पर्वत : कास्की प्रहरीले एक महिनाको अवधिमा विभिन्न मुद्दाका ८६ जना फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिएर अदालतमा पेस गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव निरीक्षक वसन्त कुमार शर्माका अनुसार गत भदौ एक गतेदेखि भदौ मसान्तसम्मको अवधिमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका प्रहरी कार्यालयहरू समेतबाट खटिएका प्रहरी टोलीहरूले फरार प्रतिवादीहरूलाई नियन्त्रणमा लिने अभियान सञ्चालन गरिएको थियो।
कास्की अदालतबाट विभिन्न मुद्दामा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका ६३ जना पुरुष र २३ जना महिलाहरूलाई नियन्त्रणमा लिएर फैसला कार्यान्वयनको लागि अदालतमा बुझाइएको छ। उनीहरूबाट आठ वर्ष १० महिना एक दिन कैद सजाय र ४६ लाख बयालिस हजार नौ सय रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ।
नियन्त्रणमा लिइएकामध्ये चेक अनादर मुद्दाका ५२ जना, लागुऔषध मुद्दाका नौ जना, चोरी सम्बन्धी मुद्दाका एक जना, अपहरण तथा शरीर बन्धक मुद्दाका एक जना, हातहतियार तथा खरखजना मुद्दाका एक जना, नागरिकता तथा छाप दस्तखत किर्ते मुद्दाका एक जना, राष्ट्रिय वन क्षेत्रमा रुख कटान गरी फडानी गरेको मुद्दाका दुई जना, बाल यौन दुरुपयोग मुद्दाका दुई जना, बैङ्किङ कसुर मुद्दाका छ जना, अभद्र व्यवहार मुद्दाका तीन जना, लेनदेन मुद्दाका तीन जना, सवारी ज्यान मुद्दाका दुई जना र जालसाजी मुद्दाका तीन जना रहेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।