पर्वत : लामो समयदेखि अलपत्र बनेको म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने कालीगण्डकी करिडोरअन्तर्गतको मालढुङ्गा-बेनी सडक मर्मत थालिएको छ। खाल्डाखुल्डी र हिलोले सवारीसाधन सञ्चालन गर्न तथा पैदलयात्रीलाई सास्ती भएपछि सोमबारदेखि मर्मत गर्न थालिएको हो ।
आइतबार जिल्ला प्रशासन कार्यालय पर्वतमा जलजला गाउँपालिकाका जनप्रतिनिधि, यातायात व्यवसायी र स्थानीयसहित प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा, कालीगण्डकी करिडोर मालढुङ्गा-बेनी-जोमसोम–कोरला सडक आयोजना कार्यालय जोमसोमका प्राविधिक र निर्माण व्यवसायीको संयुक्त बैठकले तत्काल सडक मर्मत गर्ने निर्णय गरेको थियो। निर्णयबमोजिम मर्मत गर्न थालिएको आयोजनाका इञ्जिनियर अच्युविलास पन्तले जानकारी दिए।
उनका अनुसार मालढुङ्गाबाट बेनीसम्मको सडकमा रहेका खाल्डाखुल्डी पुर्ने, पहिरो पन्छाउने, हिलो सफा गरेर सवारीसाधन नियमित सञ्चालन गर्न सहज बनाउने काम भइरहेको छ। तत्कालका लागि मर्मत गरिने र वर्षा रोकिएलगत्तै स्तरोन्नति थालिने उनको भनाइ छ।
यो सडकमा म्याग्दी, मुस्ताङ र पर्वतको जलजला गाउँपालिकाका स्थानीयका साथै पर्यटक र तीर्थयात्री आवतजावत गर्छन्। चाडपर्व शुरु भएसँगै मुक्तिनाथ र कागबेनीमा जाने दर्शनार्थीको सुविधालाई मध्यनजर गरी तत्काल मर्मत थालिएको इञ्जिनियर पन्तले बताए। सबैभन्दा बढी जलजला गाउँपालिकाका बासिन्दालाई समस्या परेपछि जनप्रतिनिधि, व्यवसायी र स्थानीयले प्रशासनमा मर्मतको माग गर्दै आएका थिए ।
३० महिनामा काम सक्नेगरी २०७७ चैतमा एपेक्स–खड्का–कृष्ण जेभीले ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। चार वर्षमा ५५ प्रतिशत मात्र काम भएको छ। १३ किमी लामो सडकमध्ये गत असारमा पाँच किलोमिटर कालोपत्र गर्ने तयारी गरिए पनि वर्षा र निर्माण सामग्री अभाव देखाउँदै ठेकेदारले काम रोकेको थियो।
गण्डकी प्रदेशको लाइफलाइन मानिएको राष्ट्रिय गौरवका रूपमा रहेको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गाबाट जलजला-८, ७, ४ र ३ वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने सडक कालोपत्र गर्न सञ्चालित आयोजनाको अहिलेसम्मको भौतिक प्रगति ६२ प्रतिशत रहेको इञ्जिनियर पन्तले जानकारी दिए।
निर्माण कम्पनीको सहायक ठेकेदार ओमकारेश्वर कन्स्ट्रक्सनले ढुङ्गा, गिटी, बालुवा र रोडा अभाव भएको भन्दै विसं २०७९ कात्तिकदेखि निर्माण रोकेको थियो। खाल्डाखुल्डी, धुलो, हिलोका कारण यात्रा गर्न सास्ती भएपछि सर्वसाधारणले जिल्ला प्रशासनमा पुगेर दबाब दिएपछि मर्मत शुरु भएको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।