बोहराले बताए। चतुर्दशीको अवसरमा लाग्ने मेलामा बैतडीको स्वराड र सदरमुकाम क्षेत्रबाट ठकुरीहरूले जात्रा ल्याउने प्रचलन छ। परापूर्वकालमा निङ्गलाशैनी भगवतीले न्याय दिएको हुनाले दुवै क्षेत्रबाट जात्रा ल्याउने चलन चलेको हो। यो जात्राको मुख्य आकर्षण भनेकै स्वराडी–बैतडाको जात रहेको छ।

भदौ शुक्ल त्रयोदशीका दिन स्थानीय भाषामा नानी जात भन्ने चलन छ भने भदौ शुक्ल चतुर्दशीका दिन लाग्ने मेलालाई ठूली जात भनिने निङ्गलाशैनी भगवतीका भण्डारे चक्रबहादुर बोहराले बताए।

यो जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत दर्शनका लागि पुग्छन्। 

निङ्गलाशैनी भगवती मन्दिरमा वर्षको चारपटक जात्रा लाग्छ। महाष्टमी र चैत्राष्टमीमा बलिसहित जात्रा हुने भए पनि अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन लाग्ने मेलामा बलि नदिइने भण्डारे बोहराले बताए। निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास छ। 

यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई व्यवस्थापन गर्न मेला व्यवस्थापन समिति गठन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.