काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले छिटो नै विधानलाई अन्तिम रूप दिएर चैतभित्रै १२औँ महाधिवेशन गर्ने तयारी गरेको छ। आज (मंगलवार) काठमाडौँमा सञ्चारकर्मीसँग नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले आगामी चैतभित्रै १२औँ महाधिवेशन हुने जानकारी दिए।
उनका अनुसार यसका लागि दशैँअघि नै विधानलाई अन्तिम रूप दिइनेछ। उनले भने, ‘अहिले विधान बन्दै छ, चैतभित्रै कम खर्चमा नेविसंघको १२औँ महाधिवेशन गर्ने गरी हामी अघि बढेका छौँ।’
उनका अनुसार यसअघि नेविसंघमा महाधिवेशन गर्दा करिब १२ करोड खर्च भएको थियो तर यस वर्ष करिब २ करोड रूपैयाँमै अधिवेशन गर्ने भन्ने योजना बनेको छ। ७ वर्षदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन।
उनले अहिले पनि विद्यार्थीहरूको समस्या, मुद्दालाई नेविसंघले लिँदै आएको बताए। उनले भने, ‘हामीले मेरो शिक्षा, मेरो प्रश्न अभियान चलाएका छौँ, विद्यालयमा गएर विद्यार्थीहरूको समस्या, गुनासो लिएका छौँ, अब खेल पनि आयोजना गर्दै छौँ।’
नेविसंघ प्रवक्ता सुरज सेजुवालले पछिल्लो समय तालाबन्दीभन्दा पनि बढी शैक्षिक मुद्दामा आफूहरू केन्द्रित भएर काम गर्दै आएको जानकारी दिए।
‘हामीले कुनै पनि शैक्षिक संस्थामा तालाबन्दी गर्दैनौँ,आचारसंहिता नै बनाएर सबैले प्रतिबद्धता जनाएका छौँ, हामी अब बढी विद्यार्थीहरूको हकहितको लागि लाग्छौँ, जहाँ समस्या उत्पन्न भएको छ, त्यसको समाधान खोज्छौँ, रचनात्मक रूपले लाग्छौँ, अरूजस्तो हामी अरूलाई आक्षेप लगाउने, आफ्नो पार्टीका नेतालाई संरक्षण गर्नेमा लाग्दैनौँ,’ उनले भने।
तपाईंको ईमेल गोप्य राखिनेछ ।